नेभिगेशन
युरोप
युरोप पुग्ने नयाँ बाटो

रोमानियाको श्रम बजारमा नेपालीको वर्चस्व

रोजगारीको खोजीमा नेपालबाट हजारौँ युवा युरोपका विभिन्न देश पुगिरहेका छन्। तीमध्ये पछिल्ला वर्षमा रोमानिया पनि नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य बनेको छ। युरोपेली संघको सदस्य राष्ट्र रोमानियामा अहिले गैर–ईयू मुलुकबाट पुगेका आप्रवासीमध्ये सबैभन्दा ठूलो हिस्सा नेपालीको छ।

रोमानियामा रोजगारीका लागि बसोबास अनुमति लिएका गैर-ईयू नागरिकको संख्या अगस्टसम्म १ लाख ३६ हजारभन्दा बढी पुगेको छ। तीमध्ये सबैभन्दा धेरै नेपाली छन्। त्यसपछि श्रीलंकाली, टर्किस, मोल्डोभन र भारतीय नागरिक रहेका छन्।

रोमानियाको आर्थिक तथा सामाजिक परिषद्ले गरेको अध्ययनअनुसार रोजगारीका लागि बसोबास अनुमति पाएका गैर–ईयू नागरिकमध्ये ४५ हजार ८०२ जना नेपाली छन्। श्रीलंकाका २२ हजार ५५९, टर्कीका १८ हजार १५०, मोल्डोभाका १५ हजार ७१४ र भारतका १२ हजार ९९५ नागरिकले रोजगारीका लागि बसोबास अनुमति लिएका छन्।

रोमानिया इनसाइडरको रिपोर्टअनुसार त्यस्तै बंगलादेशका ८ हजार ४४९, चीनका ८ हजार २७२, सिरियाका ७ हजार २२२, इजिप्टका ५ हजार ४७१ र पाकिस्तानका ४ हजार ५२२ नागरिक पनि रोमानियामा रोजगारीका लागि पुगेका छन्।

रोमानियाको श्रम बजारमा नेपाली उपस्थिति केवल आप्रवासीको एउटा सानो समूहका रूपमा सीमित छैन। निर्माणदेखि उत्पादन, व्यापार, होटल तथा सेवा क्षेत्रसम्म नेपालीसहित गैर-ईयू मुलुकका श्रमिकको उपस्थितिले रोमानियाको अर्थतन्त्रमा नै आफ्नो स्थान बनाइसकेको अध्ययनले देखाउँछ।

कोरोना महामारीपछि रोमानियाका कम्पनीहरूले श्रमिक अभाव पूर्ति गर्न दक्षिण-पूर्वी एसियातर्फ ध्यान दिन थाले। स्थानीय श्रम बजारमा आवश्यक जनशक्ति नपाएपछि कम्पनीहरूले नेपाल, श्रीलंका, भारत, बंगलादेशलगायत देशबाट कामदार ल्याउन थाले।

पश्चिमी युरोपका मुलुकको तुलनामा रोमानियाको भिसा तथा कार्य अनुमति प्राप्त गर्ने प्रक्रिया तुलनात्मक रूपमा सहज भएकाले पनि यो देश गैर-ईयू श्रमिकका लागि सुरुआती वा मध्यम अवधिको युरोप प्रवेश गन्तव्य बन्न पुगेको अध्ययनले देखाएको छ।

नेपालमा पर्याप्त रोजगारी नपाएका, विदेश गएर परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेका हजारौँ युवाका लागि रोमानिया युरोप पुग्ने अर्को बाटो बनेको छ। गाउँ-सहरका घरमा रहेका परिवारले एजेन्टमार्फत कागजात तयार पार्ने, ऋण खोज्ने र ठूलो रकम खर्च गरेर आफ्ना छोरा–छोरीलाई रोमानिया पठाउने क्रम बढेको छ।

तर युरोप पुगेपछि सबैको कथा समान हुँदैन।

कसैका लागि रोमानिया राम्रो कमाइको अवसर बन्न सक्छ भने कसैका लागि महँगो ऋण, सीमित रोजगारी विकल्प, भाषाको समस्या र रोजगारदातामाथिको निर्भरताले कठिन जीवनको सुरुआत गराउन सक्छ।

