ग्लोबल नेपाली डायस्पोराकी गौरव
भियना विश्वविद्यालयमा विदेशीलाई नेपाली पढाउने गुरुआमा
ग्लोबल नेपाली डायस्पोरा विशाल छ । नेपालबाट एसिया, युरोप, अमेरिका, अष्ट्रेलिया हुँदै अफ्रिकासम्म नेपाली फैलिएका छन् । डायस्पोरामा रहेका सबै नेपालीहरुमध्ये डा.अलका आत्रेय चुडाल असाधारण क्षमता र योग्यताले भियना विश्वविद्यालयमा प्राध्यापन गरिरहेकी छन् । उनी ग्लोबल नेपाली डायस्पोराकी गौरव हुन् ।
उनको क्षमता यति असाधारण छ, जसले युरोपको प्रसिद्धमध्येको एक अष्ट्रियाको भियना विश्वविद्यालयमा नेपाली, हिन्दी र संस्कृत भाषाकी विज्ञ प्राध्यापक भएर पढाइरहेकी छन् । त्यसमा पनि युरोप र अमेरिकाबाट पढ्न आउने विदेशी विद्यार्थीलाई नेपालीभाषा, संस्कृति र इतिहास अध्यापन गराउँछिन् ।
उनी केवल पढाइरहेकी मात्रै छैनन् । लेखिरहेकी छन् । अनुसन्धान गरिरहेकी छन् । अनि नेपालको इतिहासदेखि वर्तमान विदेशी विद्यार्थीको दिमागमा रोपिरहेकी छन् । अझ भनौँ, एसियाको एउटा सानो भूगोलमा रहेको नेपालको वास्तविक इतिहास विश्वमञ्चमा स्थापित गरिरहेकी छन् ।
कही कथामा । कही पुस्तकमा । कही ठुल्ठूला कार्यक्रमहरुमा । अनि कही अध्ययन, अनुसन्धान र विज्ञताका मञ्चहरुमा । उनले नेपालको कथा मुख्यगरि भाषा, साहित्य र पुस्तकहरुबाट फैलाइरहेकी छन् ।
डा.अलका कपिलवस्तुको तौलिहवामा जन्मेकी हुन् । शान्तिका प्रतिक गौतमबुद्धले ज्ञान, बुद्धत्व र शान्तिको सन्देश विश्वभर फैलाएको माटोकै सुगन्धले उनमा पनि असाधारण क्षमता सिर्जना भएको हुन सक्छ ।
बाल्यकाल बिताएको भारतको बनारसमा एसएलसीसरह मेट्रिक पास गरिन् । बुवा विष्णु आत्रेयको प्रेरणाले संस्कृति, हिन्दी र नेपाली भाषामा पोख्त भइन् । केवल १७ वर्षमा तीन वटा विषयमा मास्टर्स गर्न सफल भइन् । अनि १८ वर्षमा नेपाल संस्कृति विश्वविद्यालयमा पढाउन थालिन् । उपप्राध्यापकका रुपमा ।
केवल १८ वर्षकै उमेरमा विश्वविद्यालयमा पढाउने कुरा धेरैका लागि असम्भव हो । तर उनका लागि एकदमै सजिलो काम । उनी केवल किताबी ज्ञानमा मात्रै सर्वोत्कृष्ट होइनन् । नेपाल टेलिभिजन र रेडियोमासमेत संस्कृतमा कार्यक्रम चलाउने प्रस्तोता हुन् ।
११ वर्षकै उमेरमा २०४४ सालमा उनले नेपाल टेलिभिजनमा ‘संस्कृतम्’ नामको बाल कार्यक्रम चलाएर धेरैलाई चकित पारिन् । त्यसपछि उनले टेलिभिजनमै नेपाली, हिन्दी र संस्कृतमा समाचार वाचन गरेर अर्को चमत्कारिक काम गरिन् । रेडियोमा भने झण्डै सात वर्षपछि उनले समाचार वाचन गरेकी हुन् । त्यो पनि संस्कृत भाषाको विज्ञ समाचारवाचक भएर ।
त्यो बेला युवा उमेरका केटाकेटी स्कुल र कलेज धाउने बेला उनी ज्ञान, योग्यता र क्षमता प्रदर्शनले नेपालमै बहुआयामिक व्यक्तित्वका रुपमा स्थापित भइसकेकी थिइन् । उनी विश्वविद्यालयमा पढाउँदै रेडियो नेपाल र टेलिभिजनमा कार्यक्रम सञ्चालन तथा समाचार वाचन गरिरहँदा अष्ट्रियाको भियना विश्वविद्यालयमा जोडिने सुन्दर अवसर पाइन् ।

