रुस-युक्रेन युद्धमा बिर्सनै नसकिने एउटा उद्धारकको कथा
युद्ध प्रभावितलाई स्लोभाकियामा शान्ति दिने समाजसेवी
उनी व्यवसायी हुन् । व्यापार गर्नु र नाफा कमाउनु उनको पहिलो धर्म हो । अनि यही कर्म र धर्म गरेर उनी पछिल्लो केही दशकयता स्लोभाकियामा छन् । तर कहिलेकाँही यस्ता नसोचिएका घटना मानिसको जीवनमा आउँछन्, जसले मानिसलाई केही माथि उठाएर साच्चिकै समाजसेवी र शान्तिदूत बनाउँछ ।
जयप्रसाद सिवाकोटी त्यही शान्तिदूतको एउटा नाम हो । जसले रुस–युक्रेन युद्धमा व्यवसाय, नाफा, घाटा र व्यापार छाडेर नेपालीको उद्धार गरेर महान जिम्मेवारी पूरा गरे । जुन काम नेपाल सरकारले गर्न सकेन । विदेशमा करोडौँ, अर्बौ कमाएका व्यापारीले गर्नै चाहेनन् । तर जयप्रसादले त्यसैमा मानवीयताको मूल्य बुझे । आफैँले अवसरको ढोका खोले ।
२४ फ्रेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि मिसाइल हमला गरेर युद्ध छेड्यो । मिसाइल लगायत आधुनिक हतियारको बलमा युक्रेन साता दिनमै कब्जा गर्ने रुसी राष्ट्रपति भ्लादमिर पुटिनको योजना थियो । तर युक्रेनलाई अमेरिकी सहायताले रुसको त्यो सपना अझै पूरा हुन सकेको छैन ।
तर रुसी हमलाले दिएको चोट दुवै देशका नागरिकसँगै नेपालीलाई पनि महंगो परिदियो । त्यो चोटले कतिपय नेपाली मरे । तर बाँचेकाहरुलाई मर्नु न बाँच्नु बनायो । रुसी हमलाले तहसनहस भएको युक्रेनमा रहेका नेपाली सुरक्षित आश्रय खोज्दै धमाधम भाग्न थाले । धेरैजसो युक्रेनबाट अष्ट्रिया, रोमानिया, पोल्याण्ड र स्लोभाकियातिर लागे ।
मध्य युरोपको मुटुमा रहेको स्लोभाकिया नेपालजस्तै भूपरिवेष्ठित राष्ट्र हो । जहाँ समुन्द्र छैन । त्यँही वर्षौदेखि व्यवसाय गरेर बसिरहेका सिवाकोटीले आफ्नो मोबाइल बज्न थालेपछि मात्रै युक्रेन युद्धमा तहसनहस भएका नेपालीको अवस्थाबारे थाहा पाए ।
त्यसपछि उनले आफ्नो रेष्टुरेन्टलाई तुरुन्तै आश्रयस्थल बनाउने निर्णय गरे । भनिन्छ, समस्या परेकालाई सानै सहयोग भगवानसरहको ठूलै कृपा रहन्छ । एक जना, दुई जना गर्दै सिवाकोटीको नेपाल रेष्टुरेन्टमा युद्धको चपेटामा रहेका नेपाली भरिन थालेँ । सुरुमा के खाने, कसो गर्ने, कहाँ सुत्ने भन्ने तनावमा रहेका नेपालीहरु सिवाकोटीको साथ, सहयोग र कृपाले शान्त र सुरक्षित महसुस गर्न थाले ।
यसरी रुस–युक्रेन युद्ध सुरु भएको एक हप्तामा स्लोभाकियामा रहेको सिवाकोटीको रेष्टुरेन्ट सबैभन्दा भरपर्दो अस्थायी आश्रयस्थल बन्न पुग्यो । विगतमा संयुक्त राष्ट्र संघ (यूएनओ), अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईएलओ) लगायत संस्थाहरुले यस्तो अवस्थामा द्रुत गतिमा उद्धार तथा राहतको काम गर्छन् भन्ने उनलाई थाहा थियो ।
