नेभिगेशन
अष्ट्रेलिया
नयाँ आप्रवासन नीति

अब अस्ट्रेलिया पढ्न जानेले पार्टनर लैजान नपाइने !

अस्ट्रेलियाले आफ्नो आप्रवासन नीतिमा व्यापक परिवर्तन गर्दै विद्यार्थी, दक्ष कामदार, भिजिटर तथा वर्किङ होलिडे भिसासहित विभिन्न क्षेत्रमा कडाइ गर्ने घोषणा गरेको छ ।

यससँगै अस्ट्रेलियामा अध्ययनको योजना बनाइरहेका विद्यार्थी र उनीहरूका परिवार प्रभावित हुने देखिएको छ । अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले घोषणा गरेको नयाँ नीतिको मुख्य उद्देश्य आप्रवासीको संख्या नियन्त्रण गर्नु, विद्यार्थी भिसामा भइरहेको भनिएको अनियमितता रोक्नु र देशलाई आवश्यक पर्ने दक्ष जनशक्तिलाई प्राथमिकता दिनु रहेको छ ।

नयाँ व्यवस्थाअनुसार उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीले अब सामान्य अवस्थामा आफ्नो श्रीमान् वा श्रीमतीलाई साथमा लैजान पाउने छैनन् । अर्थात्, विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया जाने र उनका जीवनसाथीले सँगै गएर काम गर्दै परिवारको आर्थिक भार धान्ने पुरानो बाटोमा ठूलो अवरोध आउनेछ ।

तर सबै विद्यार्थीका लागि भने यो व्यवस्था समान हुने छैन । विद्यावारिधी अध्ययनका लागि जाने विद्यार्थीलाई यो प्रतिबन्धबाट छुट दिइएको छ । त्यस्तै, प्यासिफिक तथा दक्षिण–पूर्वी एसियाली मुलुकबाट आउने केही विद्यार्थीलाई पनि छुट दिइने अस्ट्रेलियन सञ्चारमाध्यमहरूले जनाएका छन् । 

समाचार अनुसार अस्ट्रेलियामै रहेका विद्यार्थी र उनीहरूका पार्टनरलाई भने नयाँ व्यवस्था लागू नहुने बर्कले स्पष्ट पारेका छन् । अस्ट्रेलियामा रहेका परिवारलाई छुट्याउने आफ्नो उद्देश्य नरहेको उनको भनाइ छ ।

अस्ट्रेलियाले विद्यार्थी भिसाको दुरुपयोग रोक्न अध्ययनको तह परिवर्तन गर्ने प्रवृत्तिमाथि पनि कडाइ गर्ने भएको छ । विद्यार्थीले आफू अध्ययन गरिरहेको तहभन्दा तल्लो तहमा अध्ययन गर्न भिसा आवेदन दिने क्रमलाई निरुत्साहित गरिनेछ । 

भिजिटर भिसामा अस्ट्रेलिया पुगेर त्यहीँ बसेर अर्को प्रकारको भिसामा आवेदन दिने र निर्णय नआउन्जेल ब्रिजिङ भिसामार्फत देशमै बसिरहने बाटो पनि साँघुरो पार्न खोजिएको छ ।

अब भिजिटर भिसा प्रदान गर्दा ‘नो फर्दर स्टे’ अर्थात् निश्चित अवधिपछि थप बस्न नमिल्ने व्यवस्था राखिने सम्भावना छ । यसको उद्देश्य भिजिटर भिसालाई अस्ट्रेलियामा प्रवेश गरेर अर्को भिसा प्राप्त गर्ने माध्यमका रूपमा प्रयोग गर्ने प्रवृत्ति रोक्नु हो ।
अस्ट्रेलियाले समग्र आप्रवासीको संख्या घटाउने लक्ष्यसमेत अघि सारेको छ । सन् २०२८ सम्म वार्षिक आप्रवासी संख्या ३ लाखबाट घटाएर २ लाख २५ हजारमा झार्ने लक्ष्य राखिएको छ ।

अर्थात्, अस्ट्रेलियाले आप्रवासनको ढोका पूर्ण रूपमा बन्द गर्न खोजेको होइन । बरु देशलाई आवश्यक पर्ने जनशक्ति र आवश्यकताअनुसार आप्रवासी छनोट गर्ने नीति अघि सार्न खोजेको देखिन्छ ।

स्वास्थ्य, निर्माण, शिक्षा तथा सुरक्षा जस्ता क्षेत्रमा दक्ष कामदारको आवश्यकता रहेकाले ती क्षेत्रमा आउने आवेदनलाई प्राथमिकता दिइने भएको छ । गृहमन्त्री बर्कले अस्ट्रेलियामा पछिल्लो समय आप्रवासीको भीड लागेको भन्ने आरोप भने अस्वीकार गरेका छन् । आप्रवासी अस्ट्रेलियाको शक्ति भए पनि आप्रवासनलाई उच्च तहको नियन्त्रण आवश्यक रहेको उनको भनाइ छ ।

युवालाई अस्ट्रेलियामा निश्चित अवधिका लागि काम र घुमफिरको अवसर दिने वर्किङ होलिडे भिसाको दोस्रो र तेस्रो वर्षमा समेत ठूलो कटौती गर्ने घोषणा गरिएको छ ।

अस्ट्रेलियाले भिसाको म्याद सकिएपछि वा कानुनी हैसियतबिना देशमा बसिरहेका विदेशी नागरिकलाई फिर्ता पठाउने प्रक्रियालाई पनि तीव्र बनाउने भएको छ । गृहमन्त्री बर्कका अनुसार मेलबर्नमा रहेको एक क्वारेन्टाइन स्थानलाई डिटेन्सन सेन्टरमा रूपान्तरण गरिनेछ । यसका लागि थप १ सय अधिकारी परिचालन गर्ने तयारी छ ।

अस्ट्रेलियामा करिब ७७ हजार विदेशी नागरिक गैरकानुनी रूपमा बसिरहेको अनुमान गरिएको छ । उनीहरूको पहिचान र फिर्ता पठाउने प्रक्रियालाई तीव्र पार्ने सरकारको तयारी छ ।

नयाँ नियमको सबैभन्दा प्रत्यक्ष असर अस्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थी र उनीहरूका परिवारमा पर्ने देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप अष्ट्रेलिया