नेभिगेशन
नेपाल अपडेट
सहायता कटौतीको मार

आमा र नवजात शिशुको ज्यान जोखिममा

अमेरिकाले वैदेशिक सहयोग कटौती गरेपछि नेपालमा मातृ तथा बाल स्वास्थ्य कार्यक्रमहरू ठप्प भएका छन्। यसले ग्रामीण क्षेत्रका महिलाहरू र पूर्व सहायताकर्मीहरूलाई गहिरो संकटमा पारेको एसोसिएटेड प्रेसको एक रिपोर्टले उजागर गरेको छ।

ग्रामीण नेपालको एक माटोको घरमा बस्ने युवा आमा कविता मुकिया गर्भवती अवस्थामा अत्यधिक पीडामा थिइन्। तर, उनीसँग न त शिक्षा थियो न त यो आपत्कालीन अवस्था हो भन्ने ज्ञान नै। यसअघि नियमित रूपमा गाउँमा आएर गर्भवती महिलाहरूलाई सहयोग गर्ने सहायताकर्मीहरू अमेरिकी सहायता कटौती भएपछि आउन छाडिसकेका थिए।

अन्ततः उनकी काकीले उनलाई अस्पताल पुर्‍याइन्। तर, धेरै ढिला भइसकेको थियो। अस्पतालका डाक्टरहरूले भनेका कुरा उनीहरूले बुझ्न सकेनन्। अलमलमा परेकी कविताले भगवानसँग बिलौना गरिन्, 'कृपया बच्चा बचाउनुहोस्, मलाई पनि बचाउनुहोस्।' तर डाक्टरहरूले उनको गर्भको बच्चाको मृत्यु भइसकेको र उनको आफ्नै जीवन पनि जोखिममा रहेको सुनाए।

गेट्स फाउन्डेसनले विश्वव्यापी वैदेशिक सहायता कटौतीका कारण सन् २०२५ यस शताब्दीमै बालमृत्यु बढ्ने पहिलो वर्ष हुने चेतावनी दिएको छ। अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग विघटन भएपछि मातृ तथा नवजात शिशु हेरचाह कार्यक्रमहरू ध्वस्त भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकी र अन्य देशहरूको सहायता कटौतीले ६० प्रतिशत महिला संस्थाहरूलाई आफ्नो सेवा घटाउन बाध्य बनाएको छ।

द ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनअनुसार सन् २०३० सम्ममा यो कटौतीले १ करोड ४० लाखभन्दा बढीको ज्यान लिन सक्छ, जसमा ५ वर्ष मुनिका ४५ लाखभन्दा बढी बालबालिका पर्छन्। डब्लूएचओका रजत खोसलाले यो दशकौँको प्रगतिको सत्यानाश भएको बताए। अर्कोतर्फ, अमेरिकी विदेश मन्त्रालयले भने सहायता कार्यक्रमहरू प्रभावकारिता र साझेदारीमा केन्द्रित गरिएको र अमेरिकाले स्वास्थ्य क्षेत्रमा विश्वमै सबैभन्दा बढी खर्च गरिरहेको दाबी गरेको छ।

नेपालमा पोषण र प्रजनन् स्वास्थ्य कार्यक्रमहरू कटौती हुँदा गर्भसम्बन्धी जटिलता र मृत्युदर बढेको छ। केयर नेपालकी देश निर्देशक मोना शेर्पाका अनुसार एक वर्षमा हुने भनिएको आमाहरूको मृत्यु अब ४ देखि ६ महिनामै हुन थालेको छ। रौहतटको देवाही गोनाही नगरपालिकास्थित विरथिङ सेन्टरका अनुसार सहायता कटौतीपछि प्रसूति जाँच गराउन आउने महिलाहरूको संख्या आधा घटेको छ।

प्रेमपुर गोनाही गाउँमा केयरको कार्यक्रम चल्दा सन् २०२४ मा शून्यमा झरेको नवजात शिशुको मृत्युदर, कार्यक्रम बन्द भएलगत्तै डिसेम्बरदेखि मार्च महिनासम्म आइपुग्दा फेरि ५ जना पुगिसकेको छ। तर, तथ्यांक संकलन गर्ने कर्मचारीसमेत बेरोजगार भएपछि कैयौं मृत्युका घटनाहरू ओझेलमा परेका छन्।

यस्तै, पीडा भोगिरहेकी २० वर्षभन्दा कम उमेरकी फुला देवीले पनि अस्पतालमा सी-सेक्सन (सर्जजरी)बारे जानकारी नहुँदा र सुत्केरी हुनुअघि नै जटिलता बढेपछि आफ्नो पहिलो बच्चा गुमाइन्। अस्पतालले मृत घोषित गरेको बच्चालाई उनले देख्न वा काखमा लिन समेत पाइनन्। सहायता कटौतीको मार सेवाग्राहीलाई मात्र होइन, स्वयं सहायताकर्मीहरूलाई पनि परेको छ।

नेपालमा यूएसएडको कोष काटेपछि २ लाख ८० हजारभन्दा बढी सहायताकर्मीहरू बेरोजगार भएका छन्। समाचार एजेन्सी एपीको रिपोर्टमा आधारित

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप नेपाल अपडेट