नेभिगेशन
एकता महाधिवेशन
विश्व सम्मेलन

एनआरएनएको एकता महाधिवेशन काठमाडौँमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ। 

संघले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी फागुन ३० गतेदेखि चैत २ गतेसम्म सम्मेलन तथा महाधिवेशन हुने जानकारी दिएको हो। सम्मेलन आयोजनाका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन गरिएको संघले जनाएको छ।

उक्त समितिको सचिवालयका रूपमा गैरआवासीय नेपाली संघको सचिवालयले नै कार्य गर्नेछ। सम्मेलन तथा महाधिवेशनका तयारीका कामहरू क्रमशः अगाडि बढिरहेको संघले जनाएको छ।

सम्मेलनमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकताबाट प्राप्त हुने संविधानप्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, गैरआवासीय नेपालीको संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सीप र प्रविधि हस्तान्तरण, विदेशमा जन्मिएका युवाहरूलाई नेपालसँग जोड्ने विषयमा केन्द्रित हुने संघका अध्यक्ष बद्री केसीले जानकारी दिए।

उनले एकता महाधिवेशनले गैरआवासीय नेपालीहरूको समस्या समाधानमा गर्न सरकारलाई दबाब सिर्जना गर्ने उल्लेख गरे। उनले नेपालबाहिर रहेका नेपालीहरूलाई निर्वाचनमा मतदान गर्ने अधिकार नेपाल सरकारले उपलब्ध गराउनुपर्नेमा जोड दिए।   

उनकाअनुसार हाल बाहिर रहेका करिब ८० लाख नेपालीमध्ये अधिकांशले नेपाली नागरिकता कायम राखेरै विदेशमा बसोबास गरिरहेका छन्। विदेशमा बसोबास गरिरहेका नेपालीले नेपालकै निर्वाचन प्रक्रियामा सहभागिता जनाउन पाउनु नैसर्गिक अधिकार भएको उनको भनाइ छ। परिवर्तित समयमा विदेशमा बसेर पनि नेपालमा भोट हाल्ने अधिकार सुनिश्चित हुने कुरामा आफू विश्वस्त रहेको उनले बताए। 

उनले भने, ‘आजको परिवर्तित नेपालमा नेपालको मूल्य र मान्यता पनि परिवर्तन भएका छन्। पहिला हामीले संविधानमा गैरआवासीय नेपालीहरूको अधिकार मागेका थियौं भने अब ८० लाख नेपालीहरूमध्ये अधिकांश नेपालीहरू नेपाली नागरिकता नै राखेर विदेशमा बसेका छन्। अब परिवर्तित नेपालको निर्वाचनमा विदेशमा नै बसेर पनि नेपालको निर्वाचनमा भाग लिन पाउने कुराहरू हाम्रो नैसर्गिक अधिकारभित्र पर्छ। मलाई आशा छ, यो परिवर्तित समयमा विदेशमा बसेर पनि नेपालमा भोट हाल्ने हाम्रा अधिकारहरू सुनिश्चित हुन्छन्।’

उनले अगाडि भने, ‘अब देश अरू कसैले बनाउँदैन, संसारका सबै विकसित देश हेर्ने हो भने त्यो देशका आप्रवासीहरूले नै विदेशमा बसेको सीप र ज्ञानलाई आफ्नो देशमा भित्र्याएर, विदेशमा कमाएको पैसालाई आफ्नो देशमा भित्र्याएर देशलाई समृद्ध बनाउन सहयोग गरिरहेका छन्। अब पालो गैरआवासीय नेपाली संघको हो, अब पालो गैरआवासीय नेपालीहरूको हो। हामी विदेशमा कमाएको सीप, ज्ञान, प्रविधि, विदेशमा कमाएको पैसा नेपालमा भित्र्याउन तयार छौं। नेपालमा लगानी गर्न तयार छौँ।’ 

अध्यक्ष केसीले विश्वका विकसित देशहरू आप्रवासीको सहयोगले नै समृद्ध भएको बताए। उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजी स्वदेशमा भित्र्याएर देश विकासमा गैरआवासीय नेपालीले महत्वपूर्ण योगदान गर्ने दाबी गरे। उनले नेपालमा लगानी गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताए।  स्रोत : सेतोपाटी/न्युज एजेन्सी नेपाल

 

