नेभिगेशन
युरोप
१०० नेपाली डायस्पोरा

स्कटल्याण्डमा नेपाली झण्डा फहराइरहेका काशीराम

चप्पल लगाएर भारत, दुबई हुँदै बेलायत पुगेका पौरखी नेपालीको कथा

भनिन्छ, दुःखको गहिराईमा पुगेको मानिस नै वास्तविक सुख र सन्तोषको उचाई छुने गर्छ । गुल्मीका काशीराम भण्डारी यही भनाईका साक्षी हुन् । 

चप्पल लगाएर रोजगारीका लागि भारत गएका काशीराम भण्डारीले संसारकै शासनको उद्गमस्थल बेलायत टेक्छु भन्ने सोचेका थिएनन् । तर जे सोचिदैन, जीवनमा त्यो पनि हुन्छ । सकारात्मक सोच, सम्बन्ध र आपसी हितको निरन्तर आदानप्रदानले सबथोक सम्भव हुन्छ भनेझैँ भयो पनि ।

सानैमा भारतमा रोजगारीका लागि पुग्दा उनले आफन्तमार्फत होटलमा काम गरे । त्यसअघि उनी ठेलामा चिया बेच्थे । केही समय चिया बेचेपछि उनले होटलमा काम गर्न पाए । बिस्तारै काम सिक्दै होटल भान्छाकोठामा प्रवेश पाए ।

जहाँ उनले मिठो परिकार पकाउन थाले । दुःख नजिकबाट देखेका उनले सडकमा सुतेका कैयौँ रात सम्झेर हात खुट्टामा ठेला उठ्ने गरि मेहनत गरे । पसिना बगाए । त्यही पसिनाले उनलाई भारतमै एक मेहनती सेफ बनायो । जहाँ उनले दर्जनौ होटलका स्टाफको अगाडि शक्तिशाली सेफ भएर लाखौँ नेपाली, भारतीय र पर्यटकलाई खाना खुवाए ।

मिठो खाना पकाउने आफ्नै हातले भारतका नामी सेलिब्रेटीलाई उनले खानासमेत खुवाएका छन् । सञ्जय दत्त, मिथुन, सुनिल सेट्टी, मनिषा कोइराला, माधुरी दिक्षित लगायत दर्जनौ सुपरस्टार सेलिब्रेटीलाई खाना खुवाएर होटलको कारोबार फस्टाउन मुख्य भूमिका खेलेका उनलाई वर्षौपछि दुबई जाने अवसर मिल्यो । 

दुबईको होटलमा राम्रो तलब, आकर्षक सुविधा र दूनियाँकै लक्जरी ब्राण्डको हिस्सा बन्न पाउने भएपछि उनी सुटकेस बोकेर युएई लागे । जहाँ उनले फेरि पसिना बगाए । ३५ जनासम्म स्टाफलाई चलाउन सक्ने गरि होटलको फूड म्यानेजर बने । सेफ त उनी छँदै थिए । उनले सानैमा पढ्न पाएनन् । स्कुल जान सकेनन् ।

तर खाने मुखलाई जुँगाले छेक्दैन भनेझै उनले आफ्नो मेहनत गर्न छाडेनन् । आफ्नो अगाडि आएको अवसर पनि खेर जान दिएनन् । त्यही मेहनत र अवसर समातेर समयसँगसँगै हिड्न सक्ने क्षमता भएका काशीरामलाई एक दिन स्कटल्याण्ड जाने अफर आयो ।

सुरुमा उनले आँट गर्न सकेनन् । साथीभाईको सहयोगले पच्चीस सय दिराम तिरेर उनले स्कटल्याण्डको लागि प्रक्रिया सुरु गरे । ठूलो पैँसा, साथीभाईको ऋणले उनी आत्तिएका थिए । तर धैर्य गरे नसोचेको सफलता मिल्छ भनेझैँ उनले ढिलै भए पनि स्कटल्याण्ड जाने अवसर पाए ।

