नेभिगेशन
ट्राभल एण्ड टूर
यूएस-नेपाल ट्राभल

कोलोराडोदेखि कतार हुँदै काठमाडौँसम्म 

"यो अमेरिकादेखि नेपालसम्मको यात्रा कथा हो । कथामा जोडिएका केही पात्र छन् । जुन रियलिस्टिक छन् । कोलोराडोदेखि मियामीसम्मको यात्राको केही कथा अघिल्लो ब्लगमा पनि छ । यो यात्राको कथा मियामीको ट्रान्जिटदेखि सुरु भएर कतारको दोहा हुँदै काठमाडौँसम्मको छ । "

म बादलको कुरा गर्दैछु । त्यो पनि आकाशमाथिको बादल । बादलकै सानिध्यतामा मलाई यात्रा गर्न रोचक लाग्छ । अझ भनौँ, यो मेरो रुचिको विषय हो ।

म यसपटक कोलोराडोदेखि फ्लोरिडा यात्रामा छु । यो अमेरिकी राज्यको यात्रा हो । म यहाँ डेनभरदेखि मियामीको बादल वर्णन गर्दैछु ।

बादलमाथि जब पहाड बन्छ । जहाजको यात्रा सबैभन्दा रोचक बन्छ । त्यो पहाडको छेउछेउ जब जब जहाज उड्छ । लाग्छ, यो समुन्द्रको ठूलो छाल छेउमै क्रुज कुदिरहेको छ । 
बादलमाथिको आकाश पूरै निलो छ । अनि बादलसँगको बादल पुरै पहाड । त्यो पहाडले न आकाश छुन्छ, न त बादलले धर्ती नै ।

बादलको पहाड हेर्न पनि धर्ती माथि माथिको बादल छोप्नु पर्ने रहेछ । जीन्दगी आखिर यिनै आकांक्षा र अपेक्षाहरुको अनुभूति न हो ।

जब हामी कोलोराडोको रक्की माउन्टेन छाडेर मियामीको समुन्द्री छाल हेर्न उड्छौँ । तब हामीले बादलको कुरा नगरी हुँदैन । बादल नहेरी हुँदैन । बादलका पनि पत्र पत्र हुन्छन् । म यो पहिलोपटक लेखिरहेको छु, तर धेरैपटक देखिरहेको हुँ । 

यसो भन्दा के बादलका पनि रुखको जस्तै जरा, हाँगा, बोक्रा र पात पनि हुन्छन् ? भनेर तपाई मलाई गफमा उडाउँदै हुनुहुन्छ होला ?

एउटा कल्पनामा हराउने साहित्यिक रसको मान्छेका लागि त्यो पनि हुन सक्छ । तर तपाई त्यसलाई देख्न सक्नुहुन्न । देखे पनि लेख्न सक्नुहुन्न । म यो तपाईको कुरा गरिरहेको छैन, म आफ्नै कल्पनाको कुरा हेर्दैै लेखिरहेको छु । 

म यतिबेला काठमाडौँको यात्रामा छु । झ्यालबाट बाहिर हेर्दा पर क्षितिज रातै देखिएको छ । हामी पाकिस्तानमाथिको आकाशमा छौँ ।

पर क्षितिजमा देखिएको रातो दृश्य सूर्यको राप हो । सूर्यले पुरै पृथ्वीको अध्यारो हटाउन उज्यालो बोकेर आइरहेको छ । अनि रातका पुरै रवाफहरुलाई उज्याला किरणले जवाफ दिएर क्षितिजलाई रातो पारिदिएको छ ।

म यी शब्दहरु लेखिरहँदा सूर्य देखिसकेको छैन । उसले केवल राता किरणहरु पठाएको छ । सायद, आफू आउनुभन्दा पहिले उसले पठाएका यी सबैभन्दा शक्तिशाली प्रकाशहरु हुन् ।

जहाज प्रतिघण्टा १०० किलोमीटरको गतिमा उडिरहेको छ । अनि ४० हजार फिटमाथि मलाई यी शब्दहरु लेख्न क्षितिज परको दृश्यले लालयित बनाइरहेको छ ।

म मियामीको आकाशमाथिको बादल सम्झिरहेको छु । त्यो किन पनि प्रिय छ भने धर्ती र आकाशको बीच भागमा रहिरहने बादलले धेरै शक्तिशाली मौसम स्थापित र विस्थापित गर्छ ।

त्यही बादलले हो, कहिले पानी पार्ने । अनि कहिले हावाहुरी ल्याउने । म बसेको जहाज ढल्किदा मैले यहाँ पनि केही बादलका चट्टानहरु देखे ।

म ठीक जहाजको पखेटामाथिको सिटमा छु । जब म बसेको पखेटा धर्तीतिर ढल्किन्छ, बादलका बिस्कुनहरु चट्टान जस्ता देखिन्छन् ।

