नेभिगेशन
नेपाल अपडेट
देउवाको नयाँ दाउ

नेपालमा धर्मको राजनीतिक पुनरागमन

पछिल्लो एक/डेढ वर्षमा देखिएका नाटकीय घटनाक्रमहरूले परम्परागत नेपाली राजनीतिको स्वरूप नै बदलिदिएको छ। २०८२ भदौमा गएको जेनजी आन्दोलनको आधीबेरीले पुराना राजनीतिक समीकरणहरूलाई भत्काइदियो। सत्ताको केन्द्रमा दशकौंसम्म हालिमुहाली गरेका दिग्गज नेताहरू सडकमा आउन बाध्य भए । स्थापना भएको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शक्तिशाली उपस्थिति जनायो। फलस्वरूप, ३६ वर्षका युवा नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेर सिंहदरबार छिरेका छन्।

राजनीतिको यो नयाँ अध्यायसँगै मुलुकभित्र गम्भीर सामाजिक र सांस्कृतिक तरंगहरू पनि पैदा हुन थालेका छन्। विशेष गरी, मधेश प्रदेशको सुनसरीमा हालै घटेको साम्प्रदायिक झडप र त्यसमा सुरक्षाकर्मीको गोलीबाट चार जना युवाले ज्यान गुमाउनुले नेपालको सामाजिक सद्भावमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ। यसैबीच, नेपाली कांग्रेसभित्रको आन्तरिक खिचातानी र झण्डै ६ महिना विदेशमा बिताएर फर्केका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ‘धार्मिक यू–टर्न’ले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।

गत वर्षको राजनीतिक आँधीबेहरीको सिकार बन्न पुगेको कांग्रेसभित्र पनि ऐतिहासिक फेरबदल भइसकेको छ। पार्टीभित्र विशेष महाधिवेशन आह्वान भएर युवा नेता गगन थापा कांग्रेसको सभापति भइसकेका छन्। यद्यपि, नेताहरूले अझै अदालतको ढोका ढकढकाइरहेका छन्। हाललाई कांग्रेसको आधिकारिक नेतृत्व थापाकै हातमा छ र सानेपाले १५औं महाधिवेशनका कार्यक्रमहरू अगाडि बढाइसकेको छ।

तर, विशेष महाधिवेशनलाई स्वीकार्न नसकेका र पार्टीभित्र ओझेलमा परेका असन्तुष्ट नेता–कार्यकर्ताहरू भने पूर्वसभापति देउवाको नाममा गोलबन्द भएका छन्। लामो समय सिंगापुरमा उपचार र विश्राम गरेर फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो र उनीनिकट समूहले राष्ट्रिय भेलाको आयोजना गर्‍यो। बाहिर हेर्दा यो कांग्रेसभित्रको आन्तरिक विछोड र अस्तित्वको लडाइँ जस्तो देखिए पनि, यो भेलाको समापन सत्रमा जुन घटनाक्रम घट्यो, त्यसले राष्ट्रिय राजनीतिकै बहसलाई मोडिदियो।

त्यो भेलाको समापनका दिनसम्म पार्टीको एउटा २० बुँदे साझा घोषणापत्र तयार पारिएको थियो, जसमा समसामयिक, राजनीतिक र आर्थिक विषयहरू समेटिएका थिए र १६ नम्बर बुँदामा सबै धर्मको सम्मान र स्वतन्त्रताको कुरा सामान्य रूपमा उल्लेख थियो। तर जब मञ्चमा देउवा बोले, माहोल पूर्ण रूपमा बदलियो।

भाषणका क्रममा देउवाले सुरुमा धर्मको विषयमा बोल्ने कुनै योजना नरहेको बताए। तर हलभित्रैबाट कसैले उनलाई एउटा कागजको चिर्कटो थमायो, जसमा सनातन हिन्दू धर्म र पहिचानका बारेमा बोल्न अनुरोध गरिएको थियो। त्यो चिर्कटो समातेलगत्तै देउवाले निकै दृढताका साथ उद्घोष गरे, ‘म हिन्दू हुँ, म हिन्दू हुँ, म हिन्दू हुँ!’