रोमानियामा गैर-ईयू नागरिकलाई दिइएका बसोबास अनुमतिको उद्देश्य हेर्दा रोजगारी सबैभन्दा प्रमुख कारण देखिन्छ।

अध्ययनअनुसार कुल अनुमतिमध्ये ६४ प्रतिशत रोजगारीका लागि जारी भएका छन्। त्यसपछि परिवार पुनर्मिलनका लागि १६ प्रतिशत, अध्ययनका लागि ९ प्रतिशत, स्थायी बसोबासका लागि ९ प्रतिशत, अन्तर्राष्ट्रिय संरक्षणका लागि २ प्रतिशत र अन्य उद्देश्यका लागि १ प्रतिशत अनुमति जारी भएका छन्।

अझ रोचक पक्ष उमेर संरचनामा देखिन्छ। करिब ९३ प्रतिशत आप्रवासी १८ देखि ६४ वर्ष उमेर समूहका छन्।

रोमानियामा पुगेका आप्रवासीहरू देशभर समान रूपमा फैलिएका छैनन्। अध्ययनअनुसार गैर-ईयू आप्रवासीमध्ये करिब दुई तिहाइ बुखारेस्ट, इल्फोभ, कोन्स्टान्टा, तिमिस र क्लुज क्षेत्रमा बसोबास गर्छन्।

राजधानी बुखारेस्ट तथा औद्योगिक र आर्थिक गतिविधि बढी भएका क्षेत्रमा रोजगारीका अवसर केन्द्रित भएकाले आप्रवासीको बसोबास पनि त्यतैतिर बढेको देखिन्छ।

यसले आप्रवासनको अर्को मानवीय पक्ष पनि देखाउँछ-देश छाडेर हजारौँ किलोमिटर टाढा पुगेका श्रमिकले आफ्नो नयाँ जीवन पनि अवसर जहाँ छ, त्यहीँ निर्माण गर्नुपरेको छ।

रोमानियाको आप्रवासी जनसंख्या लैंगिक रूपमा निकै असन्तुलित छ।

करिब ७५ प्रतिशत पुरुष र २५ प्रतिशत महिला छन्। अध्ययनले यसलाई युरोपकै सबैभन्दा पुरुषप्रधान आप्रवासी जनसंख्यामध्ये एकका रूपमा व्याख्या गरेको छ।

यसको एउटा प्रमुख कारण निर्माण, उत्पादन र कृषि जस्ता क्षेत्रमा पुरुष श्रमिकको माग बढी हुनु हो।

तर महिलाको उपस्थिति पनि विस्तारै बढिरहेको छ। आतिथ्य, स्वास्थ्य सेवा तथा घरेलु काममा महिला आप्रवासीको माग उल्लेख्य रहेको अध्ययनले जनाएको छ।

यससँगै दक्ष जनशक्तिका रूपमा महिला आप्रवासीको सहभागिता पनि बढिरहेको देखिन्छ।

रोमानियाको गैर-ईयू श्रमिक बजारमा सबैभन्दा ठूलो परिवर्तन निर्माण क्षेत्रमा देखिएको छ।

सन् २०१९ मा निर्माण क्षेत्रमा गैर-ईयू श्रमिकको संख्या ९ हजार ८५३ थियो। सन् २०२५ मा यो संख्या बढेर ४१ हजार ५१८ पुगेको छ।

अर्थात् करिब ६ वर्षमै निर्माण क्षेत्रमा गैर-ईयू श्रमिकको संख्या ३२१ प्रतिशतले बढेको छ।

उत्पादन उद्योगमा पनि गैर-ईयू श्रमिकको संख्या १० हजार ८१५ बाट बढेर ३८ हजार ७०० पुगेको छ। यो २५८ प्रतिशत वृद्धि हो।

व्यापार क्षेत्रमा १० हजार १५९ बाट बढेर २५ हजार ९६५ पुगेको छ, जुन १५५ प्रतिशत वृद्धि हो।

