‘संसारभर एकै दिन नेपाल डे परेड गर्दा झनै राम्रो हुन्थ्यो’
अमेरिकाको कोलोराडोबाट मनाउन थालिएको नेपाल दिवस सन्दर्भ
बोल्डर, अमेरिका । पछिल्लो समय विदेशमा नेपालको झण्डा फहराउँदै भव्यताका साथ ‘नेपाल डे परेड’ कार्यक्रम मनाउने गरिन्छ । सन् २००४ देखि अमेरिकाको कोलोराडो राज्यको बोल्डर सहरमा हुँदै आएको नेपाल डे परेड कार्यक्रमको २३ औँ संस्करण यस वर्ष पनि भव्यताका साथ मनाइँदैछ । बोल्डरबाट फैलिएको नेपाल डे परेड कार्यक्रम पछिल्लो समय अमेरिकाको न्युयोर्क, क्यालिफोर्निया र टेक्सासमा पनि भव्यताका साथ मनाउन थालिएको छ । अमेरिकासँगै युरोप, अष्ट्रेलिया र एसियाका विभिन्न देशमा पनि नेपाल डे परेड कार्यक्रम आयोजना गर्दै नेपाल सम्झिने, नेपाली कला तथा सांस्कृतिक प्रदर्शन गर्ने र विदेशका विभिन्न ठाउँमा नेपालको प्रचारप्रसार गर्ने कार्यक्रम भव्यताका साथ चल्दै आएका छन् । बोल्डर सहरमा पहिलोपटक यो कार्यक्रमको आयोजना र सुरुवात गर्ने व्यक्ति हुन्, नारायण श्रेष्ठ । सन् १९७७ मा अमेरिका पुगेका श्रेष्ठले अमेरिकामा नेपाल चिनाउने, नेपाली संस्कृतिको प्रचारप्रसार गर्ने, नेपाल–अमेरिका सम्बन्ध बलियो बनाउने र नेपाल प्राकृतिक, सांस्कृतिक तथा धार्मिक रुपमा विश्वमै उत्कृष्ट छ भन्ने सन्देश फैलाउँदै यो कार्यक्रमको थालनी गरेका हुन् । उनले नेपाल र अमेरिकाका विभिन्न ठाउँमा सामाजिक काम गर्नका लागि गठन गरेको ‘हेल्पिङ ह्यान्ड्स हेल्थ एण्ड एजुकेशन’ संस्थामार्फत नेपाल डे परेडको सुरुवात गरेका हुन् । कोलोराडोमा यो कार्यक्रम अहिले रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन) संस्थाले आयोजना गर्दै आएको छ । अमेरिका, युरोप, अष्ट्रेलिया लगायतका अन्य देशमा पनि यो कार्यक्रम सम्बन्धित देशका गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गर्दै आएको छ । २२ वर्ष पहिले नेपाल डे परेड सुरु भएको बोल्डर सहरमै पुगेर पत्रकार विष्णु विवेक र सुधीर भण्डारीले परेडका संस्थापक श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंशः
आजभन्दा २२ वर्षपहिले अमेरिकाको बोल्डर सहरमा के कुरा सोचेर नेपाल डे परेड सुरु गर्नु भएको थियो ?
म अमेरिका आएको पचास वर्ष पूरा भयो । सुरुमा अमेरिका आउनेबित्तिकै विश्वविद्यालय पढ्ने बेला नै अमेरिकामा नेपाल चिनाउने केही न केही कार्यक्रम गरौँ भन्ने लागिरहेको थियो । तर त्यतिबेला कार्यक्रम गर्न सजिलो थिएन । अमेरिकामा नेपाली पनि धेरै थिएनन् । नेपाल डे परेड कार्यक्रम गर्ने सोचेको त झण्डै ३० वर्षअघि नै हो । तर सोच्दासोच्दै, सल्लाह गर्दागर्दै, सबैसँग साथ, सहयोग र सहकार्य गर्दा सन् २००४ मा नेपालको झण्डा समातेर बोल्डर सहर परिक्रमा गर्न सकिएको हो । यो कार्यक्रम गर्दा अमेरिकामा नेपालको झण्डा समातेर नेपाल चिनाउने मुख्य उद्धेश्य हो । आफू अमेरिका बसेको वर्षौवर्ष भए पनि आफ्नो देश सम्झिने, देश चिनाउने केही पनि कार्यक्रम त्यतिबेला थिएनन् । त्यही भएर आफैँले नेपाल र अमेरिकाको झण्डा एकसाथ समातेर नेपाल डे परेड कार्यक्रम सुरु गरेको हुँ ।
त्यतिबेला नेपाल डे परेड कार्यक्रम सुरु गर्दा कति जना नेपाली हुनुहुन्थ्यो ?
