कता हिड्दैछ अनेसास ?
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) संसारभर छरिएका नेपालीहरूको सबैभन्दा ठूलो र एउटा महत्वपूर्ण साझा चौतारी हो। डायस्पोरामा नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थापना भएको यस संस्थाको यतिबेला अमेरिकाको कोलोराडो (डेन्भर) मा तीन दिने सम्मेलन चलिरहेको छ।
अमेरिकाभरका साहित्यप्रेमीहरू यो सिर्जनशील उत्सवमा भेला भएका छन्। स्थापनाकालदेखिकै सदस्य हुनुको नाताले यो गरिमामय कार्यक्रमका लागि मलाई पनि निमन्त्रणा थियो, तर केही व्यावहारिक कारणवश म भौतिक रूपमा उपस्थित हुन सकिनँ।
अनेसासबारे चर्चा गर्दा यसको एउटा सुन्दर र सबल पक्षलाई बिर्सन मिल्दैन। गैरआवासीय नेपालीका अन्य संघ-संस्थाहरूको तुलनामा अनेसास दलीय राजनीति र एजेन्डाहरूबाट निकै टाढा छ। यहाँ अरू संस्था जस्तो तीव्र मनमुटाव र नीतिगत झैझगडा विरलै देखिन्छ।
पद र प्रतिष्ठाका लागि हुने सानातिना विवादहरूलाई सामान्य मान्ने हो भने, यो संस्था साहित्यप्रेमीहरूलाई एउटै मालामा गाँस्न सफल भएको छ। आफ्ना सदस्यहरूलाई विश्वभ्रमण गराउने र सिर्जनात्मक मञ्च दिने मामिलामा अनेसासको भूमिका लोभलाग्दो छ।
तर, समय सधैं एकनास रहँदैन। संस्थाको यो चमक-धमकभित्र केही गम्भीर र डरलाग्दा चुनौतीहरू पनि लुकेका छन्, जसमाथि अहिले नै मन्थन नगर्ने हो भने आगामी २० वर्षपछि अनेसासको भविष्य निकै धमिलो देखिन्छ।
प्रविधिको आँधी र 'जेन्जी' पुस्ताको शून्यताः
कुनै समय इन्टरनेट र सामाजिक सञ्जालको विकास भइसकेको थिएन। त्यतिबेला शिक्षित र चेतनशील नेपालीहरूका लागि साहित्य पढ्नु र लेख्नु नै सबैभन्दा ठूलो रुचि (हबी) हुन्थ्यो। खेलकुद वा अन्य सिर्जनात्मक क्षेत्रको तुलनामा युवाहरूको ठूलो हिस्सा साहित्यतर्फ आकर्षित थियो।
तर आज समय बदलिएको छ। डिजिटल प्रविधि, सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को लहरले नयाँ पुस्ताको मनोरञ्जन र सिर्जनाको परिभाषा नै बदलिदिएको छ। परिणामस्वरूप, नयाँ पुस्ता (Gen Z) साहित्यबाट निकै टाढा छ। आज अनेसासका सम्मेलनहरूमा पुग्दा १० वर्षअघि जे-जस्ता अनुहारहरू देखिन्थे, आज पनि तिनै मानिसहरू मात्र भेटिन्छन्। नयाँ पुस्ताको यो शून्यताले संस्था क्रमशः बुढौलीतर्फ ढल्किँदै गएको संकेत गर्छ।

अर्कोतिर, पहिले आफ्ना रचना सुनाउन गोष्ठी, सम्मेलन वा पत्रपत्रिकाको भर पर्नुपर्थ्यो। आज सामाजिक सञ्जालकै कारण आफ्ना सिर्जना क्षणभरमै भाइरल बनाउन सकिने सहजता छ। जब घरमै बसेर संसारभर आफ्ना पाठकमाझ पुग्न सकिन्छ भने, साहित्य सुन्न र सुनाउनकै लागि महँगो भ्रमण गरेर सम्मेलनमै गइरहनुपर्ने बाध्यता नयाँ पुस्ताले देख्दैन।
यही कारण हिजोको जस्तो आकर्षण आजका सम्मेलनहरूमा भेटिँदैन। वर्तमान नेतृत्वले डिजिटल नेटवर्किङ र AI को प्रयोगबारे आफ्ना सदस्यहरूलाई तालिम दिने र सँगै लैजाने कुरामा ध्यान दिन सकेको छैन। परम्परागत गोष्ठीमै अल्झिरहँदा नयाँ पुस्ता यसबाट झन् टाढिँदै गएको छ।
पैसाले किनेको 'साहित्यकार' र पहिचानको संकटः
अनेसासको सबैभन्दा आलोच्य र विकृत पक्ष भनेको पुरस्कार र सम्मानको आन्तरिक मिलेमतो हो। सामाजिक सञ्जालमा आफूलाई 'महान् साहित्यकार' देखाउन एक-अर्कालाई पुरस्कार बाँड्ने, सम्मानपत्र साटासाट र आत्मरतिमा रमाउने प्रवृत्ति यहाँ व्याप्त छ।
