कराँतेकी स्टार खेलाडी एरिकालाई लन्डनमा सम्मान
लन्डन । बेलायतमा रहेकी कराँतेकी स्टार खेलाडी एरिका गुरुङलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । बुधबार दिउँसो तमुधिं यूके पदाधिकारीका साथ दूतावास पुगेकी ऐतिहासिक पदक विजेता खेलाडी एरिकालाई कार्यवाहक राजदूत विपिन दुवाडीले बधाईसहित स्वागत सम्मान गरे ।
कार्यवाहक राजदूत दुवाडीले देशकै नाम र प्रतिष्ठा उचो राखेकामा एरिकालाई बधाई पनि दिए । भविष्यमा थप सफलताको शुभकामना दिंदै उनले एरिनाको सफलताको श्रेय प्रशिक्षक कुशल श्रेष्ठ र अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङलाई समेत जाने बताए ।
एरिकाले दूतावासको न्यानो आतिथ्य र सम्मानका लागि धन्यवाद दिंदै आफू कुनै दिन विश्वकै एक नम्बर वरियतामा पुग्ने लक्ष्य र आत्मविश्वासका साथ अगाडि बढिरहेको जनाइन् । उनले देशबाट खेलाडीहरु पलायन भइरहेकोप्रति इंगित गर्दै आफू भने कहिल्यै देश नछोड्ने बताएकी थिइन् ।
तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले दूतावासप्रति आभार प्रकट गर्दै तमुधिं यूकेले नेपाली राष्ट्रिय खेलाडीहरुको प्रोत्साहन र खेल विकासका लागि सहयोग जारी राख्ने अठोट व्यक्त गरे ।
तमुधिं यूकेले एरिकालाई ५१ हजार रुपैयाँसहित ‘तमु प्रतिभा पुरस्कार–२०२४’ बाट पुरस्कृत गरिसकेको छ । सो अवसरमा तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, हार्लो कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता प्रज्योशन श्रेष्ठ, गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमुलगायतको उपस्थिति थियो ।
गत आइतबार मात्रै विश्व कराँते महासंघको आयोजनामा टर्कीएको इस्तानबुलमा सम्पन्न कराँते वान प्रिमियर लिग (६८ केजी तौल समूह) मा रजत पदक जितेर इतिहास रचेकी एरिका सोमबार टर्कीबाट सिधै लन्डन आएकी हुन्।
एरिका आउँदो ३० जनवरीदेखि फेब्रुअरी १ तारिखसम्म बेलायतमा सञ्चालन हुने अन्तर्राष्ट्रिय एलिट ट्रेनिङ क्याम्पमा सहभागी हुनेछिन् ।
अस्ट्रेलिया जाने नेपालीलाई पनि भिसामा कडाइ