अमेरिकाको भेगास भिजिट
अबको केही दिन भेगास घुमौँ । एउटा कार्यक्रमको शिलशिलामा भेगास घुम्ने अवसर मिल्यो । अमेरिकामा लास भेगास सहर आफैँमा एउटा फरक परिचय बोकेको सहर हो । जसको एउटा नाम र परिचयभित्र अनेक विशेषता छन् ।
अमेरिकाको नेभाडा राज्यको राजधानी कार्सन सिटी भएपनि लास भेगास सबैभन्दा चर्चित सहर हो । अझ भनौँ, लास भेगासकै कारण नेभाडा राज्य चिनिने गरेको छ । आखिर यति धेरै किन चर्चित छ, लास भेगास । रातै माटो र बालुवामाथि संसारकै एक स्वप्निल सहर कसरी निर्माण भयो ? र, यसले कसरी अमेरिकासँगै संसारलाई लोभ्याइरहेको छ । यसबारेमा पनि चर्चा गरौँला ।
तर अहिले भने हामी अनिल दाई, भोला कटुवाल सर र म कोलोराडोको डेनभर अन्तर्राष्ट्रिय एयरपोर्टबाट सोझै लास भेगास उत्रिदाको अनुभव साझा गर्दैछू ।
८ जुलाईमा अनिल दाईको कार बिहानै म बस्ने घर अगाडि पार्क भयो । सेतो कारमा दाई साथी लिएर आउनु भएको थियो । कारको पछाडिको सिटमा म बसेपछि हामी सोझै एयरपोर्ट लाग्यौँ । सुर्य भर्खर उदाएको थियो । रातो सुर्यको लालीकिरणले कोलोराडो रंगीन बनेको थियो । हामी त्यही पारिलो घामका किरण छिचोल्दै एयरपोर्ट पुग्यौँ ।
चेक-इन भएपछि साउथवेष्ट एयरलाइन्सको एरियातिर लाग्यौँ । डेनभर इन्टरनेश्नल एयरपोर्ट विश्वको दोस्रो ठूलो एयरपोर्ट हो । पहिलो भने साउदी अरेबियाको किङफाद एयरपोर्ट मानिन्छ । विश्वका शीर्ष १० ठूला एयरपोर्टमध्ये पाँच वटा अमेरिकामै छन् ।
साउथवेष्ट एयरलाइन्सको लास भेगास स्टेशनमा हामीले केही समय बिताएपछि भोला सर लगेज गुडाउँदै आउनुभयो । कार्यक्रमको लागि कोलोराडोको अर्को टोली तीन दिनअघिदेखि हिडिसकेको थियो । कोही हिड्ने तयारीमै थिए । हामी तीन जना भेटेपछि कफी खायौँ । अनि दाई र भोला सरको गफ चल्दा मेरो मोबाइल क्यामेरा मोडमा थियो ।
जति सकियो । खच्याक खुचुक पारियो । अनि विमान चढ्नु अगाडि लास भेगास स्टेशनलाई पृष्ठभूमिमा अनिल दाईको हातमा मोबाइल थमाएर एउटा फोटो फेसबुकका लागि खिचियो । दाईका चार पाँच वटा शटमध्ये एउटालाई एडिट गरेर ‘जुर्करवर्गबुक’मा पोस्ट गरियो ।
अनि क्याप्सन थपियो, ‘लेट्स मीट भेगास’ अर्थात ‘भेगासमा भेटौँ’ ।
भेगास जानुअघि साथी सुधीरलाई सोधेको थिएँ, ‘तिमी त भेगास घुमेर आइसक्यौँ । कस्तो छ हाउ ?’
‘पुरै मरुभूमिको सहर हो हाउ’ उसले भन्यो, ‘क्यासिनो खेल्ने, पैँसा कमाएकाहरुले उडाउने ठाउँ पनि हो ।’
उसको यो जवाफले मेरो पूर्वानुमान फेल खाये । यति चर्चित सहर मरुभूमिमा छ । ओहो ! अनौठो !
साच्चै ‘डेजर्ट सिटी’ कस्तो चाँही होला ? मेरो मनमा कौतुहलता बढेकै थियो । किनकी मैले दुबई घुमेको थिएन ।
जानुअघि अर्जुन दाइसँग सल्लाह गरेको थिए । घुम्नलाई लास भेगास राम्रै छ । तिमी पुगेपछि थाहा हुन्छ, कस्तो छ भन्ने कुरा ।’
अर्जुन दाइको कुराले लास भेगास पृथक छ भन्ने कुरामा बल पुग्यो । च्याटबक्समा नर्थ क्यारोलिनामा रहनु भएका दिलिप भिनाजुलाई भने ‘भेगास जाँदैछु, भिनाजु ।’
‘लु मोज गर’ भिनाजुको जवाफले रोमान्चित तुल्यायो । सविता दिदीलाई एयरपोर्ट पुगेपछि मात्रै के भनेको थिएँ, ‘एक्लो दुब्लो मान्छेले भेगास घुम्न अलि रमाइलो नहोला ।’
दिदीको कुरै कडा । भेगास घुम्न बाँकी रहेको सहर हो, दिदीको सूचिमा । उहाँले भर्खरै युरोप टूर सकाउनुभयो । अर्जुन दाइले जमानामै घुमिसक्नु भयो । म भन्दा पछि आएको साथी सुधीरले त भेगास घुमिसक्यो ।
म चाँही बल्ल जाँदैछु । विमानभित्र बस्यौँ । अनि दाईले ढोको सिट छाडिदिनुभयो । हातमा मोबाइल होइन, क्यामेरा तेर्स्याइरहने मलाई विमानको झ्यालको सिट पायो भने झन् के हुन्छ ? अब जे हुन्छ, विमानको झ्यालबाट देखिएका दृश्य कैद गरिएको मोबाइलकै फोटोमा हुन्छ ।
सिटबेल्ट बाँधेपछि विमान परिचारिकाको उद्घोषण सुरु भयो ।
‘वेलकम टू डेनभर टू लास भेगास ट्रीप ।’ त्यसपछि मौसम, तापक्रम, विमान उड्ने उचाई...आदी इत्यादी ।
विस्तारै विमान पार्किङबाट रनवेतिर लाग्यो । विश्वको सबैभन्दा दोस्रो ठूलो एयरपोर्टमा विमान पार्किङबाट रनवेसम्म पुग्न झण्डै पाँचदेखि १० मिनेट लाग्यो ।
‘रनवेमा पुग्नेबित्तिकै पाइलटले विमानको पुसअप गियर थिचेपछि हामी हल्लिदै डेनभरबाट भेगास उड्यौँ...।’
क्रमशः बाँकी अर्को पोस्टमा...
कोलोराडोदेखि कतार हुँदै काठमाडौँसम्म
मेस्सी र मियामी
भेगास : अमेरिकाको दुबई दुनियाँ
‘एमजीएम ग्राण्ड’ र ‘एभरेष्ट रेष्टुरेन्ट’
