लन्डन म्याराथनमा गुन्यू चोलीमा दौडिएर विश्व रेकर्ड
लन्डन । ४६ औं लन्डन म्याराथन नयाँ रेकर्ड कायम गर्दै आइतबार सम्पन्न भएको छ । विश्वको सबैभन्दा प्रतिष्ठित र समावेशी खेलकुद इभेन्टमध्ये एक लन्डन म्याराथनमा यस वर्ष ५९ हजार बढी धावकले २६.२ माइल (४२.२ किमी) लामो दौड पूरा गरे ।
गत वर्ष लन्डन म्याराथनमा कुल ५६,६४० ले दौड पूरा गर्दा गिनिज वर्ल्ड (विश्व रेकर्ड) कायम भएको थियो । यसपटक धावक संख्या झन् बढी रह्यो ।
साउथ इष्ट लन्डनको ब्ल्याकहिथ र ग्रीनवीचबाट सुरु भएको म्याराथन बकिङ्घम प्यालेस र हर्स गाड्रस रोड नजिकै सेन्ट जेम्स पार्क आएर समापन भएको थियो ।
यसपटकको म्याराथनमा नेपालीहरुले समेत उत्साहजनक सहभागिता जनाएका छन् । नेपाल रन यूकेले आफ्नो संस्था आवद्ध विश्वका १२ देशका नेपाली र बेलायतमै रहेका सदस्यहरु गरि ५८ जनाले दौडिएको सो संस्थाका संस्थापक सन्तोष राईले जनाए ।
राईले संस्थागत र व्यक्तिगत रुपमा दौडिएका समेत गरि झण्डै एकसय २० जनाले सहभागिता जनाएको पनि बताए ।
अमेरिका, अष्ट्रेलिया, जर्मनी, सर्बिया, नेपाल, अष्ट्रिया, सिंगापुर, बेल्जियम, यूएई लगायत देशमा बस्ने नेपाली समेत लन्डन म्याराथनमा भाग लिन आएका थिए ।
अन्जुले गुन्यू चोली लगाएर बनाइन् विश्व रेकर्ड
बेलायतको नेपाली समुदायमा आफ्नो दौडका सहयात्रीबीच ‘आइरन लेडी’ उपनामले चिनिने तेजमाया रेग्मी सिग्देल (अन्जु) ले लन्डन म्याराथनमा मौलिक नेपाली पहिरन गुन्यू चोलीमा दौडिएर गिनिज वर्ल्ड रेकर्ड कायम गरेकी छन् ।
एबोट वर्ल्ड च्याम्पियनसीपले आयोजना गर्ने विश्वका ठूला म्याराथन लन्डन, बर्लिन, बोष्टन, न्यूयोर्क, सिकागो, टोकियो र सिड्नी पार गरिसकेकी अन्जुले यसपटक केही नयाँ र च्यालेन्ज हुने गुन्यू चोलीमा दौडिन आंट गरेको बताइन् । लन्डन म्याराथनमा उनको सहभागिता सातौंपटक हो ।
‘यस्तो पहिरनमा दौड्दा अलिक असहज भएपनि दर्शकहरुले ‘ओहो नेपाली, कस्तो अमेजिङ आउटफिट’ भन्दा दूरी पार गरेको थाहै भएन’, उनले सुनाइन् ।
Source : OnlineKhabar
ग्लोबल नेपाली डायस्पोराकी गौरव
रुस-युक्रेन युद्धमा बिर्सनै नसकिने एउटा उद्धारकको कथा
नेपालीको सपनाको गन्तव्यबाट धुमिल बन्यो युरोप
‘संसारभर एकै दिन नेपाल डे परेड गर्दा झनै राम्रो हुन्थ्यो’