नेभिगेशन
युरोप

स्पेनको कानुनी प्रक्रिया दिल्ली सारिएपछि झन्झट !

बार्सिलोना । स्पेनले आप्रवासीका लागि थालेको असाधारण कानुनीकरण प्रक्रियाले हजारौं नेपालीमा ठूलो आशा जगाएको छ । तर, त्यो आशा अहिले कागजी झन्झट र प्रशासनिक जटिलताबीच अन्योलमा परिणत भएको छ।

सन् २०२५ डिसेम्बर ३१ अघि स्पेन आएका र कम्तीमा पाँच महिनादेखि लगातार बस्दै आएका आप्रवासीलाई वैधानिकता दिने उद्देश्यले स्पेन सरकारले यो प्रक्रिया सुरु गरेको हो । यो प्रक्रिया आगामी जुन ३० सम्म मात्रै खुला रहनेछ ।

प्रक्रियामा मुख्य रूपमा आपराधिक अभिलेख नभएको प्रमाणपत्र (प्रहरी रिपोर्ट) अनिवार्य गरिएको छ । यही कारण स्पेनमा रहेका हजारौं नेपालीले एकै पटक प्रहरी रिपोर्ट बनाउन आवेदन दिएका छन् ।

प्रहरी रिपोर्ट बनिसकेपछि पनि काठमाडौंस्थित स्पेनिश कन्सुलेट कार्यालयबाट अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था थियो । यही कारण कन्सुलेट कार्यालयमा पछिल्ला हप्ताहरूमा अत्यधिक भीड बढेको थियो, जहाँ हजारौं आवेदकहरू आफ्नो कागजात प्रमाणीकरणको पर्खाइमा थिए । तर यही प्रक्रियाबीच अर्को ठूलो परिवर्तन आएको छ ।

काठमाडौंस्थित स्पेनिश कन्सुलेट कार्यालयलाई २४ अप्रिल २०२६ देखि नेपाली कागजातहरूको प्रमाणीकरण गर्ने अधिकार अस्थायी रूपमा रोकिएको छ ।

स्पेनको परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार अब यस्तो प्रमाणिकरण भारतको नयाँ दिल्लीस्थित स्पेनको दूतावासमार्फत मात्र गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।यस निर्णयसँगै प्रक्रिया थप जटिल बनेको छ।

नेपालमै हुने अपेक्षा गरिएको कागजात प्रमाणीकरण अब दिल्ली हुँदै पुनः म्याड्रिडसम्म पुग्नुपर्ने भएकाले समय, खर्च र प्रक्रियागत अनिश्चितता बढेको छ।

‘युरोपेली संघ तथा परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार नेपाली सार्वजनिक कागजातहरूमा रहेको हस्ताक्षरको कानुनीकरण गर्ने अधिकार र जिम्मेवारी तत्काल प्रभावबाट अर्को सूचना नआएसम्मका लागि खारेज गरिएको छ’, काठमाडौंस्थित स्पेनिश कन्सुलेट कार्यालयले २४ अप्रिल २०२६ मा जारी गरेको सूचनामा उल्लेख गरेको छ।

Source : OnlineKhabar

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप युरोप