सन् १३५० मा स्थापना भएको भियना विश्वविद्यालयले दक्षिण एसियालाई केन्द्रमा राखेर ‘साउथ एसियन, टिबेटियन एण्ड बुद्धिष्ट स्टडिज’ नामक विभाग खोलेर विषयविज्ञहरुको आवेदन माग्यो । यो झण्डै २० वर्ष अघिको कुरा हो । यो सूचना थाहा पाएपछि डा.अलकाले आवेदन दिइन् ।
उनी ढुकचुक थिइन् । नेपाली, हिन्दी र संस्कृत विषय जान्ने भए पनि उनलाई आफू छनौट भइहाल्ने आत्मविश्वास थिएन् । तर उनको आवदेन स्वीकार्दै विश्वविद्यालयले अन्तर्वार्ताका लागि अष्ट्रिया बोलायो ।
अन्तर्वार्तापछि तीन वटै भाषामा पोख्त प्राध्यापक नपाउने चिन्ता बढेको बेला सञ्चार क्षेत्रमासमेत अब्बल व्यक्ति नियुक्त गर्न पाउँदा विश्वविद्यालयका वरिष्ठ प्राध्यापकहरु हर्षित देखिए । यसले उनको आत्मबल मात्रै बढाएन । नेपाली भाषा, संस्कृति र इतिहासलाई विश्वमञ्चसम्म पुर्याउने ऐतिहासिक जिम्मेवारीसमेत दिलायो ।
त्यसपछि उनले प्रसिद्ध भियना विश्वविद्यालयमा पढाउने जिम्मेवारीसँगै नेपाली भाषा, साहित्य र इतिहासलाई औपचारिक रुपमा विश्वमञ्चमा पुर्याउन सुरु गरिन् । प्राध्यापनसँगसँगै उनले लेखमा पनि हात हालिन् ।
जर्मन भाषामा उनले ‘सहअस्तित्वको खोज’ र ‘राम्रो नेपाली’ गरेर दुई किताब लेखेकी छन् । सहअस्तित्वको खोजलाई उनले अनुवाद गरेकी हुन् । उनकै आफ्नै पहिलो कृति ‘निनाद वल्लरी’ हो । त्यससँगै ‘बाल्यकालसँग लोभिदै बाल्यकाल’ नामक आत्मकथा पनि लेखेकी छन् । यस्तै उनले ‘गोर्खाली युद्धबन्दीका लोकभाका र कथा पनि लेखेकी छन् । जसको अंग्रेजीमा पनि अनुवाद गरेर प्रकाशन गर्ने तयारीमा छन् ।
उनले हान्ना राउवरको ‘नुन र चामल’ पुस्तक पनि अनुवाद गरेकी छन् । राउवरले नेपाल भ्रमण गरेको बेला सुदूर पश्चिम नेपालका भोटे खाम्पाहरुको जीवन र व्यवसाय विषयमा पुस्तक लेखेकी हुन् । राउवरको घर स्वीट्जरल्याण्डमै पुगेर पुस्तकको अनुवाद गरेर डा.अलकाले राउवरलाई नेपालमा पनि चिनाउन सफल भइन् ।
हालै डा.अलकाले साथीहरुसँग मिलेर नेपाली स्वस्थानी कथालाई अंग्रेजीमा अनुवाद गरेर विश्व इतिहासमा नेपाली संस्कृतिको दस्तावेजीकरण गरेकी छन् । उनको यो काम लामो समयसम्म प्रशंसा पाउने कृति हुन सक्छ ।
हालै मात्र डा.अलकाको ‘इला शर्मा ः नारी संघर्षका स्मृतिहरु’ पूस्तक प्रकाशित भएको छ । यो उनी आफैले सम्पादन गरेको पुस्तक हो । केही समयअघि हृद्यघातका कारण निधन भएकी पूर्व निर्वाचन आयुक्त शर्माको जीवन तथा संघर्षका पाटाहरु पूस्तकमा समेटिएका छन् ।
नेपालदेखि युरोपसम्म डा.अलकाले जुन योग्यता र क्षमता प्रमाणित गरेकी छन्, यसले उनको असाधारण क्षमता विश्वमञ्चले समेत गहिराईपुर्वक नियालिरहेको देख्न सकिन्छ । यसकारण पनि उनी ग्लोबल नेपाली डायस्पोराका लागि सँधै गौरव गर्न सकिने ‘ग्लोबल नेपाली एम्बास्डर’ हुन् ।
स्रोत : अनलाइनखबर
रुस-युक्रेन युद्धमा बिर्सनै नसकिने एउटा उद्धारकको कथा
स्वीट्जरल्याण्डमा एप्पल इन्जिनियर
स्कटल्याण्डमा नेपाली झण्डा फहराइरहेका काशीराम
युरोपेलीलाई हराउँदै पोल्याण्डका सर्वोत्कृष्ट डाक्टर