नेभिगेशन
अमेरिका
१०० नेपाली डायस्पोरा

पासाङको प्रतिभाशाली परिचय

‘जसले विश्व साहित्यमा नेपालीको पाइला र परिचय राखे’

एउटा नाम पासाङ शेर्पा । तर अनेक परिचय । उनी व्यवसायी हुन् । व्यवसायी भएकै कारण समाजसेवी पनि बने । समाजसेवाले उनलाई धेरै नेपाली र विदेशीसँग जोड्यो ।

त्यसले उनलाई लेखक बनायो । घर, गाउँ, परिवेश र मायाले उनलाई उहिल्यै गीतकार बनाइसकेको थियो । तर पछिल्लो समय उनले लेख्ने हरेक शब्दले परिचय पाउँछ । लयमा लेखियो भने गीत बन्छ । अनि वाक्यहरु थपिदैँ गयो भने पूस्तक ।

उनी चर्चित गीतका गीतकार हुन् । सबैभन्दा पहिले बनाएको परिचय पनि उनले यही हो । शेर्पाको बनिबनाउ परिचयमा पनि होमिन चाहेनन् । यसका लागि कम्तीमा उनले सगरमाथा चढ्नुपर्ने थियो । 

चढे कि चढेनन् त्यो थाहा छैन । तर उनले आफ्नै जीवनको उकालो यसरी चढे कि हिजोआज ती उकालो र पहाडको टाकुरो टेक्दै हिमालकै चुचुरोमा चुमिरहेका छन् । सन् २००४ मा अमेरिका आएपछि उनी सबैभन्दा पहिले व्यवसायी बने ।

त्यसका लागि उनले अमेरिका न्युयोर्कका धेरै गल्लीहरुमा आफ्नो पसिना बगाएका छन् । त्यही पसिनाले उनलाई सैलुन व्यवसायी बनायो । अनि परिचय नामी हेयर स्टाइलिस्ट थपियो ।

न्युयोर्कको ज्याक्सन हाइटमा उनले ‘पासाङ स्ट्राइकिङ स्टाइल’ सैलुन खोलेका छन् । जहाँ उनी कपाल मात्रै काट्दैनन्, मानिसहरुका कपालमा नयाँ नयाँ फेसन र शानदार स्टाइल दिन्छन् ।

व्यवसायीले उनलाई समाजसेवासँग जोड्यो । अनि मनका भावनाहरुमार्फत गीत संगीतसँग पनि । समाजसेवाले उनलाई धेरै मान्छेसँग जोड्दै बिस्तारै लेखकका रुपमा उभ्यायो । उनको समाजसेवा, लेखन चाँही कोभिड महामारीमा उत्कर्षमा पुगेको हो ।

त्यो महामारीले उनलाई मान्छेको मन, मष्तिष्क र भावनालाई अन्य मानिसँग जोड्न धेरै सहयोग गरेको थियो । त्यो सहयोगलाई उनले शब्द शब्दहरु जोड्दै किताब लेख्न मद्दत गरिदियो । अनि बनायो, एक अन्तर्राष्ट्रिय लेखक ।

87.-Passang-Sherpa-inside-1763154681.jpg
 

‘कोरोना कथा’ पूस्तकका रुपमा उनले कोभिड महामारीमा आफूले भोगेको वास्तविक इतिहास लेखेका छन् । उनको पुस्तकमा न्युयोर्कका गल्ली गल्लीमा देखिएको कोभिड महामारीको कथा छ । जसलाई उनले पछि ‘बिहाइन्ड द मास्क अ पेन्डामिक मेमोइर’का नामबाट अंग्रेजी भाषामा पनि प्रकाशित गरे ।

यो पुस्तक हालै मात्र अमेरिकी ‘बेस्ट बूक अवार्ड’को अन्तिम प्रतिष्पर्धामा समावेश भएको छ । अमेरिकन बुक फेस्टले आयोजना गरेको २२ औँ संस्करणमा उनको यो पुस्तक अन्तिम प्रतिष्पर्धामा सामेल भएको हो ।

यो अवार्ड संसारकै चर्चित र पुरानोमध्येको एक पुरस्कार कार्यक्रम हो । यस्तै पासाङले लेखेका गीतहरु प्नि चर्चित छन् । त्यसमध्ये उनले लेखेको ‘नरोउ तिमी’ गीत सबैभन्दा धेरै चर्चित छ । युट्युबमा झण्डै ८० लाख जनाले हेरेको यो गीतमा आकाश श्रेष्ठ र स्वष्तिमा खड्काको अभिनय छ । निकिता थापाले स्वर दिएको यो गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

उनकै निर्देशनले गर्दा यो भिडियो चर्चित बनेको हो । यसबाहेक ‘साँझ ढलेको थाहा पाइन्’, तल पर्यो सल्लेरी, माथि नाम्चे गाउँ’ पनि चर्चित गीत हुन् । दर्जन बढी चर्चित गीत लेखेका उनका कृतिले पासाङलाई अन्तर्राष्ट्रिय लेखकको परिचय दिलाएको छ ।

उनको संघर्ष, सपना र सफलताको कथाले नेपाली डायस्पोरामा उनको नाम प्रेरक बनेको छ ।

स्रोत : खसोखास डटकम

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप अमेरिका