यसभन्दा पनि विडम्बनापूर्ण कुरा त के छ भने, अमेरिका वा युरोपमा बस्ने केही रैथानेहरू नेपालका वास्तविक लेखकहरूलाई पैसा तिरेर आफ्नो नाममा कथा, कविता वा उपन्यास लेख्न लगाउँछन्। अनि वर्षमा एकपटक नेपाल ओर्लेर तामझामका साथ पुस्तक विमोचन गर्छन्, खादा-माला लगाउँछन् र मिडियामा अन्तर्वार्ता दिएर विदेश फर्किन्छन्। यस्तो नक्कली सान देखाउन सामाजिक सञ्जालमा ढोल पिट्नेहरूको जमात सानो छैन, र दुःखको कुरा, बाँकी सदस्यहरू यस विषयमा मौन छन्।
साहित्य भनेको आफ्नो आत्माको सिर्जना हो, अरूबाट उधारो वा ज्यालामा लेखाइने वस्तु होइन। कसैले तपाईंको जीवनी वा आत्मकथा लेखिदिन सक्छ, तर तपाईंको साहित्यिक कृति तपाईंको आफ्नै हुनुपर्छ। पैसाको बलमा 'साहित्यकार' बन्ने यस्तो वाहियात खेल खेल्नेहरूलाई नेपाली साहित्यको इतिहासले कहिल्यै सम्मान गर्ने छैन, बरु घृणा गर्नेछ।

वास्तवमा, यो प्रवृत्तिको चुरो 'अस्तित्वको संकट' (Identity Crisis) सँग जोडिएको छ। नेपालमा राम्रो करियर र नाम छोडेर विदेशिएका कतिपय मानिसहरूले यहाँ सोचेजस्तो सामाजिक प्रतिष्ठा पाउन सकेका छैनन्। आफ्नो वास्तविक काम वा पहिचानलाई लुकाउन उनीहरूले साहित्यलाई एउटा सुरक्षित ओत बनाएका छन्। बालुवामा टाउको लुकाउने सुतुरमुर्ग जस्तै, पहिचानविहीन बनेकाहरू अनेसास र यसका शाखाहरूमा ओत लागेर अध्यक्ष, सचिव वा संयोजक बन्न मरिहत्ते गर्छन्।
देश आएपछि आफ्नो पेशागत करियरमा ध्यान दिँदै साहित्यलाई रुचिका रूपमा अघि बढाउनु स्वागतयोग्य कुरा हो। तर, आफूलाई २४ सै घण्टा 'पूर्णकालीन साहित्यकार' जस्तो प्रस्तुत गर्नु कतिसम्म न्यायसंगत होला? आजको मितिमा नेपालमै त लेखनवृत्तिबाटै मात्र जीविकोपार्जन गर्ने लेखकहरू औंलामा गन्न सकिने अवस्थामा छन् भने विदेशमा पूर्णकालीन नेपाली लेखक कति होलान्?
पुस्तक कि 'पुस्तिका'? गुणस्तरको प्रश्नः
हाम्रो साहित्यको अर्को तितो यथार्थ यसको गुणस्तर र स्वरूप पनि हो। केही पुराना र स्थापित लेखकहरूलाई छाडिदिने हो भने डायस्पोराको धेरैजसो साहित्य अन्तर्राष्ट्रिय स्तरको छैन। नेपाली साहित्यका पुस्तकहरूको चाङ हेर्ने हो भने ती यति पातला र साना छन् कि तिनलाई 'पुस्तक' भन्नुभन्दा 'पुस्तिका' भन्नु उचित हुन्छ। लेखकहरू पुस्तकलाई पूर्णता नै नदिई हतार-हतार सानातिना छेस्का बजारमा ल्याउँछन्, जसमा न त साहित्यिक ओज हुन्छ, न त अन्तर्राष्ट्रिय स्तरको आकार नै।
नेपालमा ढिलै भए पनि व्यावसायिक प्रकाशन गृहहरूले पुस्तक छाप्ने सकारात्मक सुरुवात त गरेका छन्, तर बहुसंख्यक डायस्पोराका लेखकहरू अझै पनि आफ्नै खर्चमा पुस्तक छाप्छन्। गुणस्तर र आकार दुवै दृष्टिकोणले ती पुस्तकहरू हेर्दा कहिलेकाहीँ त लाजमर्दो अवस्था सृजना हुन्छ।
अतः अनेसास एउटा ऐतिहासिक संस्था हो, तर यसले आफ्नो गरिमा बचाइराख्न आत्मसमीक्षा गर्नैपर्छ। कोलोराडोमा भइरहेको यो सम्मेलन केवल परम्परा धान्ने र खादा-माला साटासाट गर्ने थलो मात्र नबनोस्।
आशा गरौं, यो सम्मेलनले यी गम्भीर र संवेदनशील पाटाहरूमाथि निर्मम छलफल गर्नेछ। अनि आउँदै गरेको 'डेन्भर घोषणापत्र' ले नेपाली डायस्पोराको साहित्यलाई केवल संख्यामा मात्र होइन, गुणस्तर र प्रविधिमैत्री आधुनिक दिशामा डोर्याउन ठोस मार्गचित्र कोर्नेछ।
[लेखकको सामाजिक सञ्जाल फेसबुकबाट साभार]
गैरआवासीय नेपाली नागरिकता खारेज गरौं, किन ?
नारायण श्रेष्ठलाई पुस्तक पत्र
अमेरिकाको भेगास भिजिट
"नेपाली डायस्पोराका १०० प्रभावशाली व्यक्तित्व" सूचि प्रकाशन सुरु