कोलोराडोमा त्यतिबेला नेपाली निकै कम थिए । संख्या एकिन छैन । तर त्यो कार्यक्रम सुरु गर्ने बेलामा म एक्लै धेरैतिर कुँदेको छु । त्यतिबेला नेपाली दाजुभाईसँग सल्लाह गर्दा कहाँ यति ठूलो कार्यक्रम गर्न सकिन्छ ? भन्नुहुन्थ्यो । त्यही पनि मैले हार मानिन् । अमेरिकामा आफ्नो देश नेपाल चिनाउने कार्यक्रम गरौँ भन्ने हुटहुटी थियो । त्यतिबेलाको बोल्डर सहरको मेयर मार्क रुज्जिन हुनुहुन्थ्यो । सिधै मेयरसँग गएर बोल्डरमा नेपाल र अमेरिकाको झण्डा फहराउँदै ‘नेपाल डे परेड’ कार्यक्रम गर्छु भनेर प्रस्ताव गरेँ । मेयरसँग चिनजान राम्रो भएकाले उहाँले हुन्छ भन्नुभयो । यो राम्रो प्रस्ताव हो, म आफैँ कार्यक्रममा आउँछु भनेर मेयरले भनेपछि म हौसिएर नेपाल डे परेडको तयारीमा लागे । सन् २००४ अप्रिल महिनाको तेस्रो शनिबार वा आइतबार गर्ने निर्णय गरेँ । त्यसबेला नेपालमा नयाँ वर्ष मनाइन्छ । त्यही नयाँ वर्षको अवसर पारेर अमेरिकामा पनि नेपाल डे मनाउने तयारी गरेका हौँ । पहिलो नेपाल डे परेड गर्दा त्यतिबेला दुई सय जना नेपाली एकसाथ लाइन लागेर नेपालको झण्डा फहराउँदै बोल्डर सहर परिक्रमा गरेका थियौँ । मेयर आएपछि बोल्डर सहरको प्रहरीले हामीलाई सुरक्षा दिएको थियो । सडकमा नेपाली पोशाक लगाएर, नेपालको झण्डा हल्लाउँदै, विभिन्न नेपाली जातीका मानिसहरु आ–आफ्नो भेषभुषामा नाच्दै, गाउँदै बोल्डर सहर परिक्रमा गरेपछि अमेरिकीहरुले बल्ल नेपाल र नेपालीको बारेमा धेरै कुरा थाहा पाएका हुन् ।
नेपाल चिनाउने उद्धेश्यले नेपाल डे परेड गर्दा अरु के–के गतिविधि तथा कार्यक्रम भएका थिए ?
