नेभिगेशन
साहित्य
पुस्तक पत्र

नारायण श्रेष्ठलाई पुस्तक पत्र

प्रिय नारायण दाई

मैले लेखेको पहिलो पुस्तक ‘घाटगाउँ’ तपाईँको हातमा पुग्यो, पुलकित छु । 

शरद भिनाजु र सुधा दिदीले पुस्तक क्यारेवियन सागरमा घुमाउँदै तपाईँको हातमा टक्राएको फोटो पाउँदा जति हर्षित भएको छु, त्यति नै नोस्टाल्जिक बनेको छु । 

पुस्तक पाएपछि खुशीको भावमा तपाईँले जुन मुस्कान दिएर फोटोको पोज दिनुभयो, त्यसले मलाई गद्गद बनाएको छ । 

सुर्खेतमा घरको आँगनमा बसेर साझा सवाल सुनेका धेरै क्षणहरु छन् । आइतबार राती ९ बजे आउने यो कार्यक्रमले त्यतिबेला सबैको मनमुटु छोएको थियो । तर म केवल श्रोता मात्रै रहिन । बिस्तारै पत्रकारितामा रुचि बढ्यो । चाँसो बढ्यो । विज्ञान विषय पढ्दै गर्दा रेडियो पत्रकारिता चिन्तन र करियरकै पाटो बन्यो ।

तपाईँको कार्यक्रम शैलीसँग म अनायसै भिजेको छु । बोल्नु । मिठो बोल्नु । लय समाती बोल्नु । सरल शब्द छनौट गर्नु । गहन विषयमाथि छलफल चलाउनु । र, सामुन्नेको घटनाक्रमलाई स्पष्ट रुपमा प्रस्तुतीमा लैजानु तपाईँका महत्वपूर्ण विशेषता हुन् । 

पत्रकार हुन् । रेडियोमा कार्यक्रम चलाउनु । र, कुशल प्रस्तोता हुनु भिन्न भिन्न पाटो रहेछन् । यी सबै गुण, सबै विशेषता र आवश्यकतामा पोख्त हुनु झन् भिन्नै क्षमता रहेछ । संयोग मानौँ, मलाई तपाईँका यी विशेषता अंगीकार गरिरहने रहर लाग्यो ।

एसएलसीपछि सहर छिर्नु । विज्ञान विषय पढ्नु । विज्ञान पढ्दापढ्दै पत्रकारितामा रुचि हुनु । रेडियोमा छिर्नु । रेडियोले बिस्तारै सबैथोक रेडियोतिरै लैजानु । काठमाडौँ जानु । अस्कलबाट आरआर क्याम्पस पुग्नु । त्यसपछि फेरि रेडियोमा जोड्नु । जोडिरहनू । मेरा यात्राका घुम्ती बने ।

काठमाडौँ पुगेपछि मलाई थाहा भको, साझा सवाल टेलिभिजनमा पनि आउँदो रहेछ । त्यतिबेला मैले काठमाडौँमा रेडियोको कम्प्युटरभित्र रोनाल्डोका गोल र साझा सवालका पुराना कार्यक्रम खुब हेरेको छु । रेडियोमा आफुले सुन्दा र प्रत्यक्ष भिडियोमा हेर्दा फरक लाग्यो । यो सायद उमेरको कुरा होला । 

काठमाडौँ आएपछि त्यतिबेला बीबीसी मिडिया एक्सनमा काम गर्ने मेघराज रसाइली दाईसँग भेट भयो । साझा सवाल कार्यक्रम उत्पादन हुने कार्यालय हेर्ने खुबै रहर थियो । उहाँले बोलाएपछि एक दिन ललितपुरको झम्सीखेल कार्यालयमै पुगेँ ।

त्यहाँ भेट भयो, दीपक भट्टराई दाईँसँग । मेघराज दाई र दीपक दाईँले त्यतिबेलाकी साझा सवाल प्रस्तोता विद्या चापागाईँलाई भेट्टाउनुभयो । कार्यक्रम उत्पादन टिम पनि हुदो रहेछ । मैले त्यही बेला थाहा पाको । देशका सबै रेडियोमा बज्ने लोकप्रिय कार्यक्रम बनाउने एउटा विशेष ठुलै टिमले रहेछ । म त नारायण दाईँ एक्लैले पुरै साझा सवाल चलाउनुहुन्छ होला भन्ने सोचेँथे । तर रैनछ । 

तपाईँको आवाज सुन्न छाडेपछि साझा सवालबाट बिदा लिनुभयो भनेर सम्झेथेँ । जसरी ‘साथीसँग मनका कुरा’ कार्यक्रमबाट विनायक, कौस्तुप, संगिता र विनिताले बिदा लिएथेँ ।
मेघराज दाईँ, दीपक दाईँ र विद्या दिदीलाई मनमा खसखस नै लागेर सोधेथेँ, ‘अचेल नारायण श्रेष्ठ सर कता हुनुहुन्छ नि ?’ 
 