उनले आफूले व्रतबन्ध गरेको, हिन्दू संस्कारअनुसार विवाह गरेको र गुहेश्वरीमा बहिनीको बही पूजा गरेको बताउँदै पशुपतिनाथको दर्शन गर्ने आफ्नो आस्था खुलाए। देउवाको मुखबाट यो शब्द निस्कँदै गर्दा हलमा उपस्थित हजारौं कार्यकर्ताको चर्को हुटिङले सिङ्गो सभाकक्ष गुञ्जायमान भयो।

यसले केवल भाषणको भाव मात्र बदलेन, त्यो सानो चिर्कटोको प्रभावले भेलाको सम्पूर्ण निष्कर्ष नै परिवर्तन गरिदियो। पहिले तयार गरिएको २० बुँदे प्रस्तावलाई एकातिर पन्छाएर नयाँ ५ बुँदे संक्षिप्त प्रस्ताव वाचन गरियो। जसको ३ नम्बर बुँदामा लेखियो— ‘नेपालको सनातनदेखि चली आएको धर्म, संस्कृति हाम्रो राष्ट्रिय पहिचान हो। नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरी सनातन धर्मलाई राष्ट्रको रूपमा अघि बढाइनेछ।’

यो नयाँ मस्यौदा पढ्दा मञ्चमै पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वप्रवक्ता डा. प्रकाशशरण महतबीच कागजात खोसाखोससमेत भयो। निधिले पार्टीको स्थापित ‘धर्मनिरपेक्षता’को एजेन्डालाई यसरी फेर्न नहुने तर्क राखेका थिए भने देउवाको निर्देशनमा अन्ततः सनातन पहिचानको पक्षमा प्रस्ताव पारित गरियो।

कुनै समय खुमबहादुर खड्कादेखि शंकर भण्डारीहरूसँग जोडिएको कांग्रेसभित्रको ‘हिन्दू राज्य’को मुद्दालाई देउवाले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा फेरि ब्युँताउन खोजेका छन्। आफूहरू हिन्दुविरोधी होइनौं भन्ने सन्देश दिन र जनताको धार्मिक मनोभावलाई क्यास गर्न देउवाले यो कार्ड फालेको हुनसक्ने विश्लेषण भैरहेको छ। विशेष गरी, पार्टीको नयाँ नेतृत्व सम्हालेका गगन थापातिर गएको एजेन्डालाई काटेर पुरानो संस्थापन पक्षले फेरि आफ्नो पकड बलियो बनाउन धर्मको सहारा लिएको देखिन्छ।

एकातर्फ देशको कार्यकारी नेतृत्व सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहको जनकपुरदेखि पाथिभरा हुँदै मुक्तिनाथ धार्मिक स्थलहरूको भ्रमण र ज्योतिषीय साइतमा शपथ लिने चलनले नयाँ राजनीतिक धारमा पनि धार्मिकताको प्रभाव देखाइरहेको छ भने अर्कातर्फ आठ दशकको राजनीतिक जीवनमा सत्ताको शिखर भोगेका देउवाले संकटको यो बेला हिन्दु पहिचानको कार्ड फ्याँकेका छन्।

नेपालको कुल जनसंख्याको ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी रहेको यथार्थबीच धर्मको यो राजनीतिक प्रयोग कुनै सैद्धान्तिक वैचारिक क्रान्तिभन्दा पनि विशाल जनसमुदायको सहानुभूति बटुल्ने रणनीतिक दाउ मात्र हो भन्नेहरू पनि कम छैनन्। अदालतको पूर्ण इजलासमा विचाराधीन कांग्रेसको आधिकारिकताको मुद्दा र संसद् तथा सडकमा देखिएका नयाँ शक्तिहरूको दाउपेचबीच यो धार्मिक ‘यू–टर्न’ले आगामी दिनमा नेपालको राजनीतिलाई थप ध्रुवीकृत र जटिल बनाउने निश्चितप्रायः देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप नेपाल अपडेट