नेभिगेशन
१०० नेपाली डायस्पोरा
१०० नेपाली डायस्पोरा

विश्वका ७ म्याराथन पूरा गर्ने नेपाली ‘आइरन लेडी’ 

‘जो कठिन मानिने एभरेष्ट र युरोप अल्ट्रा दौड पनि दौडेकी छन्’

बढ्दो उमेर । तर उस्तै जोश । बुढ्यौली समय । तर युवा चमक । अन्जु सिग्देलका यी शक्तिशाली परिचयमा थपिएका विशेषता हुन् । जो उमेरले आधा शताब्दी पुग्दा पनि दौडिरहेकी छन् ।

प्रतियोगितामा भाग लिइरहेकी छन् । विश्वकै चर्चित म्याराथन दौड पूरा गरिरहेकी छन् । अनि आफैले आफ्नै इतिहास र कथा आफ्नै खुट्टाले लेखिरहेकी छन् ।

अरुका हातले लेखिने इतिहास उनका खुट्टाहरुले बनाएका हुन् । विश्वमै ७ वटा चर्चित र प्रमुख म्याराथन दौड पूरा गर्ने पहिलो नेपाली मूलकी धाविकाका रुपमा उनले नयाँ कीर्तिमान बनाएकी छन् । सबैभन्दा लामो १०० किलोमीटरसम्मको दौड पनि सजिलै दौडिएर पूरा गरेकी उनी अल्ट्रा–म्याराथन धाविका हुन् । 

उनले विश्वका चर्चित लन्डन, बर्लिन, न्यूयोर्क, बोस्टन, सिकागो, टोकियो म्याराथन पूरा गरेकी छन् । यी म्याराथन दौड विश्वचर्चित र कीर्तिमानी छन् । विश्वका सयौँ देशका धावकहरुले यी दौड उच्च प्राथमिकताका साथ दौडिने गरेका छन् । गएको अगष्ट महिनामा उनले अष्ट्रेलियाको सिड्नी दौड पूरा गरेर विश्वका प्रमुख तथा चर्चित ७ म्याराथन दौड पूरा गर्न सफल भएकी हुन् ।

88.-Anju-Sigdel-1763060512.jpg
 

उनले अमेरिका, युरोप र एसियाका बहुचर्चित म्याराथन दौड पूरा गर्ने पहिलो नेपाली मूलकी बेलायती महिला धाविकाका रुपमा कीर्तिमान बनाउन सफल भएकी छन् । म्याराथनबाहेक उनले सगरमाथा र अन्नपूर्ण बेसक्याम्पका अल्ट्रा दौड पनि पूरा गरेकी छन् । त्यसमध्ये ४२ किलोमीटर लामो एभरेष्ट अल्ट्रा म्याराथन दौड विश्वकै चर्चित र चुनौतिपूर्ण प्रतियोगिता मानिन्छ । उनले सहजै यौ दौड पूरा गरेकी छन् ।

लामो समयदेखि बेलायत बस्ने उनी नेपाली मूलकी ब्रिटिस नागरिक हुन् । बेलायतमै ब्रिटिश गोर्खा वेलफेयर ट्रष्टको आयोजनामा भएको १०० किलोमीटर अल्ट्रा दौड र युरोपमा सबैभन्दा कठिन मानिने वेल्सको स्नोडोनिया अल्ट्रा म्याराथन दौड पूरा गरेका कारण उनलाई विश्वकै चर्चित नेपाली मूलकी अल्ट्रा–म्याराथन धाविकाका रुपमा चिन्ने गरिन्छ ।

म्याराथन धाविकासँगै उनले समाजसेवामा पनि फराकिलो परिचय बनाएकी छन् । पछिल्लो समय उनले सुर्खेतमा रहेका वादी समुदायका बालबालिका र चितवनका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री तथा आर्थिक सहयोग गरेकी छन् । कोभिड महामारीपछि आफूलाई नयाँ र साहसी महिलाका रुपमा चिनाउन उनले म्याराथन दौड सुरु गरेकी हुन् । जसमा उनी शतप्रतिशत सफल हुँदै नेपाली डायस्पोरामा ‘आइरन लेडी’को परिचय बनाएकी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप १०० नेपाली डायस्पोरा