पूर्ण अधिकारसहित नेपालमा लगानी गर्न दिन एनआरएनएको माग
‘बजेट कार्यान्वयनका लागि सरकारसँग सहकार्य गर्न तयार’
काठमाडौँ : गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसी २०२५–२०२७ ले सरकारले विदेशमा रहेका नेपालीलाई पनि धितोपत्र लगानी गर्न दिने नीति लिएकोमा खुशी व्यक्त गरेको छ । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्थाले विदेशमा रहेका नेपालीले कारोबार गर्न पाउने व्यवस्था सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमै समेटेपछि एनआरएनएले स्वागत गरेको हो ।
सरकारले लिएको नीतिले बैङ्किङ, पर्यटन, जलविद्युत्, र अन्य क्षेत्रमा लगानी विस्तार गर्न सहयोग पुग्ने एनआरएनएले विश्वास व्यक्त गरेको छ । ‘बजेटमा उल्लेखित यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि एनआरएनएको वर्तमान नेतृत्व नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको जानकारी गराउँछौ’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै विज्ञप्तिमा भनिएको छ, ‘बजेटमा विदेशमा रहेका नेपाली नागरिकको हित संरक्षणका लागि प्रभावकारी कूटनीतिक पहल, गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि, र सञ्जाललाई राष्ट्रिय विकासमा उपयोग गर्ने तथा सङ्कटमा परेका नेपालीहरूको उद्धारको व्यवस्था गर्ने जस्ता सकारात्मक प्रावधानहरू समावेश गरिएकोमा हामी प्रशंसा गर्दछौँ’ ।’
‘यद्यपि गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपाली सरह एनआरएनहरूलाई नेपालमा लगानी गर्न दिने व्यवस्था, श्रमिकहरूको सम्मान, बिमा र सुरक्षा लगायतका केही महत्त्वपूर्ण मुद्दाहरू अझै सम्बोधन हुन बाँकी रहेको हाम्रो ठहर छ । एनआरएनए यी मुद्दाहरूलाई सम्बोधन गर्न नेपाल सरकारसँग निरन्तर संवाद र सहकार्य गर्न प्रतिबद्ध छ । बजेटको प्रभावकारी कार्यान्वयनका लागि संघको सधैँ साथ र समर्थन रहने विश्वास दिलाउन चाहन्छौँ’, महासचिव बाबुराम लामाद्वारा बिहिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
एनआरएनएको अध्यक्षमा हेमराजको उम्मेदवारी घोषणा
एनआरएनए अध्यक्षमा शेरचनको उम्मेदवारी घोषणा
एनआरएनएको एकता महाधिवेशन काठमाडौँमा
यी हुन् एनआरएनए एकताका १० बुँदे सहमति
प्रधानमन्त्रीको उपस्थितीमा दुई एनआरएनएबीच एकता