भारतमा अर्बौको ‘लेनदेन क्लब’ चलाइरहेका युवा
‘जसले सयौँलाई रोजगारी, लाखौँलाई सेवा र करोडौँ भरोसा दिइरहेका छन्’
उनी विराटनगरमा जन्मे । त्यतै हुर्के । काठमाडौँमा पढ्न खोजे । तर आफूले चाहेको विषय अध्ययन गर्न नपाएपछि भारत पुगे । त्यो पनि भारतीय दूतावासको छात्रवृत्तिमा ।
भारतको एनआईटी कलेज कुरुक्षेत्रमा ‘इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्जिनियरिङ’ विषय पढे । इन्जिनियरिङ विषय पढ्दै जाँदा उनले स्टार्टअपमा हात हालेका थिए । त्यसका लागि सुरुमा उनले केही एप बनाए । तर त्यो सोचेजस्तो अगाडि बढ्न नसकेपछि त्यहाँबाट बाहिरिए ।
त्यसपछि उनले दक्षिण एसियामा व्यापक बनेको सापटी लेनदेनको विषयलाई डिजिटल प्लार्टफर्मबाट अगाडि बढाउने सोच बनाए । अनि खोले, ‘लेनदेन क्लब’ । यो एक मोबाइल र डिजिटल वेबसाइट हो । जसले अनलाइनबाटै सानो सानो ऋण दिलाउन सहयोग गर्छ ।
सन् २०१५ मा दीपेशले खोलेको यो कम्पनी अहिले भारतमा डेढ खर्ब बढीको कारोबार गरिरहेको छ । जसमा ३० लाख जना मात्रै ऋण दिने लगानीकर्ता छन् । अनि ऋण लिने मानिसहरुको संख्या तीन करोड पुगिसकेको छ ।
एक हिसाबले नेपालको जनसंख्याभन्दा बढी भारतीय मानिसले दीपेशको कम्पनीबाट ऋण लिएर आफ्नो आर्थिक संकट समाधान गरेका छन् ।
उनको कम्पनीले १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म अनलाइनबाटै ऋण दिन्छ । त्यसका लागि लेनदेन क्लब डटकममा आफ्नो अकाउन्ट बनाएर ऋणका लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ ।

ऋण पाउनका लागि आवश्यक योग्यता वा कुनै जागिर तथा व्यवसाय छ भने त्यसको सक्कली कागजात पेश गरेमा योग्य भइन्छ । ऋण चुक्ता गर्नका लागि मासिक किस्ताअनुसार व्याजसहित फिर्ता गर्नुपर्छ ।
सानो ऋण बैंकबाट नपाइने र साथीभाइ तथा सहकारीबाट लिनुपर्ने बाध्यता सर्वसाधारणलाई छ । यही समस्या नजिकबाट बुझेका दीपेशले डिजिटल प्लार्टफर्म बनाएर सर्वसाधारणलाई ऋण दिन सहज बनाइरहेका हुन् ।
उनको कम्पनीमा अहिले तीन सय जनाले काम गरिरहेका छन् । तर अप्रत्यक्ष रुपमा चार हजार जना उनको कम्पनीको काम गर्छन् । यसले भारतमा दीपेशलाई चर्चित, सम्मानित र सर्वसाधारणका लागि ‘गड गिफ्टेड’ बनाएको छ ।
यो कामबापत उनको कम्पनीले विजनेश वल्र्ड फेस्टिभल अफ फिन्टेक अवार्ड, बेस्ट फिनटेक अवार्ड लगायत दर्जनौ पुरस्कार तथा सम्मान समेत पाइसकेको छ । उनको यो कम्पनी तथा डिजिटल प्लार्टफर्मले मीटरब्याजी तथा चर्को व्याजदरमा ऋण लिनुपर्ने बाध्यता हटाएको छ भने ऋणदाता एवं ऋणीलाई पनि सुरक्षित बनाएको छ ।
भारतमा बसेर एक नेपाली युवाले बनाएको डिजिटल प्लार्टफर्मले सयौँलाई रोजगारी, लाखौँलाई सेवा र करोडौँलाई भरोसा तथा अर्बौ रुपैयाँको कारोबार गर्नुले दीपेशको चर्चा अन्तर्राष्ट्रिय क्षेत्रमा दिनानुदिन बढिरहेको छ ।
स्रोत : अनलाइनखबर
अमेरिकामा आफैले बनाएको अचारले व्यवसायी
पासाङको प्रतिभाशाली परिचय
विश्वका ७ म्याराथन पूरा गर्ने नेपाली ‘आइरन लेडी’
टर्कीमा सम्मानित उत्कृष्ट नेपाली डाक्टर