उहाँहरु तीनै जनाले एकस्वरमा भनेको सम्झिन्छु, ‘नारायणजी त अमेरिका गइसक्नुभयो ।’

ओहो ! अमेरिका पो । म झस्के । लाग्याथ्यो, काठमाडौँमा कतै हुनुहुन्छ होला ।

‘नारायणजीलाई विष्णु भाईले रेडियो पत्रकारिताको आइडल मान्नुुहुन्छ’ दीपक भट्टराई दाईले भन्दिनुभयो । मैले मेघराज दाई र दीपक दाईलाई भेट्नेबित्तिकै सुनाएको थिएँ ।
हो, उहाँको ‘सुपरियर’ आवाज सुन्दै बहसमुलक कार्यक्रम चलाउने अचाक्ली हुटहुटी थियो । केही समय, केही कार्यक्रम चलाएँ पनि ।

त्यसपछि मैले युट्युबमा थप सर्च गरेँ । नारायण दाईँलाई साझा सवाल सेटमै बिदाई गरेको भिडियो । रवीन्द्र मिश्रले बिदाईँका बफादार शब्द खर्चिनुभयो । ‘नारायणजी यस्तो, नारायणजी उस्तो...’ भनेको शब्द सुनिहेरिरहँदा तपाईँको अनुहार मलिन अनि अध्यारै थियो । त्यसबेला कारण बुँझिन् । लाइट पनि नपुगेको हो कि । 

त्यतिबेलाको साझा सवाल टिमले गगन थापासहितको बाइट राखेर भिडियो बनाएको रहेछ । त्यो पनि हेरेँ । त्यसपछि तपाईँका बारेमा खासै पत्तो पाइन ।

काठमाडौँमा मेरो संघर्ष चलिरह्यो । पत्रकारिता र रेडियोका थुप्रै दिग्गजसँग भेटघाट भयो । तर तपाईसँगको अदृश्य आत्मीयता अलि बेग्लै थियो । तपाईँको यात्रासँगसँगै मेरो यात्राका केही संयोग पनि गज्जबसँग गठजोड भए ।

तपाईँ त्रिचन्द्रबाट आरआर आएजस्तै गरि म अस्कल क्याम्पसबाट आरआर पुगे । तपाईँ आरआर क्याम्पसबाट रेडियो सगरमाथा, आँझीझ्याल कार्यक्रम हुँदै बीबीसीको साझा सवालमा पुग्नुभयो । अनि केही वर्ष काम गरेपछि अमेरिका ।

धेरै लामो समयपछि गायिका अन्जु पन्तसँग अमेरिकामा हिड्दै गरेको कुराकानीको भिडियो देखे । युट्युब लिंक खोलेर हेरेँ पनि । त्यसपछि फेसबुकमा फ्लो गरे । कहिलेकाँही सेतोपाटीमा तपाईँका लेखहरु पढ्थे ।

म चाँही एउटा, अर्को, अर्को रेडियो हुँदै उज्यालो रेडियो नेटवर्कमा काम गरेपछि केही समय पर्यटन केन्द्रित कार्यक्रमहरु चलाएँ । अच्युत दाई, श्रीराम दाई, कमला दिदीसँग सल्लाह गरेर हामी साथीहरु मिलेर देशका विभिन्न ठाउँ घुम्यौँ । भनिहालौँ, काठमाडौँदेखि बाइकमा बत्तिएर ताप्लेजुङ–झापा–कञ्चनपुर–दार्चुला पुग्यौँ । नेपालका चार कुना टेक्यौँ ।

त्यसपछि अमेरिका आउने तरखर चलिरहँदा कुरैकुरामा सबिता दिदीले एकदिन भन्नुभयो, ‘नारायण दाई पनि यतै अमेरिका हुनुहुन्छ । बोस्टनतिर बस्नुहुन्छ क्यारे ।’ 

सीआईएनमा सबिता दिदीको समाचार पढ्ने शैली गज्जब राम्रो लाग्थ्यो । काठमाडौँ आउनेबित्तिकै भेटेँ । त्यसबेलादेखि दिदीभाईको न्यानो साइनो छ । उज्यालोमा चाँही दीपेन्द्र कुँवर दाईले सबैभन्दा पहिले घुमाउनुभयो ।

