नेभिगेशन
कोलोराडो

कोलोराडोमा नेपाल डे परेडको भव्य तयारी

कोलोराडो । कोलोराडोमा रहेका नेपालीभाषी समुदायले नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेपाल डे परेड आयोजना गर्ने भएका छन्।

कोलोराडोको नेपालीभाषी समुदायबीच सक्रिय संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको आयोजना, हेल्पिङ ह्यान्ड हेल्थ एजुकेसन र एनआरएनए एनसीसीको सहयोग तथा यहाँस्थित सबै सङ्घ-संस्थाहरूको सहभागितामा यो परेड आयोजना गरिन लागेको रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका उपाध्यक्ष हरि गुरुङले जानकारी दिए ।

यही मे १६ तारिख, आइतबार अपराह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म बोल्डर सहरमा सञ्चालन हुने उक्त कार्यक्रममा स्थानीय बोल्डर सिटीका मेयर एरोन ब्रोकेट लगायत विभिन्न अतिथिहरूको सहभागिता रहने गुरुङले जानकारी दिए।

यहाँका स्थानीयलाई नेपाल र नेपालीको भाषा, संस्कृति तथा पहिचान चिनाउने यस कार्यक्रममा सकेसम्म आ-आफ्नो संस्कृति झल्कने भेषभूषामा सहभागी हुन सबैलाई अनुरोध गरिएको छ। त्यसैगरी, सङ्घ-संस्थाहरूलाई सम्भव भएसम्म आफ्नो ब्यानरसहित उपस्थित भइदिन आग्रह गरिएको छ।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन परेडसँगै नेवाः खलः, मगर समाज, तमु प्ये ल्हु सङ्घ लगायतका सङ्घ-संस्थाहरूले आ-आफ्नो संस्कृति झल्कने साङ्गीतिक प्रस्तुतिहरूसमेत प्रदर्शन गर्ने कार्यक्रम रहेको रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालकी अध्यक्ष आकृति राईले बताएकी छन्।

कोलोराडोस्थित सबै सङ्घ-संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी लगायत नेपाल र नेपालीप्रति सद्भाव राख्ने सबैलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन सहयोग गरिदिनुहुन अध्यक्ष राईले अनुरोध गरेकी छन्।

Nepal-Parade-day-1778090354.jpg
 

भौगोलिक स्थितिले काठमाडौँ उपत्यकासँग मिल्दोजुल्दो सुन्दर सहर बोल्डरमा हरेक वर्ष यो परेड आयोजना हुने गर्दछ। केही वर्ष अगाडिदेखि अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली परेड आयोजना हुन थालेको छ। तर, कोलोराडोको परेड भने यहाँस्थित बोल्डर सिटी एन्ड काउन्टीको कार्यालयले सन् २००४ देखि नेपाली भाषा र संस्कृतिको संरक्षण तथा पहिचानका लागि हरेक वर्ष नेपाल डे परेड हुनेछ भनी औपचारिक घोषणा गरेपछि आयोजना गर्न थालिएको हो।

अमेरिकाका पचास राज्यमध्ये कोलोराडो यस्तो किसिमको कार्यक्रम आयोजना गर्ने पहिलो राज्य हो। अमेरिकी सरकारबाट नेपालीहरूको दिवस भनेर स्वीकृत भएको यो पहिलो सूचीकृत कार्यक्रम पनि हो।

कोलोराडोमा नेपालीहरूको सङ्ख्या बढ्दै गएपछि नेपालीपन र नेपालको पहिचान गराउने उद्देश्य लिई हेल्पिङ ह्यान्ड हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठको सक्रियतामा यो कार्यक्रम सुरु गरिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप कोलोराडो