नेभिगेशन
अमेरिका

नेपालमा लगानी भित्र्याउन न्यूयोर्कमा बिजनेस समिट

न्यूयोर्क - ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले तीन दिने अन्तर्राष्ट्रिय व्यापार सम्मेलन ‘नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट (एनएबीआईएस) २०२६’ गर्ने भएको छ । आगामी सेप्टेम्बर २५ देखि २७, २०२६ सम्म हुने समिट अमेरिकाको न्यूयोर्कस्थित न्यूयोर्क जेएफके मेरयिट होटलमा हुने आयोजकले जनाएको छ । 

आयोजकका अनुसार सम्मेलनमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधिहरू, उद्योगी–व्यवसायी, लगानीकर्ता, नीतिनिर्माता तथा विश्वभर छरिएर रहेका नेपाली डायस्पोराहरूको सक्रिय सहभागिता रहने छ ।

सम्मेलनको मुख्य उद्देश्य नेपाल र अमेरिकाबीच द्विपक्षीय व्यापार विस्तार गर्नु, लगानी प्रवद्र्धन गर्नु, प्रविधि हस्तान्तरणलाई गति दिनु र दुई देशबीच दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्नु रहेको ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठले बताए । एनएबीआईएसले विचार, पुँजी र मनिसहरूलाई जोड्दै नेपाल र अमेरिकाबीच बलियो आर्थिक सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको उनको भनाइ छ । 

अध्यक्ष श्रेष्ठका अनुसार नेपालमा पर्यटन, जलविद्युत, सूचना प्रविधि, आधुनिक कृषि, पूर्वाधार विकास, उत्पादनमूलक उद्योग र स्टार्टअप क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको छ । साथै, अमेरिकाभर छरिएर रहेका नेपाली व्यवसायीहरूलाई सशक्त बनाउनु पनि यो सम्मेलनको अर्को प्रमुख ध्येय हो ।

वर्तमानमा न्युयोर्कदेखि क्यालिफोर्निया, टेक्सासदेखि इलिनोइस र फ्लोरिडादेखि वाशिंगटनसम्मका नेपाली उद्यमीहरूले रेस्टुरेन्ट, होटल, स्वास्थ्य सेवा, सूचना प्रविधि, रियल स्टेट, निर्माण, वित्तीय सेवा, खुद्रा व्यापार, शिक्षा तथा यातायातलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेका छन् ।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालमा रहेका लगानीका सम्भावनाहरू, अन्तर्राष्ट्रिय व्यापार तथा पुँजी साझेदारी, प्रविधि र कृत्रिम बुद्धिमत्तामा आधारित नवप्रवर्तन, तथा स्थानीय व्यवसायलाई विश्व बजारसम्म विस्तार गर्ने विषयमा गहन छलफल तथा सत्रहरू सञ्चालन हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप अमेरिका