नर्थ क्यारोलिनाबाट दिदीले यति भनेपछि बोस्टनबाट साथी सुवास ढुंगेलले भने, ‘अमेरिका आएपछि यता आउन, मिलाएर भेट भैहाल्छ नि ।’ मिलाएर बोस्टन जान अहिलेसम्म मिलेन ।

तपाईँसँग भेट भएपछि सुवासले फोटो पठाएका थिएँ । हेरेर चित्त बुझाएँ ।

त्यसपछि प्रमिला कार्कीको पडकास्टमा तपाईँलाई सुनेँ । केही समयअघि सुधीर शर्मा दाईसँगको कुराकानी पनि हेरेँ । अनि बल्ल थाहा पाएँ, तपाई अमेरिका आउँदा किन अनुहार अध्यारै पार्नु भएको रहेछ भनेर । शब्दमा भन्नुपर्दा देशबाट दिक्दारी लागेर रहेछ । हामी विदेश आउने सबैको उस्तै उस्तै नहोला, तर धेरैहदसम्म त्यही हो कि जस्तो पनि लाग्छ । 

साथी सुधीरले दिदी भिनाजु क्रुज ट्रिपमा जाँदै हुनुहुन्छ भन्ने सुनाएको थियो । हल्का बिरामी भएर सुधीर छुट्यो । कोलोराडोमा केही दिनअघि ‘घाटगाउँ’ पुस्तक विमोचन गरेपछि पुस्तक हस्तान्तरण गर्दै थिएँ । मुश्किलको समय निकालेर शरद भिनाजु पनि विमोचनमा नेपाली घर पुग्नु भएको थियो ।

भिनाजु, क्रुजमा घाटगाउँ पनि घुमाउनुपर्यो भनेथेँ । त्यसमाथि तपाईँहरुको जम्बो टिम छ भन्ने कुरा थाहा पाएँ । सुधीरले भनिरहन्थ्यो ।

‘नारायणजीसँग पनि भेट हुन्छ, हामी सँगसँगै क्रुज यात्रा गर्दैछौँ’ शरद भिनाजुले भन्नुभयो ।

‘विष्णु मौका यही हो’ भनेर सुधीरले मेरो हातमा कलम थमाइदियो । 

अनि तपाईँलाई सम्बोधन गर्दै हस्ताक्षरसहित दुई शब्द लेखेर पुस्तक सुधा दिदीको हातमा टक्राए । दिदी भिनाजुले फ्लोरिडादेखि मेक्सिकोसम्म क्रुज यात्रा गराउँदै घाटगाउँ तपाईँको हातमा थमाउनुभयो ।

उहाँहरु फर्किने बेलामा सुधीरले नै यो कुरा सबैभन्दा पहिले थाहा पायो । मलाई फोनै गरेको थियो । नउठेपछि म्यासेजै गरेर भन्यो, ‘बधाई छ ब्रदर ।’

क्रुज यात्रा सकाएर दिदी, भिनाजु, बुवासहितको टिम कोलोराडो फर्किदा सुधीर र म एयरपोर्ट लिन गएका थियौँ । 

‘कस्तो भयो यात्रा दिदी भिनाजु ?’ घर फर्किएपछि मैले सोधिहालेँ । प्रश्नको चुरो त्यही पुस्तक थियो । घाटगाउँ ।

‘गज्जब भयो नि । तिम्रो पुस्तक नारायणजीले पाउनुभयो । तिमीले सम्झेरै पठाएको भनेपछि उहाँले पढ्छु भन्नु भएको छ । क्रुजमा तिम्रो पुस्तकबारे सानोतिनो समीक्षा सेसन नै चल्यो नि । 
एक जना डाक्टर पनि हुनुहुन्थ्यो, हाम्रो यात्रामा । उहाँले क्रुजमै पढेर भ्याइदिनुभयो । तिमीलाई फिडब्याक पनि दिनु भएको छ ।’

मेरो अनुहारमा मुस्कान चम्कियो । मुखबाट शब्दहरु गायब भए । मात्रै खुशी, खुशी, खुशी ।

सुधा दिदीले फोटोहरु देखाउनुभयो । मैले सम्झेजति फोटो खिचेकी छु है भनेर एयरड्रप गर्नुभयो । 

नारायण दाईलाई हस्तान्तरण गरेको फोटो भिनाजुले पनि पठाउनुभयो । 

मेरो हाँसो र खुशी देखेर सुधीरले जिस्क्याउँदै भन्यो, ‘आज विष्णुलाई भोक लाग्दैन । खाना खानु पर्दैन् । मध्यरात काममा जाँदैछ, झ्याप्प झ्याप्प निन्द्रा पनि लाग्दैन ।’
हाम्रो मुखबाट हाँसोको फोहरा छुट्यो । 