पहिलोपटक संसारकै शासन र सभ्यता संरक्षणको मुहान बेलायत टेक्दा उनका खुट्टाले चन्द्रमाको सतह टेकेझैँ लाग्यो । बिस्तारै बानी पर्यो । जुन होटलका लागि उनी स्कटल्याण्ड पुगे, त्यही काम पाए । भारत, युएईमा आफ्नै मेहनतले फस्टाएका उनले जीवनमा फेरि एकपटक आफ्ना हात पाखुरा सफलताका लागि बजाइदिए । 

82.-Kashiram-Bhandari-profile-1777767262.jpg
 

अनि सुरु भयो, काशीरामको आफ्नै कथा लेख्ने नयाँ यात्राको सुरुवात । नेपालको हिमाली क्षेत्रजस्तै सुन्दर छ, स्कटल्याण्ड । उनले त्यही सुन्दर ठाउँमा अवस्थित होटलमा काम थाले । जहाँ हिउँ पथ्र्यो । भेडा चर्थे । हरिया बुकीपाटनमा उनी जीवनको सुन्दर समय व्यतित गरिरहेका थिए । कामअनुसार मेहनत गर्दै गए । ऋण तिर्दै गए । समय यस्तो आयो, उनले काम गरिरहेको होटल साहुले बेच्ने भए ।

उनले त्यसबेला फेरि आफ्नै मुटु छामे, जहाँ जोखिम थियो । अनि सफलता पनि । उनले त्यो अवसर फेरि पनि खेर जान दिएनन् । साथीभाईसँग मिलेर आफ्नै साहुबाट केही सस्तोमा होटल आफ्नो नाममा ल्याए । अनि फेरि सुरु गरे, जीवनको एउटा उचाईतिरको साहसिक यात्रा ।

त्यही यात्राले उनलाई आज स्कटल्याण्डमा आधा दर्जन होटलको मालिक बनाएको छ । हालै हेर्ने कथा टिम स्कटल्याण्ड पुग्दा काशीरामले पर्थमा रहेको आफ्नै होटल ग्राण्डपिएममा स्वागत गरे । अनि सुनाए, आफ्नो यात्रा र उचाईको एउटा बेग्लै सफलताको कथा । जसले नेपालसहित विश्वभर रहेका लाखौँ नेपालीको मन जित्यो ।

गुल्मीको विकट गाउँमै रहेकी आमालाई उनले आफ्नो सफलताको सबैभन्दा ठूलो प्रेरणा मानेका छन् । आमा स्कटल्याण्ड बस्न नमानेपछि उनले घरमै आमाको हेरचाहमा सीसीटिभी राखेका छन् । त्यही सीसीटीभीमार्फत उनी आमाको दैनिकी नियाल्छन् र आशिरवाद लिइरहन्छन् ।

गैरआवासीय नेपाली संघ, स्कटल्याण्ड–बेलायतका अध्यक्षसमेत बनिसकेका काशीरामले पर्थमा रहेको होटलअगाडि ठूलो नेपाली झण्डा गाडेका छन् । अनि होटलभरी नेपालको सगरमाथा, पोखरा, मुस्ताङ, राराताल, फेवाताल लगायतको फोटो राखेर प्रसारप्रसार पनि गरिरहेका छन् ।

कसैले सोध्यो भने उनी आफ्नै देश नेपालको नाम लिन्छन् । तर कति अंग्रेजहरुले थाहा छैन भन्दा उनी संसारकै शिर अर्थात सर्वोच्च शिखर सगरमाथाको देशबाट हुँ भन्दा सजिलै चिन्छन् । त्यही प्रेरणाले उनले स्कटल्ल्याण्डमा नेपालको झण्डा फहराइरहेका हुन् । 

संसारको सबै कुनामा रहेका जोकोही नेपाली पनि व्यवसाय र सफलताको बाटो एकपटक जरुर हिड्छन, तर काशीराम जसरी नेपाली झण्डा स्कटल्याण्डमा बलियोगरि गाडेर फहराइरहेका छन् । त्यो बिसौँ वर्षदेखिको त्याग, तपस्या र नेपाल चिनाउने योगदान हो । 

स्रोत : हेर्ने कथा 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप युरोप