परदेशमा भेटिएको 'नेपाली कुना'
परदेशमा बस्दा सबैभन्दा बढी सम्झना आउने कुरा के होला ? घर, परिवार, गाउँ-ठाउँ, चाडपर्व वा आफ्नै भाषाको आवाज ? रोमानियाको राजधानी बुखारेस्टमा रहेका नेपालीका लागि यसको उत्तरमा एउटा सानो पुस्तकालयको कुनो पनि थपिएको छ- जहाँ उनीहरूले आफ्नै भाषाका किताब भेट्न सक्छन्, आफ्ना कथा पढ्न सक्छन् र केही क्षणका लागि भए पनि आफूलाई घरनजिक महसुस गर्न सक्छन्।
बुखारेस्ट महानगरीय पुस्तकालयको दिमित्री कान्तेमिर शाखामा रहेको ‘नेपाली कुना’ अहिले केवल एउटा दराज वा केही नेपाली किताब राखिएको ठाउँ मात्र रहेन। यो रोमानियामा नेपाली भाषा, साहित्य र संस्कृतिको सार्वजनिक उपस्थितिको एउटा सानो प्रतीक बनेको छ।
अप्रिल १४, २०२६ मा बुखारेस्ट महानगरीय पुस्तकालयले आफ्नो दिमित्री कान्तेमिर शाखामा बंगाली साहित्यको कुना उद्घाटन गर्यो। त्यससम्बन्धी आधिकारिक सूचनामा पुस्तकालयले आफ्ना विभिन्न शाखामा रहेका बहुसांस्कृतिक कुनाहरूको सूची दिँदा दिमित्री कान्तेमिर शाखामा ‘नेपाली कुना’ रहेको उल्लेख गरेको छ। अर्थात्, २०२५ मा उद्घाटन भएको नेपाली कुना पुस्तकालयको बहुसांस्कृतिक संरचनाभित्र कायम छ।
नेपाली कुना बनेको ठाउँमा अहिले बंगाली कुना पनि थपिएको छ। त्यहाँ युक्रेनी, प्यालेस्टिनी र नेपाली समुदायका लागि छुट्टाछुट्टै सांस्कृतिक स्थान विकास भइसकेका छन्। पुस्तकालयले यस्ता स्थानलाई विभिन्न संस्कृतिबीच भेटघाट, संवाद र आदानप्रदानको माध्यमका रूपमा अघि बढाइरहेको छ।
२०२५ फेब्रुअरी १ मा दिमित्री कान्तेमिर शाखामा रोमानियाकै सार्वजनिक पुस्तकालयमा पहिलोपटक नेपाली साहित्यका लागि छुट्टै स्थान खोलिएको थियो। यसको पहल एडुकेब रोमानियाले गरेको थियो। नेपाल एडुकेब, अन्तर्राष्ट्रिय आप्रवासन संगठन, बुखारेस्ट महानगरीय पुस्तकालय, काठमाडौं जेसीआई, कोल्ड फिट फाउन्डेसन नेपाल र बुखारेस्टको नेपाली समुदाय पनि यसमा जोडिएका थिए। उद्घाटनका दिन करिब २० नेपाली त्यहाँ पुगेका थिए।
पुस्तकालयका पहलकर्ता मिहाइ लुपुको दृष्टिमा पुस्तकालय किताब लिने र फर्काउने ठाउँ मात्र होइन। आप्रवासीले आफूलाई स्वागत गरिएको महसुस गर्ने, नयाँ समाजसँग घुलमिल हुने र आवश्यक जानकारी पाउने सार्वजनिक थलो पनि हो। नेपाली कुनालाई पनि त्यही अवधारणासँग जोडिएको थियो।
नेपाली कुनाका किताब नेपाली समुदाय आफैंले थप्दै आएको छ। सेप्टेम्बर २०२५ मा एडुपेडुले गरेको स्थलगत रिपोर्टमा दिमित्री कान्तेमिर शाखाकी संयोजक एड्रियाना पानाले नेपाली समुदायले नेपाल जाँदा किताब ल्याएर पुस्तकालयलाई दिने गरेको बताएकी थिइन्। उनका अनुसार यो ठाउँ नेपाली समुदायले नै रोजेको थियो।
सुरुवातमा यहाँ कविता, उपन्यास, निबन्ध तथा बालबालिकाका पुस्तक राखिएका थिए। पुस्तकालयले समयक्रममा संग्रह विस्तार गर्ने योजना बनाएको थियो।
नेपाली कुना केवल साहित्य पढ्ने ठाउँमा सीमित नरहोस् भन्ने सोच पनि थियो। सेप्टेम्बर २०२५ देखि नेपाली आप्रवासी कामदारका लागि रोमानियाली भाषा सिकाउने कार्यक्रम सुरु गर्ने तयारी गरिएको थियो। पुस्तकालयकी संयोजकले स्वयंसेवी शिक्षकमार्फत नेपालीलाई रोमानियाली भाषा सिकाउने योजना रहेको बताएकी थिइन्।
२०२६ मा प्रकाशित बुखारेस्ट महानगरीय पुस्तकालयको २०२५ गतिविधि प्रतिवेदनले पनि नेपाली कुनालाई औपचारिक परियोजनाका रूपमा दर्ज गरेको छ। प्रतिवेदनमा १ फेब्रुअरीमा दिमित्री कान्तेमिर शाखामा रोमानियामै पहिलो नेपाली साहित्य कुना सुरु गरिएको र यसले पुस्तकालयको सांस्कृतिक सेवा विस्तार गरेको उल्लेख छ।
बेल्जियममा भाँडा माझ्ने याम, अहिले ६ सय रेस्टुरेन्टका साझेदार
नेपाल–युरोप व्यापार सहकार्यका लागि लक्जम्बर्गमा सेमिनार
रोमानियाको श्रम बजारमा नेपालीको वर्चस्व
नर्वेको सरकारी संस्थामा नेपाली चेली