नेभिगेशन
युरोप

नेपाल–युरोप व्यापार सहकार्यका लागि लक्जम्बर्गमा सेमिनार

नेपाल र युरोपबीच व्यापार, लगानी, प्रविधि तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना हुने भएको छ।

नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) को आयोजनामा आगामी नोभेम्बर २९ र ३० मा लक्जेम्बर्गस्थित डबलट्री बाई हिल्टनमा 'नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६' आयोजना हुन लागेको हो।

'युनाइटिङ गभर्मेन्ट, बिजनेस एन्ड एकेडेमिया फर नेपाल–युरोप पार्टनरसिप' भन्ने मूल भावनासहित आयोजना हुने सेमिनार बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग तथा युरोपेली संघका लागि नेपाली राजदूतावास, ब्रसेल्सको संरक्षणमा हुनेछ।

नेपाल र युरोपबीच रहेका आर्थिक तथा व्यावसायिक सम्भावनालाई व्यावहारिक साझेदारीमा रूपान्तरण गर्ने उद्देश्यले सेमिनार आयोजना गर्न लागिएको कार्यक्रम संयोजक हरि खत्रीले जानकारी दिए। 

'सरकार, निजी क्षेत्र र प्राज्ञिक क्षेत्रलाई एउटै मञ्चमा ल्याएर नीतिगत संवादलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र संस्थागत साझेदारीसँग जोड्ने तयारी गरिएको छ,' उनले भने। 

उनका अनुसार सेमिनारमा व्यापार तथा लगानी, सूचना प्रविधि तथा डिजिटल नवप्रवर्तन, युवा उद्यमशीलता, पर्यटन र व्यावसायिक सहकार्य गरी पाँच विषयमा केन्द्रित छलफल हुनेछ।

त्यस्तै,  व्यापार तथा लगानीतर्फ नेपाली वस्तु तथा सेवाको युरोपेली बजारमा पहुँच, युरोपेली संघका मापदण्ड तथा प्रमाणीकरण, आयात–निर्यातका व्यावहारिक चुनौती, लगानीयोग्य क्षेत्र तथा परियोजना, संयुक्त उद्यम र डायस्पोरा लगानीका सम्भावनाबारे छलफल हुनेछ।

नेपालको सूचना प्रविधि तथा डिजिटल सेवा क्षेत्रलाई युरोपेली बजारसँग जोड्ने, प्रविधि हस्तान्तरण, आउटसोर्सिङ तथा नवप्रवर्तनका अवसर पहिचान गर्ने विषयलाई पनि प्राथमिकता दिइने उनले बताए। 

पर्यटनतर्फ नेपाललाई हिमाली तथा साहसिक पर्यटनमा मात्र सीमित नराखी स्वास्थ्य तथा आरोग्य, आध्यात्मिक, सांस्कृतिक, पर्यावरणीय तथा अनुभवमा आधारित पर्यटनका सम्भावनालाई युरोपेली बजारमा प्रवर्द्धन गर्ने विषयमा छलफल हुनेछ।

युवा उद्यमशीलतातर्फ नेपाली युवा उद्यमी तथा पेशाकर्मीलाई नवप्रवर्तन, स्टार्टअप, मार्गदर्शन, लगानी तथा सीमापार उद्यमशीलतामार्फत नेपालसँग जोड्ने विषयलाई समेटिनेछ।

सेमिनारको मुख्य विशेषताका रूपमा व्यवसायीबीच प्रत्यक्ष सम्पर्क गराउने 'बीटुबी' तथा लक्षित व्यावसायिक मिलानलाई प्राथमिकता दिइने संघका सचिव मदन दवाडीले बताए। 

उनका अनुसार नेपाली निर्यातकर्ता र युरोपेली आयातकर्ता, लगानीकर्ता र सम्भावित परियोजना, नेपाली सूचना प्रविधि कम्पनी र युरोपेली व्यवसाय तथा पर्यटन व्यवसायीबीच प्रत्यक्ष भेटघाट र सहकार्यका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

'सेमिनारमा युरोपका विभिन्न मुलुकमा रहेका नेपाली व्यवसायी, उद्यमी, लगानीकर्ता, आयातकर्ता–निर्यातकर्ता, सूचना प्रविधि तथा पर्यटन क्षेत्रका प्रतिनिधि, पेशाकर्मी र युवा उद्यमीको सहभागिता गराउने तयारी छ,' उनले भने। 

सेमिनारमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा निकायका उच्च अधिकारीलाई पनि नेपाली राजदूतावास, ब्रसेल्समार्फत औपचारिक निमन्त्रणा पठाइएको उनले जानकारी दिए। 

कार्यक्रमबाट नयाँ व्यावसायिक सम्बन्ध, आयातकर्ता–निर्यातकर्ता सम्पर्क, लगानी तथा परियोजनासम्बन्धी संवाद, संयुक्त उद्यम, प्रविधि साझेदारी र पर्यटन सहकार्यका आधार तयार हुने अपेक्षा गरिएको छ।

सेमिनारबाट प्राप्त सुझाव, निष्कर्ष र प्राथमिकतालाई समेटेर 'नेपाल–युरोप सेमिनार रिजोलुसन एन्ड पोलिसी रेफरेन्स डकुमेन्ट २०२६' तयार गरिनेछ। 

उक्त दस्तावेजमा व्यापार तथा लगानीका व्यावहारिक चुनौती, युरोपेली बजार पहुँच, प्रविधि सहकार्य, पर्यटन, युवा तथा डायस्पोरा सहभागिता र भावी सहकार्यका प्राथमिकता समेटिनेछन्।

सेमिनारपछि पहिचान भएका व्यावसायिक सम्पर्क, लगानीका सम्भावना तथा संस्थागत साझेदारीलाई निरन्तरता दिन सम्बन्धित पक्षसँग समन्वय, अनुगमन तथा कार्यान्वयन प्रक्रिया अघि बढाइने संघका अध्यक्ष याम निरौलाले जानकारी दिए। 

'नेबा युरोपले सेमिनारलाई दुईदिने छलफलमा मात्र सीमित नराखी नेपाल र युरोपबीच दीर्घकालीन तथा परिणाममुखी आर्थिक र व्यावसायिक साझेदारी निर्माण गर्ने आधारका रूपमा अघि बढाइने छ,' उनले भने। 

उनका अनुसार सेमिनारमा सहभागी हुन युरोपका विभिन्न मुलुकमा रहेका नेपाली व्यवसायी, उद्यमी, लगानीकर्ता, आयातकर्ता–निर्यातकर्ता, सूचना प्रविधि तथा पर्यटन क्षेत्रका प्रतिनिधि, पेशाकर्मी, युवा उद्यमी तथा सम्बन्धित संघ–संस्थाका प्रतिनिधिका लागि नावा युरोपको वेबसाइट मार्फत डेलिगेट्स दर्ता खुला गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप युरोप