युरोपेलीलाई हराउँदै पोल्याण्डका सर्वोत्कृष्ट डाक्टर
जसले पोल्याण्डमा ‘द सर्जन अफ द इयर’ उपाधि जिते
डा.बोधराज सुवेदी पोल्याण्डमा उत्कृष्ट डाक्टरको उपाधि जित्न सफल भएका छन् । यो उनको व्यक्तिगत कौशल, अब्बल क्षमता र बिरामीहरुको उपचार गर्ने शैलीले प्राप्त गरेको पुरस्कार हो । जसले युरोपमा नेपाली चिकित्सकको गरिमा नयाँ उचाईमा पुर्याएको छ ।
पोल्याण्डको राजधानी वारसास्थित प्रसिद्ध समाचार संस्था पोलास्का न्युजले गरेको अनलाइन भोटिङमा नेपाली मूलका डा.सुवेदीले पोल्याण्डकै रैथाने डाक्टर राफेल ग्रोस्कीलाई हराउँदै प्रान्तीय रुपमा उत्कृष्ट डाक्टर बन्न सफल भए ।
अनलाइन भोटिङमा डा.सुवेदीले दुई हजार दुई सय ९३ मत ल्याउँदा उनीसँग हारेका ग्रोस्कीले एक हजार पाँच सय ८६ मत मात्रै ल्याए । प्रान्तीय विजेता बनेपछि उनले पोल्याण्डभरीका उत्कृष्ट डाक्टरहरुको प्रतिष्पर्धामा होमिए ।

सुरुमा उनले माजोभीयच्की प्रान्तमा यो उपाधि हासिल गरेका हुन् । सर्वोत्कृष्ट हुनका लागि अन्य १६ वटा प्रान्तका उत्कृष्ट डाक्टरसँग प्रतिष्पर्धा गर्दा सबैभन्दा धेरै मत ल्याएर सन् २०२५ मा पोल्याण्डभरीकै ‘द सर्जन अफ द इयर’ अर्थात सर्वोत्कृष्ट डाक्टर बन्न सफल भएका हुन् ।
अस्पतालका बिरामी, लिडरशिप, उपचार गर्दा उनले अपनाएको शैली र त्यसले बिरामीलाई पारेको उत्कृष्ट प्रभावका विषयमा आयोजक संस्थाले गरेको विशेष सर्वेक्षण तथा गोप्य भोटिङमा उनी सर्वाधिक मत ल्याएर विजयी बनेका हुन् ।
तनहुँको भिमादमा जन्मिएका डा.सुवेदी सन् १९८९ मा जनरल मेडिसिन अध्ययन गर्न पोल्याण्ड पुगेका थिए । लामो समय अध्ययन तथा सेवा गरेपछि उनी पोल्याण्डमा नेपालीहरुलाई आवश्यक सहयोग, सेवा र सहजीकरण गरेर लोकप्रिय बनेका थिए ।
जसकारण उनी एनआरएनए पोल्याण्डका संस्थापक अध्यक्षसमेत बने । यसले उनलाई पोल्याण्ड र नेपाली नागरिकमाझ थप परिचित बनायो । सन् २०२२ देखि पोल्याण्डका लागि नेपाली अवैतानिक वाणिज्यदूत रहेका उनी हाल पोलिस–नेपाल फाण्डेसनका अध्यक्षसमेत हुन् ।

पोल्याण्डको राजधानी वारसा नजिकै रहेको युरोपियन हेल्थ सेन्टरमा कार्यरत डा.सवेदी सर्जिकला एङ्कोलोजी अन्तर्गत स्तन र थाइराइड क्यान्सरका नामी डाक्टर हुन् ।
उनकै शब्दमा बाहिरबाट आएर पोल्याण्डमा अध्ययन तथा सेवा गरेर देशकै सर्वोत्कृष्ट डाक्टर बन्ने उनी पहिलो व्यक्ति हुन् । यसअघि यो उपाधि पोल्याण्डमै जन्मिएका डाक्टरले मात्रै जित्दै आएका थिए । झण्डै साढे तीन दशकअघि पोल्याण्ड पुगेका उनी नेपाली मूलका पोलिस नागरिक हुन् ।
ग्लोबल नेपाली डायस्पोराकी गौरव
रुस-युक्रेन युद्धमा बिर्सनै नसकिने एउटा उद्धारकको कथा
स्वीट्जरल्याण्डमा एप्पल इन्जिनियर
स्कटल्याण्डमा नेपाली झण्डा फहराइरहेका काशीराम