                                                                                    संयुक्त प्रेस विज्ञप्ति
गैर आवासीय नेपालीहरूसँग सम्बन्धित विषयमा नेपाल सरकार, परराष्ट्र मन्त्रालयले सम्पर्क निकायको रूपमा भूमिका निर्वाह गरिरहेको व्यहोरा सर्वविदितै छ । सोही हैसियतमा मन्त्रालयले गैर आवासीय नेपाली संघको आवधिक रूपमा हुने विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको आयोजनामा आवश्यक सहयोग तथा सहजीकरण गर्दै आइरहेको छ ।

“नेपालीका लागि नेपाली” भन्ने मूल नाराका साथ सन् २००३ मा सुरु भएको गैर आवासीय नेपाली अभियान विश्वभर रहेका नेपालीहरूलाई एकै सूत्रमा बाँध्ने उद्देश्यका साथ अघि बढिरहेको छ। यस संस्थाले परिवर्तित समय र सन्दर्भमा आफूलाई पनि परिष्कृत गर्दै लैजाने चुनौती स्वीकार्दै आफूलाई मातृभूमि नेपालको सच्चा साझेदारको रूपमा उभ्याउन सक्षम भएको छ । विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुले विदेशमा आर्जन गरेको ज्ञान, सिप, पुँजी र प्रविधिलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने ध्येयका साथ स्थापित गैरआवासीय नेपाली संघ स्वदेश तथा विदेशमा बस्ने नेपालीको  आशा र भरोसाको केन्द्र बनेको छ ।

संघको १०औँ र ११औँ महाधिवेशनपछिको कालखण्डमा संस्थाभित्र देखिएका संगठनात्मक जटिलताहरूलाई  आत्मसमीक्षा, संवाद र सहकार्यको बलमा चरणबद्ध रूपमा सम्बोधन गर्दै अन्ततः सन् २०२५ नोभेम्बर ३० मा सम्माननीय प्रधानमन्त्री सुशिला कार्कीज्यूको रोहबरमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहितको उपस्थितिमा गैर आवासीय नेपाली संघभित्र ऐतिहासिक तथा बृहत् एकता सम्पन्न भएको तथ्य विदितै छ। यो उपलब्धिले संघको एकता, स्थायित्व र भावी यात्राप्रतिको सामूहिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।  

यसै सन्दर्भमा, यही २०८२ साल फागुन महिनाको ३० गते देखि चैत महिनाको २ गतेसम्म (१४–१६ मार्च २०२६) काठमाडौंमा “Our Unity, Base for Prosperity” को नाराकासाथ १२औँ गैर आवासीय नेपाली विश्व सम्मेलन तथा बृहत अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना हुने कार्यक्रम तय भएको छ । उक्त सम्मेलन आयोजनाका लागि मा. परराष्ट्र मन्त्रीज्यूको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भइसकेको छ । उक्त उच्चस्तरीय आयोजक समितिको सचिवालयका रूपमा संघको सचिवालयले नै कार्य गर्नेछ । 

सम्मेलन तथा महाधिवेशन सम्बन्धी तयारीका कामहरू क्रमश: अघि बढिरहेका छन् । सम्मेलनमा गैर आवासीय नेपाली सम्बन्धी ऐन,  गैर आवासीय नेपाली नागरिकले पाउने संविधान प्रदत्त  आर्थिक, सामाजिक र  सांस्कृतिक अधिकार, गैर आवासीय नेपालीको संयुक्त लगानी,  पर्यटन, स्वास्थ्य,  ज्ञान, सिप र प्रविधि हस्तान्तरण, महिला, युवा तथा दोस्रो पुस्ता लगायत विविध सत्रमा छलफल     हुनेछ । उक्त सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैर आवासीय नेपाली प्रतिनिधिहरू, गैर आवासीय नेपाली अभियन्ताहरू र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।

गैर आवासीय नेपाली संघको आगामी १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनमा सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई उत्साहपूर्ण सहभागिताका लागि हार्दिक अपिल गरिएको छ । यसका साथै,  सम्पूर्ण सञ्चारकर्मीहरूलाई पनि उक्त सम्मेलन सफल बनाउन महत्वपूर्ण सहयोगको लागि विशेष अनुरोध गरिएको छ ।

परराष्ट्र मन्त्रालय
सिंहदरवार, काठमाडौं ।
२०८२ माघ १९

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप एकता महाधिवेशन