पहिलो कुरा त त्यतिबेला बोल्डरमा बस्ने धेरै अमेरिकनलाई नेपाल, नेपालको हिमाल, नेपालको संस्कृतिबारे निकै थोरै मात्रै थाहा थियो । नेपाल डे परेड गरेर हामीले नेपाल र नेपालीका बारेमा पर्याप्त जानकारी दियौँ । अनि नेपालको सुन्दरता, इतिहास, भूगोल, प्राकृतिक स्रोत, साधन र संस्कृतिबारे बोल्न थाल्यौँ । हाम्रा कारण उनीहरु नेपाल घुम्न जान मन भएको तर माध्यम नभएको अवस्थामा हामीले सकेको सहयोग गर्यौ । म आफैँले धेरैपटक धेरै अमेरिकी पर्यटकलाई नेपाल घुमाउन लिएको छु । धेरै पर्यटकहरु आउन थालेपछि मैले आफ्नै पसलमा टूर एण्ड ट्रेकिङ कम्पनी खोलेर काम गरेको छु । त्यसपछि मेयर, गभर्नरसँग नेपालको संस्कृति, भूगोल, प्रकृति, विभिन्न जातजातीका भेषभुषा र परम्पराबारेमा अनुभव आदान प्रदान हुन थाल्यो । अनि उहाँहरुले अमेरिकामा रहेका नेपालीहरुको हकहित, अधिकार र समान सहभागिताका विषयमा खुलेर सहयोग गर्न थाले । बोल्डरको मेयरसँग धेरैपटक कुराकानी र छलफल भएपछि काठमाडौँ महानगर र बोल्डर सिटीबीच भगिनी सम्बन्ध स्थापना भएको हो । त्यही भगिनी सम्बन्धका कारण पनि हामीलाई नेपाल डे परेड कार्यक्रम गर्न सहज भएको हो । त्यसबाहेक नेपाली र अमेरिकी एकसाथ बसेर कहिलेकाँही खाना खाने, आ–आफ्नो खानाको स्वाद चखाउने, आपसी हित र सहयोगका विषयमा पर्याप्त कार्यक्रम हुन थालेँ । यो चाँही दुवै देशका सरकारले गर्ने निश्चित भेटघाट, छलफल, भ्रमणभन्दा बाहिर पनि हामी नेपाली नेपाली मिलेर अमेरिकी सरकारसँग गरेको सहकार्य हो । जसले त्यसपछि नेपालका विभिन्न ठाउँमा अमेरिकीहरुले सहयोग गरेका छन् । नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा दाता भएर सहयोग गरेका छन् । यो बोल्डर सहर ठ्याक्कै काठमाडौँ उपत्यकाजस्तै भएको कारण पनि यहाँका धेरै अमेरिकी पर्यटक नेपाल घुम्न गएका छन् । अहिले पनि धेरै अमेरिकी नेपाल घुम्न गइरहन्छन् ।
तपाईँले सुरु गरेपछि अमेरिकाकै न्युयोर्क, क्यालिफोर्निया, टेक्सास राज्यमा नेपाल डे परेड मनाउन थालियो । अमेरिकापछि युरोप र अष्ट्रेलियामा पनि भव्यसँग मनाइन्छ । यो कुरा सुन्दा कत्तिको खुशी लाग्छ ?
कोलोराडोपछि न्युयोर्कमा पनि नेपाल डे परेड मनाउन थाले भन्ने सुनेपछि नै एकदमै खुशी लागेको थियो । अहिले क्यालिफोर्निया र टेक्सासमा पनि मनाउन थालेका छन् । युरोप, अष्ट्रेलिया र उता एसियामा खाडी देशतिर पनि मनाउन थालेका छन् भन्ने सुनेको छु । प्रत्यक्ष हेर्न पाएको छैन । बोल्डरको सानो ठाउँबाट सुरु गरेको नेपाल दिवस अर्थात नेपाल डे परेड विश्वका धेरै देशमा मनाउन थालियो भनेपछि म खुशी नहुने कुरै छैन । तर परेड मात्रै मनाउनेभन्दा नेपाल चिनाउने, जुन देशमा हामी बसिरहेका छौँ, त्यो देशका नागरिकलाई पनि परेडमा मिसाउने, हाम्रो भाषा, संस्कृति र मूल्य मान्यताहरु आदानप्रदान गर्ने गतिविधिमा पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ ।

तपाईँको विचारमा एकदिन नेपाल डे परेड मात्रै भन्दा हाम्रा सांस्कृतिक मूल्य मान्यताहरुको पनि आदानप्रदान हुनपर्यो भन्न खोज्नु भएको हो ?