यो सूर्य उदाइ नसकेको दृश्य हो । तर आफ्ना किरण पृथ्वीमा पढाईसकेको सूर्यले बादललाई यतिबेला चट्टान बनाएको छ । कालो, अध्यारो तर सेतै दृश्य । ती फूस्स फूस्स उड्ने बादललाई पनि साहित्यिक कल्पनाकारहरुले चट्टान भनिदिन्छन् । यो न्यायपूर्ण शब्द हो त ? होइन । तर म भनिदिन्छु । तपाईले मैले भनेका शब्दहरु स्वीकार गर्नैपर्छ भन्ने चाँही छैन ल । 

मैले त केवल शब्दहरु लेखेको हुँ । त्यो पनि कल्पनामा । कल्पना र यतार्थको घडी यति शक्तिशाली हुन्छ कि मान्छेको मन र मष्तिष्कमा पनि एकछिन त्यो दृश्य वास्तविक बनाउन उद्येलित हुन्छ ।

मियामीको आकाशमा जब जब बादलको पहाड देखिन्छ । मेरो मन रोमाञ्चक हुन्छ । किनकी रक्की माउन्टेन हिमालको काखदेखि मियामी सहरको सामुन्द्रिक छालसम्म बादलका पहाडहरुले बनाएका हरेक दृश्य मेरा लागि विशेष छन् ।

तल पुरै निलो समुन्द्र छ । त्यसमाथि सेतो बादलका टुक्रा । अनि त्यसमाथि बादलकै पहाड र पहाडमाथि जहाज । आकाशमा पनि बादलका सतहहरुको लडाई हुँदो रहेछ । म यो पहिलोपटक महसुस गर्दैछु ।
एकनास हुने भनेको त समयको घडी र त्यसका सुईहरु मात्रै हुन् । कसले तिनलाई सँधै एउटै गतिमा हिड्न सिकाएको छ ? त्यसको सोधीखोजी गर्न वैज्ञानिकहरु तम्सिनुपर्ला जस्तो छ ।

होइन भने यो ब्राह्माण्डका कुनै पनि वस्तुहरु एकनास छैनन । यहाँ एउटै वर्षका ऋतुहरु त प्रत्येक दुई महिनामा फेरिन्छन् भने मान्छेको मन फेरिनु कुन नौलो कुरा भयो र ?

तर  पनि मान्छे माया नामको बन्धकीमा आफूलाई वर्षौदेखि वर्षौसम्म कैद गरिरहन्छ । आखिर समयको घडीमा जोडिएको माया घडीकै सूई अनुसार हिड्न सक्दो रहेनछ भन्ने कुरा त मुना मदनकै प्रेमकथाले पनि उहिल्यै भनिसकेको थियो ।

क्षितिज रातो हुँदै सेतो दृश्यमा परिणत हुँदैछ । सूर्यका किरणहरु बादलका पहाडमाथि ठोक्किएर क्षितिजलाई रातो पारिरहेका छन् ।

मेरो जहाजको पखेटाहरुमा परेका सूर्यका किरणहरु उज्याला देखिन्छन् । तर क्षितिज रातै छ । आखिर किन ? मलाई यसको वैज्ञानिक जवाफ चाहिएको छैन । मलाई त यसको सौन्दर्य हेरिरहनु मात्रै छ ।

बादलमाथिको पहाडमा ठोक्किएका प्रकाशका किरणहरु जब फेरि आकाशतिरै फर्किन्छन्, क्षितिजलाई रातै पार्दा रहेछन् । हामी सूर्यका किरणहरु सबैभन्दा पहिले पहाडका चट्टान र हिमालका हिउँमा मात्रै पर्छन् भनेर किताबी रटान पढिरहेका रहेछौँ ।

खास सूर्यका किरणहरु त सबैभन्दा पहिले बादलसँग ठोक्किने रहेछन् । अनि त्यसले पर क्षितिजको बादललाई सेतोबाट रातो बनाएर हाम्रा आँखाहरुलाई रातो दृश्यमा रमाइदिदो रहेछ ।

यो रातो क्षितिज त मियामीको आकाशमा पनि देखिएकै थियो । जहाँ दिउँसो सकिएर राती हुँदै थियो । साँझको बेला सूर्यका किरणहरु निलो समुन्द्रमाथिको बादलमा ठोक्किएर रातो क्षितिज बनेको थियो ।

मलाई पहिलोपटक अमेरिकी उडानमा सबैभन्दा धेरै मन परेको क्षितिज त्यो हो । मियामीको विलासी सहरमा म आकाशमाथिको बादलमा रातो क्षितिज देखेर रमाइरहेको थिएँ ।

बादलको बिस्कुनमाथि रातो क्षितिजका लहरहरु देखिन्छन् । त्यो भन्दा यो दृश्य कम छैन ।

