अध्यक्षमा सुवेदी र महासचिवमा सिटौला विजयी
वरिष्ठ उपाध्यक्षमा तारा अधिकारी र अमेरिका उपाध्यक्षमा शकुन ज्ञवाली निर्वाचित
अमेरिका : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्षमा लालगोपाल सुवेदी विजयी भएका छन् । सन् २०२६–२०२८ नयाँ कार्यकालका लागि ७ देखि ९ जुलाईसम्म भएको अनलाइन चुनावमा अध्यक्ष पदमा अमेरिका निवासी सुवेदी ९३३ मतसहित विजयी भएका हुन् । अध्यक्षका अर्का प्रतिष्पर्धी क्यानडा निवासी सुरेन उप्रेतिले ५५४ मत प्राप्त गरे ।
अनेसास निर्वाचन समितिले शुक्रबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा अमेरिका कोलोराडो निवासी तारा अधिकारी, अमेरिका क्षेत्रीय उपाध्यक्षमा शकुन ज्ञवाली र महासचिवमा कोलोराडोकै राजु सिटौला निर्वाचित भएका छन् । सचिवमा नेपालका ऋषभदेव अधिकारी र कोषाध्यक्षमा अमेरिका निवासी पुष्पा खनाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
यस्तै एसिया क्षेत्रको उपाध्यक्षमा दिनेशराज ज्ञवाली, युरोप क्षेत्रको उपाध्यक्षमा राज श्रेष्ठ र ओसेनिया क्षेत्रको उपाध्यक्षमा डा. प्रकाश पौडेल पनि निर्विरोध निर्वाचित भएका थिए । अफ्रिका क्षेत्रीय उपाध्यक्ष पदमा भने कसैको उम्मेद्वारी नपर्दा रिक्त छ ।
पाँच केन्द्रीय सदस्यहरूमा मिरा कोइराला, महेश्वर पन्त, राजेन्द्र केसी, हरिमाया अधिकारी तथा पारसमणि दंगाल विजयी भएका अनेसास निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत डा.चुडामणि खनालले बताए ।
अध्यक्षसहित चार जना पदाधिकारी र पाँच जना सदस्यका लागि भएको निर्वाचनमा सबैभन्दा कडा प्रतिष्पर्धा वरिष्ठ उपाध्यक्ष पदमा भएको थियो । वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित अधिकारीले ७८४ मत ल्याइन् भने उनका प्रतिस्पर्धी सुदीपभद्र खनालले ७०० मत मात्रै प्राप्त गरे । ८४ मतान्तरले अधिकारी निर्वाचित हुँदा झिनो मतले खनाल पराजित भए ।
अधिकारी यसअघिको कार्यसमितिमा कोषाध्यक्ष थिइन् भने खनाल अमेरिका क्षेत्रको उपाध्यक्ष थिए । यस्तै अमेरिका क्षेत्रीय उपाध्यक्षमा निर्वाचित ज्ञवालीले ९०३ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी गीता बजगाईंले ४५३ मत पाउँदा अग्नि पराजुलीले ७२ मत मात्रै प्राप्त गरे ।
पदाधिकारी चुनावमा महासचिवमा निर्वाचित राजु सिटौलाले सबैभन्दा धेरै १ हजार २ सय २ मत ल्याए । महासचिवमा दोहोरिएका उनले पदाधिकारीमा लोकप्रिय मत पाएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिष्पर्धी सहदेव कोइरालाले भने २७१ मत मात्रै ल्याउन सके ।
अनेसास अनलाइन चुनावमा सबैभन्दा धेरै लोकप्रिय मत केन्द्रीय सदस्यमा निर्वाचित मीरा कोइरालाले ल्याइन् । नयाँ कार्यसमिति चुनावबाट केन्द्रीय सदस्यमा विजयी भएकी उनले एक हजार दुई सय ३ मत पाइन् । केन्द्रीय सदस्यमा कोइरालापछि महासचिवमा निर्वाचित सिटौलाले दोस्रो लोकप्रिय मत पाएका थिए ।
यस्तै विजयी अन्य सदस्यहरुमा महेश्वर पन्तले एक हजार ८९, राजेन्द्र केसीले एक हजार ७, हरिमाया अधिकारीले नौ सय ४४ र डा. पारसमणि दंगालले नौ सय ३० मत पाए । सदस्य पदमा पराजित भएका डा. कृष्ण शाह ‘यात्री’ले आठ सय ३२, नीलकण्ठ सुवेदीले छ सय ४६ र पिपलमणि सिग्देलले छ सय ३४ मत मात्रै ल्याए ।
तीन दिनसम्म भएको अनलाइन भोटिङमा झण्डै पन्ध्र सय जना मात्रै सहभागि भएका थिए । संसारभर अनेसासका तीन हजारभन्दा धेरै आजीवन सदस्य छन् ।
तीन दिनसम्म निकै सुस्त गतिमा भएको अनलाइन भोटिङमा कुल मतदातामध्ये ४८ दशमलव ४२ प्रतिशत सदस्यहरूले मतदान गरेका अनेसास निर्वाचन समितिले जनाएको छ ।
‘कोलोराडो घोषणापत्र’ जारी गर्दै साहित्य सम्मेलन सम्पन्न
विष्णु विवेकको पहिलो पुस्तक ‘घाटगाउँ’ अमेरिकामा विमोचन
अमेरिकाको डालसमा नेजा कन्क्लेभ सम्पन्न
कोलोराडोमा नवौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुँदै