नेभिगेशन
अमेरिका
नेपाली संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति

बाढीपीडितको सम्झनामा न्युयोर्कमा दसैं उत्सव

न्युयोर्क सिटीले भोटेकोशी बाढीलगायत प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा दसैं उत्सव आयोजना गरेको छ । सिटी हलको ऐतिहासिक च्याम्बर भवनमा आयोजित कार्यक्रममा मृतकहरूको सम्झनामा मौनधारण गरिएको थियो । घर तथा परिवार गुमाएका बाढीपीडितप्रति सहानुभूति व्यक्त गर्दै मृतकहरूको आत्माको शान्तिको कामना गरिएको थियो । पण्डित उद्धव शास्त्री र दीपक खरालले प्रार्थना गरेका थिए ।

कार्यक्रममा स्वस्तिवाचन, फूल तथा टीका वितरणसँगै नेपाली संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति गरिएको थियो । एन्जेला शाहले प्राकृतिक विपत्ति र त्यसले पारेको असरलाई सांकेतिक रूपमा प्रस्तुत गर्ने नृत्य देखाएकी थिइन् । रेविका श्रेष्ठ, अभिषेक प्रधान र प्रनिश चित्रकारले बाढीपीडितको सम्झनामा सांगीतिक प्रस्तुति दिएका थिए ।

समुदायमा योगदान पुर्‍याएको भन्दै न्युयोर्क सिटीले श्रिया तुलाधर, अमित प्रताप शाह र देवाशीष बस्नेतलाई सम्मान गरेको छ । नेतृत्व विकास, मानसिक स्वास्थ्य तथा नेपाली सांस्कृतिक सम्पदा संरक्षणमा योगदानका लागि तुलाधर, कोभिड महामारीका बेला समुदाय संरक्षण र खोप व्यवस्थापनमा योगदानका लागि शाह तथा आप्रवासीको पक्षमा आवाज उठाउँदै कानुनी सहायतामा सहयोग गरेको भन्दै बस्नेतलाई सम्मान गरिएको हो ।

सिटी काउन्सिल सदस्य लिन सुलमनले उनीहरूलाई सम्मानपत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा सिटीका जनप्रतिनिधिहरूले नेपाली समुदायको सामाजिक योगदान र सांस्कृतिक सक्रियताको प्रशंसा गरेका थिए ।

सन् २०२४ देखि न्युयोर्क सिटीले हरेक वर्ष हिन्दु नेपाली समुदायको प्रमुख पर्व दसैं उत्सव आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप अमेरिका