अमेरिकामै उत्कृष्ट नेपाली रेष्टुरेन्ट व्यवसायी
न्युयोर्कको सूचीमा ‘नेपाली भान्छाघर’की मालिक
ढल्किदो उमेर । आधुनिक जीवन । मेशिनजस्तै काम गरिरहनुपर्ने दैनिकी । रहर भनौँ वा बाध्यता । अमेरिकी जीवनमा केही फाइदा छन्, केही बेफाइदा पनि । तर यही फाइदा र बेफाइदाको जीवनभित्र संघर्ष गर्दा कहिलेकाँही सफलताको नयाँ उचाई पनि भेटिन्छ ।
न्युयोर्कमा रेष्टुरेन्ट खोल्नु सजिलो थिएन । तर पनि उनले हिम्मत गरिन् । उनको हिम्मतले कुनै बेला ज्याक्सन हाइटमा संघर्ष गर्नै कठिन थियो । व्यवसाय उकालो लाग्छ कि ओरालो ? ठेगान थिएन । तर पनि उनले आँट गरिन् । हिम्मत जुटाइन् । अनि कुनै हालतमा सफल भईछाड्ने प्रण गरिन् ।
आज झण्डै दश वर्षपछि अमेरिकामा विमला हमाल श्रेष्ठ (यमुना) चर्चित बनेकी छन् । सफल बनेकी छन् । नेपाली माटोले सँधै गर्व गर्न सक्ने व्यवसायी बनेकी छन् । अमेरिकाको न्युयोर्कमा रहेका १०० उत्कृष्ट रेष्टुरेन्टको सूचिमा ‘नेपाली भान्छाघर’ परेको छ । जसको सुरुवात विमलाले सन् २०१५ मा गरेकी थिइन् ।
स्याङ्जा वालिङकी विमला हाल अमेरिकाको न्युयोर्कमा रेस्टुरेन्ट सञ्चालन गरिरहेकी हुन् । यस वर्ष न्युयोर्क टाइम्सको ‘उत्कृष्ट १०० रेस्टुरेन्ट’को सूचिमा विमलाको नेपाली भान्छा घर ६७औँ स्थानमा छ ।
न्युयोर्कको ज्याक्सन हाइटमा नेपाली भान्छाघर भन्नेबित्तिकै अन्तर्राष्ट्रिय समुदायमाझ नेपाली परम्परागत सेलरोटी, कोदो र फापरको ढिँडो, मःम, थुक्पा, चाउमिन लगायत परिकारका कारण लोकप्रिय छ । ८५ प्रतिशत ग्राहक अमेरिकी नागरिक रहेको यो रेस्टुरेन्टले न्यूयोर्कमा हुने मःम प्रतिस्पर्धामा धेरैपटक प्रथम स्थान हासिल गरेको छ।
स्याङ्जामा काठ उद्योग सञ्चालन गरिरहेकी उनी २००८ मा अमेरिका आएकी हुन् । सुरूका सात वर्ष हाउसकिपिङ र चाइल्ड केयरमा काम गरेकी उनले ठूलो आँट बटुलेर रेष्टुरेन्ट व्यवसाय सुरु गरेकी हुन् ।

हाल रेस्टुरेन्टमा १५ जना नेपाली कर्मचारी छन्। यसअघि दुईवटा रेस्टुरेन्ट सञ्चालन गरेकी उनले कोभिड महामारीका कारण अर्को बन्द गर्नु परेको थियो ।
चाँडै नै उनी अर्को रेष्टुरेन्ट सञ्चालन गर्ने तयारीमा छन् । श्रीमान् र छोरा नेपालमै रहँदा उनकी छोरी भने क्यानडामा छिन् । जीवनमा व्यवसाय गर्नका लागि पैँसाभन्दा बढी हिम्मत र आँट चाहिने उनको मन्त्र छ । तर त्यसका लागि स्पष्ट योजना, मेहनत, धैर्यता र आफ्नै क्षमता तथा सीप आवश्यक पर्ने उनको भनाई छ ।
‘कुनै पनि व्यवसाय गर्दा सबैभन्दा पहिले आँट र हिम्मत चाहिन्छ’ उनले न्युयोर्कटाइम्सको १०० रेष्टुरेन्ट सूचिमा परेपछि भनेकी छन्, ‘तपाईँ आफूले सुरु गर्दा म सक्छु भन्न सक्नुहुन्छ भने लगानी जुटाउन पैसा जम्मा गर्न सक्नुहुन्छ र आफ्नो योजनाअनुसार व्यवसाय सुरु गर्न सकिन्छ । मैले पनि सुरुमा ठूलै आँट जुटाएर नेपाली भान्छाघर सुरु गरेकी हुँ ।’
ग्लोबल नेपाली डायस्पोराकी गौरव
रुस-युक्रेन युद्धमा बिर्सनै नसकिने एउटा उद्धारकको कथा
स्वीट्जरल्याण्डमा एप्पल इन्जिनियर
स्कटल्याण्डमा नेपाली झण्डा फहराइरहेका काशीराम