आतिथ्य क्षेत्रमा वृद्धि झनै उल्लेखनीय छ। सन् २०१९ मा ६ हजार ६६ गैर–ईयू श्रमिक रहेकोमा सन् २०२५ मा संख्या २८ हजार ५५९ पुगेको छ। अर्थात् ३७१ प्रतिशत वृद्धि।

तर सबैभन्दा तीव्र वृद्धि प्रशासनिक तथा सहयोगी सेवामा भएको छ। यस क्षेत्रमा गैर–ईयू श्रमिकको संख्या २ हजार २५५ बाट बढेर १८ हजार ६६९ पुगेको छ। यो ७२८ प्रतिशत वृद्धि हो।

अध्ययनको निष्कर्षमा गैर-ईयू श्रमिक अहिले रोमानियाको श्रम बजारका लागि अस्थायी विकल्प मात्र नभई संरचनागत हिस्सा बनिसकेको उल्लेख छ। स्थानीय श्रमिकको उच्च गतिशीलताका कारण सिर्जना भएको जनशक्ति अभावलाई उनीहरूले पूर्ति गरिरहेका छन्।

रोमानियामा कार्य अनुमति सामान्यतया निश्चित रोजगारदाताका नाममा जारी हुने भएकाले श्रमिकले रोजगारदाता परिवर्तन गर्न सहजै सक्दैनन्। यसले खराब कामको अवस्था, न्यून सुविधा वा दुर्व्यवहारको सामना गर्नुपर्दा श्रमिकको विकल्प सीमित बनाउँछ।

रोजगारदाता परिवर्तन गर्न नसक्ने अवस्थाले श्रमिकलाई आफूले पाएको काम र रोजगारदाताप्रति निर्भर बनाइदिन सक्छ।

रोमानियामा पुगेका धेरै गैर-ईयू श्रमिकका लागि भाषा अर्को ठूलो चुनौती हो।

अध्ययनले नेपाल, श्रीलंका र टर्कीबाट आएका श्रमिकहरू मुख्यतः कम दक्षताका काममा संलग्न रहेको उल्लेख गरेको छ। भाषा र सूचनाको अभावका कारण उनीहरूको रोजगारी परिवर्तन गर्ने क्षमता सीमित हुने र कानुनी संरक्षण पनि कमजोर हुने जोखिम छ।

श्रमिकले आफूले पाउने पारिश्रमिक, काम गर्ने समय, बिदा, बीमा, सम्झौता वा रोजगारदाताविरुद्ध उजुरी गर्ने कानुनी बाटोबारे पर्याप्त जानकारी नपाए समस्या झनै जटिल बन्न सक्छ।

त्यसैले रोमानियामा नेपाली श्रमिकको संख्या बढ्नु मात्र सफल आप्रवासनको प्रमाण होइन। उनीहरूले कस्तो काम गरिरहेका छन्, कति पारिश्रमिक पाइरहेका छन्, कस्तो आवासमा बसिरहेका छन् र आफ्ना अधिकारबारे कति जानकार छन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

रोमानियामा पुगेका नेपालीको ठूलो हिस्सा युवा पुरुष हुनु संयोग मात्र होइन।

नेपालका गाउँघरमा बेरोजगारी, कम आम्दानी र परिवारको आर्थिक जिम्मेवारीले युवालाई विदेशतर्फ धकेलिरहेको छ। घरमा वृद्ध आमाबुबा, श्रीमती, छोराछोरी वा भाइबहिनी छाडेर युरोप पुगेका धेरै युवाको उद्देश्य एउटै हुन्छ—केही वर्ष दुःख गर्ने, ऋण तिर्ने, घर बनाउने र परिवारको भविष्य सुरक्षित गर्ने।

रोमानियाको तथ्यांकमा देखिएको ७५ प्रतिशत पुरुषको संख्या यही श्रम आप्रवासनको मानवीय तस्वीरसँग जोडिन्छ।

