नेभिगेशन
नेपाल अपडेट

बाढी पीडितका लागि एनआरएनएको ५ करोड सहयोग

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले संघले उक्त निर्णय गरेको हो।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको बृहत् भर्चुअल आपत्कालीन बैठकले रसुवाका बाढीपीडितका लागि तत्काल राहत तथा स्वास्थ्य सेवामा सहयोग गर्ने निर्णय गरेको हो।

बैठकले प्राकृतिक विपत्तिको यस कठिन घडीमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एकताबद्ध भएर मानवीय सहयोगमा जुट्न आह्वानसमेत गरेको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष डा. शर्माले रसुवा क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धारसँगै दीर्घकालीन राहत तथा पुनःस्थापनाका लागि एनआरएनए सक्रिय रूपमा अघि बढ्ने बताए।

उनले भने, ‘विपद्को यस कठिन समयमा विदेशमा रहेका नेपालीहरूको सामूहिक सहयोग र ऐक्यबद्धता आवश्यक छ। एनआरएनए तत्काल राहतका साथै आवश्यकताका आधारमा स्वास्थ्य, पुनःस्थापना तथा अन्य मानवीय सहयोगलाई निरन्तरता दिनेछ।’

चिकित्सक टोली परिचालन गरिने

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तत्काल पुर्‍याउन चिकित्सकको विशेष टोली परिचालन गर्न आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्राकृतिक विपत्तिका समयमा घाइते तथा प्रभावित नागरिकको स्वास्थ्य उपचार अत्यन्त महत्वपूर्ण हुने भएकाले चिकित्सकीय जनशक्ति तथा आवश्यक स्वास्थ्य सामग्रीसहितको टोली परिचालनमा सहयोग गर्ने उनले बताए।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै चिकित्सक टोलीमार्फत प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउने तयारी गरिएको छ।

राहत तथा उद्धारका लागि विभिन्न समिति गठन

राहत तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन बैठकले राहत तथा उद्धार उच्चस्तरीय समिति, आर्थिक संकलन समिति तथा स्वयंसेवक परिचालन समिति लगायतका संरचना गठन गर्ने निर्णय गरेको छ।

राहत तथा उद्धार उच्चस्तरीय समितिको संयोजकमा एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा रहनेछन्। समितिमा बाढी प्रभावित क्षेत्रसँग सम्बन्धित एनआरएनए राष्ट्रिय समितिका अध्यक्षहरू तथा संघका सम्पूर्ण पदाधिकारीहरू सहभागी हुने व्यवस्था गरिएको छ।

उच्चस्तरीय समितिले नेपाल सरकार, स्थानीय प्रशासन, प्रभावित क्षेत्रका सम्बन्धित निकाय तथा एनआरएनएका राष्ट्रिय समितिहरूसँग आवश्यक समन्वय गरी राहतको प्राथमिकता निर्धारण गर्नेछ।

त्यसैगरी, कोषाध्यक्ष कृष्ण तिमल्सीनाको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ।

महासचिव डा. चिरञ्जीवी खड्काको नेतृत्वमा एनआरएनए राष्ट्रिय समन्वय परिषद् (NCC) हरूलाई परिचालन गर्ने तथा उपाध्यक्ष मनोज गोर्खालीको नेतृत्वमा स्वयंसेवक परिचालन र स्थलगत सहयोगका लागि छुट्टै समिति गठन गरिएको छ।

एनआरएनएले भोलि बिहानैदेखि सम्बन्धित सरकारी निकाय तथा स्थानीय सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी राहत, उद्धार तथा सहयोगका लागि स्थलगत रूपमा परिचालित हुने तयारी गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप नेपाल अपडेट