यही बेला उनले आफ्नो रेष्टुरेन्टमा आश्रय लिएका दर्जनौ नेपालीसहितका युद्धपीडितलाई तत्काल उद्धार, राहत तथा सकूशल आफ्नो देश फिर्ताका लागि आईएलओ लगायत संस्थाहरुमा खबर गरे । त्यसपछि पनि युक्रेनबाट आएका नेपाली लगायत सयौँ जनालाई उनले आश्रय दिए । घर, परिवार र सम्बन्धित दुतावाससँग सम्पर्क गराए । राजधानी ब्रातिस्लाभामा रहेको रेष्टुरेन्टलाई पूर्ण रुपमा बन्द गरेर झण्डै दुई हप्ता उद्धारका लागि आश्रयस्थल बनाए ।
यसरी उनले त्यो बेला गरेको सहयोग, रेष्टुरेन्टलाई आश्रयस्थल बनाउँदा सुविधा पाउने नेपालीको संख्या गन्दा झण्डै ८० जना पुग्यो । अनि आफ्नो सम्पर्कमार्फत आएका नेपालीहरुलाई सही बाटो देखाउने, सम्पर्कसुत्र बनिदिने काम गर्दा झण्डै एक सय जनाभन्दा धेरै नेपाली, बंगाली, पाकिस्तानी, श्रीलंकालीलाई पनि उनले उद्धार गरेका छन् ।

आफ्नो मोबाइलमा फोन बजेसम्म र उद्धार तथा भरोसाका लागि सहयोग मागेसम्म उनले कसैलाई पनि नाईनास्ती गरेनन् । जसकारण त्यसबेला उनको साथ, सहयोग र शान्तिदूतको भूमिका निकै प्रभावकारी बन्यो । जब बिस्तारै संकटमा रहेका नेपाली आफ्नो विकल्प खोज्न थाले । समस्याबाट मुक्त हुन थाले । युद्धको चपेटाबाट बाहिर आउन थालेपछि बल्ल सिवाकोटीले राहतको सास फेरे ।
अनि आश्रयस्थलका लागि बन्द गरेको रेष्टुरेन्ट झण्डै तीन हप्तापछि पुनः सञ्चालनमा ल्याए ।
यसबाट उनले धेरै कुरा सिके । स्लोभाकियामा धेरै नेपाली थिएनन् । भएका जति सबै नेपालीहरु आफ्नै कर्म तथा व्यवसायमा थिए । तर समस्या जति बेला पनि आउन सक्छ । विदेशी भूमिमा आइपर्ने संकटमा को कतिबेला कसरी कसको सारथी बन्नुपर्ने हो भन्ने कुरा एकिन थिएन । यसका लागि कुनै सामाजिक संघ संस्थामा पनि थिएनन् ।
यो घटनापछि उनले एउटा बलियो पाठ सिके । अब गैरआवासीय नेपाली संस्थाका रुपमा स्लोभाकियामा पनि एनआरएनएको बीउ रोप्नुपर्ने भयो । त्यसपछि उनले आफ्ना चिनेजानेका साथीहरुलाई जम्मा गरेर एनआरएनए स्लोभाकिया गठन गरे । त्यसपछि लामो रस्साकस्सी गरेर स्लोभाकियामा औपचारिक रुपमा दर्ता पनि गरे ।
अहिले उनी एनआरएनए स्लोभाकियामार्फत नेपालीहरुलाई साथ, सहयोग र उद्धारको काम गरिरहेका छन् । अफ्ठ्यारो पर्दा उनीसँगै अहिले सिंगो संस्थाका पदाधिकारी पनि उद्धार, राहत तथा सहयोगमा जुट्छन् । यसले विदेशमा रहेका नेपालीमाझ स्लोभाकियाको माटोलाई उनले नेपाल र नेपालीसँग जोडेका छन् । नेपाली उद्धार हृद्यलाई फराकिलो बनाएका छन् ।
र, रुस–युक्रेन जस्तो भयानक युद्धमा पनि शान्तिका प्रतिक गौतमबुद्धको देशका अनुयायी भएर शान्तिदूत भएर काम गरेका छन् । यसले युरोपमा रहेका नेपालीको शीर युद्धमा पनि माथि उठाएका छन् ।
ग्लोबल नेपाली डायस्पोराकी गौरव
स्वीट्जरल्याण्डमा एप्पल इन्जिनियर
स्कटल्याण्डमा नेपाली झण्डा फहराइरहेका काशीराम
युरोपेलीलाई हराउँदै पोल्याण्डका सर्वोत्कृष्ट डाक्टर