नेभिगेशन
युरोप

नेपालीको सपनाको गन्तव्यबाट धुमिल बन्यो युरोप

लन्डन । केही वर्षअघिसम्म युरोपको टिकट काट्नु भनेको उज्ज्वल भविष्यको ढोका खोल्नु बराबर थियो। तर, त्यो सुनौलो ढोका अहिले लगातार बन्द हुँदै गएको छ। पढाइ सकिएपछि सिधा करियर बनाउने सपना बोकेर विदेशिएका नेपाली विद्यार्थीहरू अहिले 'आकाशको फल' जस्तै अवसरहरूको पीडादायी पर्खाइमा छन्।

डेनमार्कले त झन् ढोकामै ताला लगाइदिएको छ। सरकारले सन् २०२५ देखि अमान्य शैक्षिक कार्यक्रममा भर्ना हुने विद्यार्थीलाई पढाइपछिको काम खोज्ने अनुमति नै दिन छाडेको छ । यति मात्र होइन, डेनमार्कका अध्यागमन मन्त्रीले नेपाली विद्यार्थीको मुख्य उद्देश्य पढाइ नभई श्रम बजारमा छिर्नु रहेको भन्दै कडा आरोप नै लगाएका छन् ।

सोही कारण देखाउँदै हालै मात्र उसले नेपाली र बंगलादेशी विद्यार्थीका लागि प्रवेश परीक्षा कडा बनाउने, परिवार ल्याउन रोक लगाउने र पढाइपछिको बसोबास अवधि ३ वर्षबाट झारेर १ वर्षमा सीमित गर्ने नीति ल्याएको छ ।

डेनमार्कको यो कदम अनौठो होइन, यो त एउटा युरोपेली ट्रेन्ड बनेको छ। छिमेकी पोर्चुगलमा त झन् कानुनी भुइँचालो नै आएको छ। सयौं नेपालीको अस्थायी बसोबास अनुमति (TRC) प्रक्रिया रोकिएको छ। कारण? प्रहरी रिपोर्टमा नक्कली हस्ताक्षर र छाप प्रयोग भएको भेटियो। पोर्चुगल सरकारले सीधै डिपोर्टेसनको चेतावनी दिएको छ । पीडितका अनुसार कन्सुलर सेवा ठप्प हुँदा मिडलम्यानलाई विश्वास गर्दा १५० देखि २०० युरो खर्चेर नक्कली छाप लगाइयो, अहिले त्यसको सजाय भोग्नु परिरहेको छ ।

यता बेलायत पनि तनावमुक्त छैन। बेलायतस्थित नेपाली राजदूतावासका अनुसार आर्थिक भार, जागिरको चरम अभाव र मानसिक दबाबका कारण विद्यार्थीहरू थिलथिलो भएका छन्। शुल्क तिर्न नसक्दा र असाइनमेन्टमा चुक्दा सिधा भिसा रद्दको जोखिम छ । बेलायतमा पनि पढाइ छोडेर शरण माग्ने प्रवृत्ति बढेको तर त्यो निकै जोखिमपूर्ण रहेको त्यहाँका कानुन व्यवसायी बताउँछन् । Source : Newsdoko

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप युरोप