नेभिगेशन
ट्राभल एण्ड टूर
ट्राभल टाइम

मेस्सी र मियामी 

हिमालको काखदेखि समुन्द्री छालसम्मको दृश्य डायरी

यसपटक अलि लामो यात्रामा छु । केही लगेज छन् । केही ह्यान्डक्यारी ब्याग । 

यो यात्रा मात्रै होइन, एउटा नयाँ अनुभव हो । त्यो पनि विशेष ।

हुन त जीवनका हरेक पल विशेष हुन्छन् । त्यसलाई कति फराकिलो दायरामा बुझ्ने भन्ने मात्रै हो ।

हिजो अर्जुन दाईको सेल्फ ड्राइभ टेस्ला गाडी चढे । आज दिउँसो अमेरिकन एयरलाइन्सको जहाज । 

बिहानै अर्जुन दाई टेस्ला लिएर घरमा आउनुभयो । दुई वटा हेभ्भी लगेज नापतौल गरेर डिक्कीमा राखेर मलाई छेउको सिटमा बसाल्नुभयो ।

यसपटक टेस्लाको टेक्नोलोजी होइन, अर्जुन दाईकै हातले चलिरहेको टेस्ला एयरपोर्टतिर लाग्यो ।

हामी १० बजे एयरपोर्ट पुग्यौ । विश्वकै दोस्रो ठूलो एयरपोर्ट । अब पनि नाम भन्नुपर्ला र ? 

भनिहाल्छु, डेनभर इन्टरनेश्नल एयरपोर्ट ।

दाईले टेस्ला पार्क गरेपछि एउटा लगेज मेरो हातमा राख्नुभयो । हामी गुडाउँदे लाग्यौ, चेक–इनमा ।

अमेरिकन एयरलाइन्सको काउन्टरमा सहजै चेक–इन भयो । अर्जुन भएपछि यसै सहजै ।

म अलि लामो यात्रा पहिलोपटक एक्लै गर्दैछु । दाईले चेक–इन गराएर बोर्डिङ पास हातमा थमाएर सेक्यरिटी चेक–इनसम्मै छोड्नुभयो ।

‘ल अब तिमी मज्जाले जान सक्छौँ’ दाइले भन्नुभयो । 

‘हुन्छ, दाजु । अब त सक्छु’ भनेर मैले विश्वस्त पारे । बिदाई दर्शन गरेपछि दाईले आशिरवाद दिएर ‘ह्याभ अ सेफ ट्राभल्स’ भन्नुभयो ।

बोर्डिङ पास लिएर अमेरिकन एयरलाइन्सको मियामी बोर्डमा पुगेँ । बोर्डिङ बाँकी थियो । 

पहिले कफी लिए । केही औपचारिक फोनहरु टुंग्याए । अनि ल्यापटप खोलेर, नवराज श्रेष्ठ दाईलाई फिल्म अवार्डको भव्य कार्यक्रमप्रति आभार प्रकट गरे ।

बोर्डिङ भयो । जहाजमा चढे । सिट हेर्दै पुगे । झ्यालको सिट कमै पथ्र्यो । त्यसैले छेउकै सिटमा बसँे ।

एकछिनपछि आवाज आयो, ‘एक्सक्युजमी, यु ह्याभ वन द विन्डो सिट ।’

हैट ! आफैलाई पत्यार लागेन । फुत्त हुत्तिएर झ्यालको सिटमा पुगेँ । 

झ्यालको सिट पारिदिएकोमा सुनिता श्रेष्ठ दिदीलाई धन्यवाद । टिकट काट्ने प्रबन्ध पनि अर्जुन दाईले मिलाइदिनु भएको हो । 

जहाज पार्किङबाट रन–वेतिर लाग्यो ।

पाँच मिनेपछि पाइलटले ‘पुस–अप गियर’मा हाले ।

जहाजले रफ्तार लिँदै डेनभरको आकाशबाट उचाई लियो ।

मौसम ठीकै थियो । अलि बादल । अलि घाम । त्यसैले ठीकै ।

क्याप्टेन अनुभवी रहेछन् । यसपटक मज्जाले जहाजलाई उचाई दिए ।

मियामी सहर मेरा लागि नयाँ हो । यसअघि नर्थ क्यारोलिन, भेगास र न्युयोर्क पुगिसकेको थिएँ । ती अनुभव विस्तारै लेख्दैछु ।

तर मियामीको अनुभव विशुद्ध नयाँ लाग्यो । त्यसैले ट्रान्जिटमै ल्यापटप खोलेर लेख्दैछु ।