नेपाल डे परेडेको मुख्य उद्धेश्य नै त्यही हो । एकदिन, एक घण्टा नेपालको झण्डा समातेर नेपाली दौरा सुरुवाल लगाएर विदेशमा सहर घुम्दैमा नेपाल चिनाउन पर्याप्त हुँदैन । परेडअगाडि जुन देश, जुन सहरमा हामी बस्छौँ, त्यहाँका मानिसहरुलाई पनि बोलाएर अन्तरक्रिया गर्ने । उनीहरुको नेपाल अनुभव, अपेक्षा र योजनाहरु सुन्ने । नेपाल घुम्न जान चाहनेलाई सकेको सहयोग गर्ने गर्नुपर्छ । अनि कम्तीमा दुई दिन जति उनीहरुका सांस्कृतिक पर्वहरु हेर्न सकिन्छ भने निम्त्याएर हेर्नुपर्छ । अनि हाम्रा मौलिक नृत्यहरु देखाएर अझ गहिरोसँग नेपालप्रतिको धारणा उनीहरुलाई बुझाउन सकिन्छ । यो नेपाल दिवस मात्रै होइन, विभिन्न देशको सांस्कृतिक कार्यक्रमको आदान प्रदान पनि हो । त्यतातिर ध्यान दिन सकियो भने नेपाल डे परेडले गहिरो अर्थ राख्छ । अनि यससँगै विभिन्न देशसँगका आपसी सम्बन्ध, कूटनीतिक सम्बन्ध र सांस्कृतिक सम्बन्धहरु बलियो बन्दै जान्छन् । वर्षभरीका हाम्रा गतिविधि नेपाल डे परेडका दिन प्रदर्शन गर्ने एकिकृत कार्यक्रम पनि हो । यसको कमी भइरहेको मैले महसुस गरेको छु । अबको पुस्ताले त्यतातिर ध्यान दिनुपर्छ । अनि मात्रै नेपालको अस्तित्व, सांस्कृतिक महत्व अनि सगरमाथा र गौतमबुद्धको देश भनेर संसारमा चिनाउन सक्छौँ ।
हरेक देशमा, हरेक सहरमा फरक फरक दिन नेपाल डे परेड पनि मनाउने गरिन्छ ? यो भन्दा एकैदिन सबै देशमा, सबै ठाउँमा मनाउँदा झन् राम्रो हुन्थ्यो कि ? यसमा तपाईँको राय के छ ?
हामीले पहिलोपटक परेड सुरु गर्दा अप्रिल महिनाको तेस्रो शनिबार वा आइतबार पारेका थियौँ । ठीक त्यतिबेला नेपालमा नयाँ वर्ष मनाउने गरिन्छ । त्यही अवसरमा हामीले नेपाल चिनाउन परेड सुरु गरेका थियौँ । तर अहिले बोल्डरमै हामी मे महिनाको मध्यतिर परेड गर्दैछौँ । किनभने अप्रिल महिनामा पनि हिउँ पर्ने भएर मौसमले साथ नदिने भएपछि सार्नु परेको हो । त्यसमाथि विभिन्न देशमा विभिन्न सहरमा यो कार्यक्रम गर्दा अनुमति लिनुपर्छ । त्यो सजिलो छैन । त्यही भएर पनि आ–आफ्नो पायक पर्ने समयमा विभिन्न सहरमा नेपाल डे परेड गरिन्छ जस्तो लाग्छ । अब मे महिनामा सबैतिरको मौसम राम्रो हुन्छ । सबैलाई पायक पनि पर्न सक्छ । संसारभर एकैदिन नेपाल डे परेड गर्दा राम्रो त हुन्छ नै । यसका लागि अझै धेरै छलफल, सल्लाह र बहस गर्नुपर्छ । मैले त्यतातिर सोच्न, समय दिन र छलफल गर्न सकेको छैन । अब नयाँ पुस्ताले चाहे भने एकैदिन संसारभर नेपाल डे परेड गर्दा झनै राम्रो हुन्थ्यो ।
एनआरएनए अमेरिकाका अध्यक्ष साहलाई नेपाली घरमा स्वागत
कोलोराडोको बोल्डरमा २३ औँ ‘नेपाल डे परेड’ सम्पन्न
‘कोलोराडो घोषणापत्र’ जारी गर्दै साहित्य सम्मेलन सम्पन्न
कोलोराडोमा नेपाल डे परेडको भव्य तयारी