नेभिगेशन
१०० नेपाली डायस्पोरा
१०० नेपाली डायस्पोरा

अमेरिकामा आफैले बनाएको अचारले व्यवसायी

छोराले सुरु गरेको बिक्रीमा फस्टाएको ‘मम्स अचार’

उनले मिठो खाना पकाउँथिन् । त्यो खाना सबैभन्दा बढी मन पराउने उनैको छोरा थियो । अनि आमाले खानासँगै अचार पनि बनाउँथिन् । त्यो अचार पनि सबैभन्दा बढी मन पराउने छोरा नै थियो ।

एक दिन छोराले आमालाई भन्यो, ‘म तपाँईले बनाएको अचार ठूलो कम्पनी खोलेर अमेरिकाभरी बिक्री गर्छु ।’ आमाले सुरुमा पत्याइनन् । तर छोराले कम्पनीले नै खोलेर ‘मम’स अचार’ बेच्न थाल्यो ।

आफ्नै आमाले बनाएको अचार मिठो र रसिलो पनि । खायो कि जिब्रो रसाउने । एकपटक खाएर मात्रै नपुग्ने । यतिको शक्तिशाली अचार सबैको आमाले बनाउँदैनन् भन्ने थाहा पाएको छोराले जब बिक्री गर्न थाल्यो । मान्छेहरुले धमाधम मन पराउन थाले ।

यसले छोरालाई व्यवसायी बनायो । आमालाई खुशी र सन्तुष्टि । अब बाहिर काम गर्न जानु परेन । घरमै आमाले अचार बनाउने । छोराले बजारमा बेच्ने । आमा छोराको यही कर्म र विश्वासले जन्मिएको हो, ‘मम्स अचार ।’ अर्थात आमाको अचार । 

यो अचार अहिले अमेरिकाभरी पाइन्छ । भर्जिनिया राज्यबाट सुरु भएको यो अचारको उत्पादन अहिले लगभग सबै राज्यमा पुगिरहेको छ । अनि धेरै नेपाली, भारतीय र अन्य मूलका मानिसहरुले पनि अमेरिकाभरी मिठो मानी मानि अचार खाइरहेका छन् ।

अचार बनाउने आमाको नाम हो, बिमला ठाकुर । अनि छोराको नाम हो, विधान ठाकुर । आमाको मिठो अचारमा छोराले व्यवसाय देख्यो । अनि सुरु गरेको व्यवसायले अमेरिकाभर नेपाली तथा भारतीय स्टोर तथा भान्छाहरुमा अधिपत्य जमायो । 

85.-Bimala-Thakur-1771467717.jpg
तर अपशोच भनौँ, आमाले बनाएको अचार अमेरिकासँगै संसारभर बिक्री गर्ने छोराको अचानक मृत्यु भयो । जुन पीडाले आमा बिमलालाई असाध्यै दुखायो । छोराले गर्दा आमा पनि व्यापारी बनिन् । तर आफूलाई व्यवसायी बनाउने छोरा नरहेपछि उनले एउटा निर्णय गरिन्, ‘अब यो संसारमा नरहेको छोराको फोटो छातीमै टाँसेर संसारभर चिनाउँछु ।’ 

अनि उनले सुरु गरिन्, छोराको फोटोअंकित टीसर्ट छपाउन र लगाउन । उनी अहिले जहाँ पुग्छिन्, छोरा विधानको फोटो भएको टीसर्ट लगाउँछिन् । अनि छोराकै कारण आफू व्यवसायी बनेको भन्छिन् ।

सन् २०२१ मा छोराको असामयिक निधन भएपछि उनी धेरै समय भावविह्वल भइन् । तर जति नै रोएपनि पीडा कम नभएपछि त्यही आँशुको शक्ति बोकेर उनले छोराले सुरु गरेको व्यवसाय अघि बढाउने निर्णय गरेकी हुन् ।

आज उनले बनाएको अचार अमेरिकाभरका नेपाली तथा भारतीय स्टोरमा पाइन्छ । अनि दुकान डटकम लगायत डिजिटल प्लार्टफर्ममा पनि पाइन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप १०० नेपाली डायस्पोरा