अहिले पनि सम्झिन्छु, साझा सवालको पहिलो कार्यक्रम तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग थियो । उहाँ संविधान नबन्दै स्वर्गीय बन्नुभयो । नयाँ सरकार, नयाँ संविधान निर्माण, शान्ति सम्झौता र त्यसको कार्यान्वयनका विषयमा कार्यक्रमको विषय केन्द्रित थियो । मैले युट्युबमा हेरेको ।

नारायण दाई त्यति ठूलो कार्यक्रमको लक्का जवान प्रस्तोता थिए । प्रस्तुती पो सुपरस्टार लेभलको थियो । अर्कोतिर माइक अगाडि राखेर शुशिल शर्मा सर खडा हुनुहुन्थ्यो । सायद, पहिलो कार्यक्रम, पहिलो प्रस्तुती भएर होला । त्योबेला त्यो खालको कार्यक्रमको मोडल पनि नयाँ भएर होला । 

मैले रेडियोमै सुनेको साझा सवालका केही कार्यक्रम सम्झनामा आइरहन्छन्, गगन थापा र सोनामसँगको छलफल । वाइसीएल र युथफोर्स । लुम्बिनीमा शौचालयको समस्या । र, दैलेखमा सेते दमाई मारिदा आहुती लगायतसँग जातीय विभेदले पराकाष्ठा नाघेको छलफल ।

अन्तिमपटक सुनेको खाडी देशमा एउटा ऊँट हेर्ने गोठाला दाईसँगको छलफल । अनि उहाँकै गाउँ पुगेर त्यो हविगत घर परिवारलाई सुनाएर प्रस्तुत गरेको एउटा बेग्लै कार्यक्रम । 

तपाईँले पहिलो कार्यक्रम चलाउँदा शुशिल सरको ढाड्स पाएजसरी मैले विमल आचार्य दाईको हौसला पाएर लेखेको पुस्तक हो यो । गाउँको केटो सहर छिरेदेखि अमेरिका आइपुग्दासम्मको अनेक उतारचढावसहितको भोगाई छ । कति भोगाई त अहिलेसम्म कसैलाई सुनाएको थिइँन । सोझै पुस्तकमा लेखेँ ।

देशैभरी बज्ने तपाईको साझा सवाल प्रस्तुती सुनेर हुर्किएको म । अनि मजस्ता हजारौँ युवाको मन जितेको तपाईँ । तपाईले देशका अनेकन समस्या र समाधानको बाटो रेडियोमा टक्रक्कै प्रस्तुत गरेजसरी मैले मेरो यात्राका अनेक घुम्ती दुरुस्तै पुस्तकमा लेखेको छु । 

अनि यति सबै लेख्ने जाँगर र दङ्ग भएको क्षणचाँही तपाईँको मेसेज आएपछि हो । 

‘विष्णुजी, पुस्तक पाएँँ, धेरै खुशी लाग्यो, सम्झेर पठाईदिनुभयो । पढेपछि थप कुरा गरौँ है’ तपाईँको यो मेसेज देखेर मलाई विछट्टै खुशी लाग्यो ।

तपाईँका सबै कार्यक्रम मलाई मन परेनन्, केही विषय र वक्ताहरुका कारण । मेरो पुस्तकका सबै च्याप्टर तपाईँलाई मन नपर्न सक्छन्, नारायण दाई । तर पनि तपाईँले पढ्न सुरु गर्नुभयो । मेरा लागि यही ठूलो कुरा लागिरहेको छ ।

संयोगले तपाईँसँगै म पनि अमेरिकामा छु । पक्कै भेटघाट होला । तर काठमाडौँबाट तपाईँले देशैभरी सुनाउने त्यो साझा सवालमा मैले मेरो गाउँघरदेखि अमेरिकासम्मको मेरो सवाल लेख्ने प्रयास गरेको छु । 

प्रयास हो । उत्कृष्ट नहुन सक्छ । तर पनि ग्रहण गरिदिनुभयो । आभारी छु । 

पुस्तक पढेपछि फिडब्याकसहित तपाईँको कुरा सुन्न पाउँछु भन्ने व्यग्र प्रतिक्षामा छु ।

तपाईँप्रति सदैव सम्मान छ । माया छ । सद्भाव छ । आदरणीय भावसहितको प्रेम छ ।


विष्णु विवेक 
घाटगाउँ
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विष्णु विवेक
विष्णु विवेक
थप साहित्य