तर विदेशमा कमाउन गएको व्यक्ति स्वयं कति सुरक्षित छ भन्ने प्रश्न भने अझै खुला छ।

एउटा हातमा युरोप जाने सपना र अर्को हातमा ऋणको बोझ बोकेर रोमानिया पुगेका श्रमिकका लागि कानुनी सुरक्षा, रोजगारदाताबाट स्वतन्त्रता र सही सूचना जीवनका महत्वपूर्ण आधार बन्न पुग्छन्।

आर्थिक चुनौतीसँगै गैर-ईयू आप्रवासीले सामाजिक चुनौती पनि सामना गरिरहेका छन्।

अध्ययनले पछिल्ला महिनाहरूमा आप्रवासी र शरणार्थीलाई लक्षित घृणात्मक अभिव्यक्ति बढ्दै गएको उल्लेख गरेको छ।

एकातिर रोमानियाको श्रम बजारले विदेशी श्रमिकको आवश्यकता महसुस गरिरहेको छ। निर्माण, उत्पादन, आतिथ्य, प्रशासनिक तथा सहयोगी सेवाजस्ता क्षेत्रमा उनीहरूको संख्या तीव्र रूपमा बढिरहेको छ।

अर्कोतर्फ त्यही श्रमशक्तिप्रति सामाजिक असन्तुष्टि, पूर्वाग्रह र घृणात्मक अभिव्यक्ति बढ्नु आप्रवासनको विरोधाभासपूर्ण तस्वीर हो।

अर्थतन्त्रलाई आवश्यक श्रमिकका रूपमा स्वागत गरिएका मानिस सामाजिक जीवनमा भने ‘बाहिरी’ ठहरिन सक्छन्।

रोमानियाको पछिल्लो तथ्यांकले एउटा स्पष्ट तस्वीर दिन्छ- नेपाली श्रमिक अब रोमानियाको श्रम बजारमा सबैभन्दा ठूलो गैर–ईयू आप्रवासी समूह बनिसकेका छन्।

४५ हजार ८०२ नेपालीले रोजगारीका लागि बसोबास अनुमति पाउनु केवल एउटा संख्या होइन। यसको पछाडि हजारौँ परिवारका सपना, ऋण, एजेन्टसँगको कारोबार, विमानस्थलबाट सुरु भएको नयाँ जीवन, अपरिचित भाषामा काम गर्ने संघर्ष र नेपाल फर्केर केही बनाउने आकांक्षा जोडिएका छन्।

रोमानियाका लागि उनीहरू श्रम बजारको अभाव पूर्ति गर्ने जनशक्ति हुन्। नेपालका लागि भने उनीहरू रेमिट्यान्स पठाउने युवा पुस्ता हुन्। तर उनीहरूको सुरक्षाका दृष्टिले प्रश्न अझै बाँकी छ- विदेश पठाउने प्रक्रिया कति पारदर्शी छ? श्रमिकले कति ऋण लिएर जान्छन्? रोजगार सम्झौता कस्तो हुन्छ? रोजगारदाताबाट समस्या आए कहाँ जाने? र रोमानियामा बढिरहेको आप्रवासीविरोधी घृणाबाट उनीहरू कसरी जोगिने?

रोमानियामा नेपालीको संख्या बढ्दै जानु आफैंमा उपलब्धि होइन। त्यहाँ पुगेका नेपालीले सम्मानजनक काम, उचित पारिश्रमिक, सुरक्षित वातावरण र आफ्नो अधिकार प्रयोग गर्न सक्ने अवस्था पाए भने मात्र यो आप्रवासनलाई सफल भन्न सकिन्छ।

अहिलेका लागि रोमानियाको कथा दुई पाटाको छ- एकातिर श्रमिक अभावले खोलेको रोजगारीको ढोका, अर्कोतिर त्यही ढोकाबाट छिरेका विदेशी श्रमिकका लागि बढ्दै गएको निर्भरता, असुरक्षा र सामाजिक चुनौती। र ती दुई पाटाको बीचमा उभिएको छ- नेपालबाट हजारौँ किलोमिटर टाढा पुगेको एउटा नेपाली श्रमिक, जसको काँधमा आफ्नो मात्र होइन, नेपालमा छाडेर आएको परिवारको भविष्य पनि छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप युरोप