नेभिगेशन
युरोप
युरोपको युद्ध

स्पेनमा कोठा पाउनै गाह्रो छ, काम त झन्...

(पत्रकार सञ्जीव बगालेले लेखेको यो स्टोरी सेतोपाटीबाट लिएका हौँ  :- सम्पादक )

 

चितवनका वसन्त शर्मा स्पेन पुगेको दुई महिना भयो। त्यसअघि उनी रोमानियामा थिए।

रोमानियामा १४ महिना बसेका उनले त्यहाँ कुखुराको मासु काट्ने र प्याकिङ गर्ने काम गरेका थिए। काम गर्दागर्दै स्पेनतिर भागे।

उनका अनुसार रोमानियाबाट धेरै नेपाली युवाहरू स्पेन पुग्छन्। त्यहाँको नगरपालिकामा दर्ता भएपछि दुई वर्षमा अस्थायी बसोबास कार्ड प्राप्त हुन्छ। त्यही आशले रोमानिया, क्रोएसिया, बुलगेरिया लगायतका देशबाट नेपालीहरू स्पेन जान्छन्।

'धेरैको चाहना रोमानिया पुगेर अर्को देशमा जाने नै हुन्छ। म पोर्चुगल जाने योजनामा रोमानिया गएको थिएँ तर पोर्चुगल बन्द भए पछि यता स्पेन आएँ,' वसन्तले सेतोपाटीसँग भने, 'काम गर्ने ठाउँमा बिदा मागेर पार लाग्दैन। काम छोडेर आफ्नै सुरले भाग्ने हो।'

स्पेनमा पनि सजिलो छैन। अस्थायी बसोबासको कार्ड नपाउँदासम्म वैधानिक ढंगले काम गर्न पाइँदैन। दुई वर्षसम्म घुम्ने र स्थानीय भाषा सिक्ने मात्रै हो। स्पेनमा वसन्तका एक जना आफन्त छन्। तिनकै आश्रयमा बसेका छन्।

'यहाँ मेरा आफन्त भएकाले बस्न समस्या छैन। काम पनि फाट्टफुट्ट पाउँदै छु। दुई वर्ष भएपछि कार्ड पाइन्छ। बल्ल सबै बाटो खुल्छ,' उनले भने।

स्पेनका प्रत्येक चोकमा नेपाली युवाहरू भेटिने स्थिति रहेको उनको भनाइ छ। डेराका लागि कोठा पाउन पनि कठिन छ। काम पाउन झन् कठिन।

स्पेनमा अस्थायी बसोवासको कार्ड पाउन दुई वर्षको 'कुलिङ पिरियड' मा रहेका व्यक्तिले काम पाउन कठिन हुन्छ। काम पाएको छ भने गरे हुन्छ तर काम दिने कम्पनीलाई सरकारले जरिवाना गर्छ। जरिवानामा पर्ने डरले कम्पनीहरू काम दिँदैनन्।

एक पटकका लागि कामदारमाथि कारबाही हुँदैन। त्यसभन्दा बढी भए कामदारलाई प्रहरीले पक्राउ गर्न सक्छ। पक्राउ परेको अवस्थामा कानुनी सहायता आवश्यक पर्छ।

वसन्त हाल स्पेनको अलबिर भन्ने ठाउँमा छन्। रोमानियामा रहेका नेपाली युवाहरू स्पेन पस्ने उपायबारे उनीसँग जिज्ञासा राख्छन्।

'हरेक दिनजसो चार–पाँच जनाले फोन गरेका हुन्छन्। केही बेरअघि पनि एक जना भाइले फोन गरेर चार–पाँच महिनापछि आउँछु, कोठा खोजिदिनुहोस् है भने,' उनले भने।

रोमानिया गएका धेरै विदेशी युवा अर्को देशमा जाने भएकाले त्यहाँ कामदारको खाँचो भइरहन्छ। वसन्त पनि काम पक्का गरेरै रोमानिया गएका थिए।

रोमानिया जानुअघि उनी युएईको दुबईमा थिए। कोभिड फैलिएको समयमा नेपाल आए। करिब १६ महिना बसेपछि दुबई फर्किनुको साटो रोमानिया गए।

रोमानिया जान उनले एजेन्टलाई साढे ६ लाख रूपैयाँ बुझाए। त्यसबाहेक ५० हजार रूपैयाँ खर्च भयो। त्यहाँ औसत कमाइ थियो, मासिक नेपाली रूपैयाँ एक लाख हाराहारीमा पारिश्रमिक हुन्थ्यो। उनका अनुसार नेपाली कामदारले पाउने बढीमा साढे एक लाख रूपैयाँसम्म हो।

बस्ने व्यवस्था कम्पनीले नै गरिदिने भएकाले मितव्ययी व्यक्तिले नेपाली रूपैयाँ २० हजारले महिनाभरिको खर्च टर्न सक्छ। यस हिसाबले वसन्त ८० हजार रूपैयाँ बचत गर्थे।

'रोमानियामा काम नपाउने समस्या छैन। नेपालमा एजेन्टले भनेअनुसार नभई अर्कै गर्नुपर्ने हुन सक्छ। दिनमा १२–१३ घण्टा काम गर्नुपर्ने हुन्छ,' उनले भने, 'नेपालमा भनेकाले मात्र हुँदैन। यहाँको कामदार आपूर्तिकर्ताले जहाँ लैजान्छ त्यही काम गर्ने बाध्यता हुन्छ।'

होटलको कुक भनेर आएको व्यक्ति भवन निर्माणको काममा जानुपरेको उनले देखे। केही नेपाली कडा श्रम गर्न नसकेर स्वदेश फर्केको पनि देखे।

नेपाल छाड्नुअघि एजेन्टले भनेकै काम पाइन्छ कि पाइँदैन भन्ने राम्ररी बुझ्न उनको सुझाब छ। सामाजिक सञ्जालमा देखिने आकर्षक विज्ञापनको भर नपर्न पनि उनी सुझाउँछन्।

'सबै कुरा राम्ररी नबुझी सामाजिक सञ्जालका विज्ञापनका भरमा आएर धेरैले समस्या भोग्नुपरेको छ। विदेश जाने चाहना भएपछि कसैले रोक्न सक्दैन,' वसन्तले भने, 'तर ठगिनबाट जोगिनुपर्छ। काम, पारिश्रमिक र कम्पनीको अवस्थाबारे सबै कुरा राम्ररी बुझ्नुपर्छ।'

एजेन्टले भने अनुसारको काम नपाएका कारण नेपालीहरूले रोमानिया छाड्ने गर्छन्। रोमानियामा अस्थायी बसोवास कार्ड पाउन पाँच वर्ष बस्नुपर्छ, त्यसअघि काम गरेर कमाउन पनि पाइन्छ।

स्पेनमा दुई वर्षमै अस्थायी बसोवास कार्ड पाइन्छ तर त्यो अवधिमा काम पाइँदैन। कार्ड पाउनसाथ आफ्ना श्रीमती वा श्रीमान र छोराछोरी पनि लैजान पाइन्छ। यही लोभले नेपाली कामदारहरू स्पेन पुग्न हतार गर्छन्।

'रोमानिया पुगेपछि स्पेन जाने हतार गर्नु उचित हुँदैन,' वसन्तले भने, 'जेजस्तो भए पनि रोमानियामा काम पाइन्छ, थोरै भए पनि कमाइ हुन्छ। स्पेनमा कामको टुंगो हुँदैन।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप युरोप