शोकको सीमा नाघेर उत्सव मनाउने सहर
मृत्युको सम्झना गर्दा प्रायः मनमा आउने पहिलो अनुभूति मौनता हो। प्रियजनको मृत्यु भएपछि उनीहरूको आवाज सधैँका लागि हराउँछ। उनीहरू अब बोल्दैनन्, कराउँदैनन्, रुँदैनन् र हाँस्दैनन्। अन्त्येष्टिपछि अन्तिम पाहुना पनि बिदा हुन्छन्। घरमा शुभेच्छुकले ल्याइदिएका खानेकुरा र मनभरि सम्झना बाँकी रहन्छन्। केही सातापछि दिनभरिका कुरा सुनाउन फोन गर्न वा सन्देश पठाउन खोज्दा उनीहरू अब यो संसारमा छैनन् भन्ने सम्झनाले हात रोकिन्छ।
वर्षौँपछि पनि कसैले आफ्ना प्रियजन गुमाएको कुरा सुनाउँदा के भन्ने भन्ने अन्योलमा अर्को व्यक्ति पर्छ। मृत्युको शोकसँग जोडिएका यस्ता मौन क्षणहरू संसारका धेरै समाजमा समान छन्।
तर नेपालको भक्तपुरमा मृत्युको शोकलाई व्यक्त गर्ने तरिका भने यसभन्दा बिल्कुल फरक छ। यहाँ मृत्युको पीडालाई सामूहिक सहभागिता, नाचगान, बाजागाजा र उत्सवमार्फत अभिव्यक्त गरिन्छ। दिवंगत आफन्तको सम्झनामा मनाइने सापारु अर्थात् गाईजात्राले मृत्यु र शोकलाई हेर्ने परम्परागत दृष्टिकोणलाई फरक ढंगले प्रस्तुत गर्छ।
युरोन्युज ट्राभलकी पत्रकार डियान एपेन–स्याडलरले भक्तपुर पुगेर अनुभव गरेको सापारु पर्वको विशेषता पनि यही हो- मृत्युलाई मौनतामा सीमित नराखी जीवनको अपरिहार्य सत्यका रूपमा स्वीकार गर्नु र दिवंगत आत्माको मुक्तिको कामना गर्नु।
काठमाडौं उपत्यकाका नेवार समुदायले वर्षभरिमा दिवंगत भएका आफन्तको सम्झनामा सापारु मनाउँछन्। पर्वका दिन सडकमा बाजागाजासहित ताहा साः निकालिन्छ। ढोल, घण्टी र लट्ठी ठोक्किँदाको आवाजसँगै सहभागीहरू घिन्ताङघिसी नाचमा रमाउँछन्।
भक्तपुरका सडकमा बिहानैदेखि यस्ता समूहको आवागमन सुरु हुन्छ। कतै सहभागीहरू तीव्र गतिमा अघि बढ्दा ताहा साः लच्किँदै हिँडिरहेको देखिन्छ भने कतै समूहले बिस्तारै अघि बढ्दै एकअर्कासँग नाच्छन्। सडकमा भीड बढ्दै जाँदा सबै समूह एउटै लयमा अघि बढेजस्तो देखिन्छ।
पर्वमा परम्परागत पोसाक लगाउनेहरू पनि हुन्छन्, आधुनिक पहिरनमा सहभागी हुनेहरू पनि। कतिपयले फुटबलको जर्सी र हवाई सर्टसमेत लगाएका हुन्छन्। यहाँ सहभागी हुन कुनै विशेष पहिरन अनिवार्य छैन। भीडमा रमाउन तयार जोकोहीले पर्वको अनुभव लिन सक्छन्।
पर्वको यो उल्लास देख्दा बाहिरबाट आउनेलाई मृत्युको शोकसँग यसको सम्बन्ध बुझ्न कठिन हुन सक्छ। तर यसको मूल सन्देश मृत्युको पीडालाई बिर्सनु होइन, त्यसलाई सामूहिक रूपमा स्वीकार गर्नु हो।
अघिल्लो वर्ष परिवारका सदस्य गुमाएका घरपरिवारले यस्तो संरचना निकाल्छन्। यसले सबै मानिसले एक दिन मृत्युको सामना गर्नुपर्ने र शोक जीवनकै एउटा हिस्सा भएको सन्देश दिन्छ। पर्वमा नाचगान गर्नु मृत्युको उत्सव मनाउनु होइन, दिवंगत आत्मा मुक्तितर्फ अघि बढिरहेको कामना गर्नु हो।
सापारुमा सहभागी हुने सबैका लागि यो केवल सांस्कृतिक प्रदर्शन होइन। कतिपयका लागि यो व्यक्तिगत दुःख बाँड्ने र दिवंगत आफन्तलाई सम्झने अवसर पनि हो।
पर्वको वास्तविक अर्थ बुझ्ने सबैभन्दा राम्रो तरिका त्यसमा सहभागी हुनु रहेको उनको भनाइ थियो। शोकलाई एक्लै सहनुपर्ने बाध्यता नबनाई समुदायसँग बाँड्ने अवसरका रूपमा सापारुले काम गर्छ।
उपत्यकाका धेरै स्थानमा सापारु एक दिनमै सम्पन्न हुन्छ। तर भक्तपुरमा यो पर्व आठ दिनसम्म चल्छ। यस अवधिमा सहरका विभिन्न स्थानमा नाच र सांस्कृतिक प्रदर्शन हुन्छन्।
गाईजात्राको सुरुआत कहिले भयो भन्ने यकिन ऐतिहासिक प्रमाण स्पष्ट छैन। इतिहासकारहरूले यसको परम्परा चौधौँ शताब्दीतिर सुरु भएको हुन सक्ने अनुमान गरेका छन्।
यो पर्वसँग सबैभन्दा बढी जोडिने नाम राजा प्रताप मल्लको हो। आफ्नो छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन उनले पर्वलाई विस्तार गरेको जनविश्वास छ। मानिसको घरमा मृत्यु र दुःख हुने वास्तविकता देखाएर रानीलाई आफ्नो दुःखमा एक्लो नभएको अनुभूति गराउने उद्देश्य रहेको कथन छ।
पछि पर्वसँग व्यङ्ग्य र हास्यका पक्ष पनि जोडिए। आज गाईजात्राका अवसरमा राजनीतिक व्यक्तित्वका व्यङ्ग्यात्मक मुखुण्डो लगाउने र सामाजिक विकृतिमाथि कटाक्ष गर्ने चलन देखिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनजस्ता चर्चित व्यक्तित्वका मुखुण्डोसमेत यस क्रममा देख्न पाइन्छ।
यसरी पर्वले मृत्युको स्मरणसँगै समाजका विसङ्गतिमाथि व्यङ्ग्य गर्ने अवसर पनि प्रदान गर्छ।