जहाजले उचाई लिएपछि अगाडि बढ्यो । कोलोराडोमा यसपटक उड्दा बादल थिएन । रक्की माउन्टेनको हिउँ पनि जहाजको झ्यालबाट देखिएन । सायद, म हिमालतिरको झ्यालमा परिन ।

अलि अलि बादलका टुक्राहरु देखिन्थे । समर सकियो । विन्टर सुरु हुँदैछ । हिउँले आफ्नो शासन चलाउनुअघि बादलहरु पनि भूमिगत हुन्छन् । यसपटक कोलोडोको आकाश त्यस्तै लाग्यो ।

जहाज विस्तारै मियामीको डेस्टिनीमा अघि बढ्यो । घडी हेरिन । किनकी पुगिहाल्ने हतारो थिएन । लामै यात्रामा पुग्ने हतारो हुँदैन ।

कोलोराडोको आकाशमा बादल नदेख्दा मौसमी यस्तै हुन्छ भन्ने अनुमान थियो ।

झण्डै एक घण्टा जहाज बादलबिनाको आकाशमा उड्यो । मलाई लाग्यो, मियामीको रुट यस्तै होला । भेगास जाँदा पनि त्यस्तै थियो ।

एक घण्टाको यात्रापछि बादलका केही टुक्राहरु देखिए । जहाजको यात्रा यस्तो हुन्छ, भुईबाट बादल नजिक पुग्छ । अनि बादलमाथि र आकाश तलको यात्राको अनुभव भिन्नै ।

रक्की माउन्टेन अमेरिकाको चर्चित हिमाल हो । हाम्रो सगरमाथाजस्तै । त्यही रक्की माउन्टेनको छत्रछायामा म दुईवर्षदेखि छु ।

र, पहिलोपटक फ्लोरिडा राज्यको मियामी सहरमा यात्रा गर्दैछु । 

त्यसैले यो हिमालको काखदेखि समुन्द्री छालसम्मको हवाई यात्रा लेख्न म ट्रान्जिटमै जाँगर चलाइरहेको हुँ ।

जब बादलमाथि बादलकै साम्राज्यमा जहाज पुग्यो । मेरो अनुभव रोचक हुन थाल्यो ।

साथमा दुई वटा पुस्तक छन् । म पुस्तकका अक्षरहरुसँग आँखा जुधाइरहेको छु । 

जब बादल देखिन थाल्यो । पुस्तकका अक्षरहरु पानाले छोपिन थाले । त्यसमाथि कभर लाग्यो ।

अनि मोबाइलको क्यामेरा मोड अन गरे र झ्यालतिर तेस्र्याए ।

मियामी अमेरिकी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको घरेलु सहर हो । अनि फूटबलका जादु लियोनल मेस्सीको क्लब । 

संसारकै सबैभन्दा सुन्दर पुरुषमा दरिसकेका डेभिड बेकह्यामको मियामी क्लबमा आएयता मेस्सीले मियामीको समुन्द्री छाल छाडेका छैनन । उनले छाल नछाडेपछि हान्ने गोल नै हो । त्यो त तपैलाई पनि थाहा छ ।

मेस्सी आएपछि मैले अमेरिकन लिगमा मियामी क्लबबारे थाहा पाएको हुँ । उसो त रोनाल्डो साउदी पुगेपछि मात्रै अलनासर साउदी लिगबारे थाहाँ पाउन थालेको हुँ । 

यसपटकको हवाई यात्रामा बादल मात्रै होइन, अलि पर क्षितिज पनि देखियो । जब साँझको सूर्य समुन्द्री छालमा पर्छ, क्षितिजको सुन्दरताले मोहित पार्छ ।

अनि बादलमाथि बादलको रोचक अनुभव त म शब्दमा कसरी लेखू । त्यसैले दर्जनौँ फोटो मोबाइलमा खिच्न बाध्य भए ।

000
ट्रान्जिटमा छु । अर्को जहाजको बोर्डिङ अनाउन्समेन्ट भयो । मैले ल्यापटप बन्द गरेर लाइन लाग्नुपर्ने भो । बाँकी यात्रा अर्को ट्रान्जिटमा लेख्छु ल ।

क्रमशः ...


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विष्णु विवेक
विष्णु विवेक
थप ट्राभल एण्ड टूर
भेगासको भव्य सहर

भेगासको भव्य सहर

अमेरिकाको भेगास भिजिट

अमेरिकाको भेगास भिजिट