तर म मियामीको आकाशमाथि उड्दा डेनभरको धर्तीमाथि भिनाजुको ‘शुभयात्रा’ शुभकामनाले रोमाञ्चित भएको थिएँ । म फोन गर्न आँटिरहेको थिएँ, तर नर्थ क्यारोलिनाबाट दिलिप भिनाजुको म्यासेज आयो ।

यसलाई भन्छन्, ‘हार्ट टू हार्ट कनेक्सन ।’ म २५ नोभेम्बरमा उड्दैछु भन्ने भिनाजुलाई थाहा थियो । तर एयरपोर्ट पुगिसकेर पनि बोर्डिङमा कुरिरहेको कुरा कसरी भिनाजुलाई थाहा हुन पुग्यो ? 

त्यसैले म यसलाई हार्ट टू हार्ट कनेक्सन भन्न रुचाँउछु । मेसेज पाएपछि मैले फोन डायल गरेँ । तर मैले सम्झिन ढिलो भैसकेछ । अनि सबिता दिदीलाई फोन गरेँ । 

दिदीको फोनबाट आवाज आएन । मेसेन्जरमा बरु मेसेज आयो । ठीक यतिबेला जहाजको क्याप्टेनले ‘प्यासेन्जर अनाउन्समेन्ट’ गरिरहेको छ । 

भन्दैछ, ‘हामी अबको पचास मिनेटमा काठमाडाँैमा ल्याण्ड गर्नेछाँै ।’ जहाज पाकिस्तानको आकाश पार गरेर भारत पसिसकेको छ । भारत प्रवेश गर्नु भनेको काठमाडौँ नजिकै आउनु हो ।

म फेरि एकपटक मियामीको आकाशमा उडिरहेको छु । किनकी मेरो मानसपटलमा मियामीको त्यो बादलको वर्णन अझै सकिसकेको छैन ।

सबिता दिदीले ‘ह्याप्पी जर्नी भाई’ भनेर शुभकामना दिनुभयो । त्यसपछि मैले राजकुमार भिनाजुलाई फोन गरेँ । कलब्याकमा पनि भिनाजुले ‘राम्रोसँग जानू है’ भन्नुभयो । बिमला दिदीसँग त कोलोराडोमा ब्याग प्याकदेखि अबेर रातीको ‘नेपाल एक्साइटमेन्टसम्म’ कुरा भएकै थियो ।

अर्जुन दाई एयरपोर्टमै आएर चेक–इन गरेर सेक्युरिटी चेकसम्म मलाई छाडेर जानूलाई राजकुमार भिनाजु हाम्रो ‘ब्रदर बोन्डिङ पावर’ भन्नुहुन्छ । मैले श्रीराम सर र अनिल दाईलाई पनि फोन गरेँ ।
सुधीरलाई चाँही म मियामी पुगेर मात्रै फोन गर्छु भनेको थिएँ । आखिर गरे पनि त्यही ।

मियामी चर्चित फूटबलर लियोनल मेस्सीको क्लब हो । मेस्सी आएपछि मियामी अमेरिकन एमएसएल लिगमा चम्किएको हो । अनि लिग पनि जितेकै हो । उसले यसै वर्ष अमेरिकामा क्लब वल्र्डकप पनि खेल्यो ।

तर चेल्सी च्याम्पियन बन्दा मेस्सीको क्लब सेमिफाइनलसम्म पनि पुग्न सकेन । मियामीको बादललाई पनि बिर्साउने गरि म चढिरहेको कतार एयरवेजको जहाज यतिबेला भारत लखनउ नजिकको आकाशमा पुग्दा रातो क्षितिजको दृश्य सेताम्मे बनेको छ ।

यसलाई बादल भन्ने कि कुहिरो ? तर यति सफा दृश्य छ कि मेरा आँखामा यतिबेला मियामीको बादलमा पनि छाया परेको छ । भर्खर उदाएको सूर्य त्यही बादलमाथि फुटबल खेलिरहेको जस्तो लाग्छ ।

जसरी मेस्सीले मियामीमा गोल हानिरहेका छन्, त्यसरी नै यतिबेला बादलमाथि चम्किएका सूर्यका किरणहरु हाम्रो जहाजको झ्यालबाट फूत्त फूत्त भित्र छिर्दै अध्यारो चिरिरहेका छन् ।

मेरो सिट अगाडिको झ्यालबाट सूर्यका किरणहरु सिधा रेखामा मेरो आँखाहरुलाई हेरिरहेका छन् । म बादलमाथिको कुहिरोको सेतो बहावलाई दृश्यांकन गरिरहेको छु ।

यी मनमा लागेको अनभूतिहरु मलाई ल्यापटपमा कोर्न यिनै बादल, कुहिरो र सुर्यका किरणहरुले प्रेरित गरिरहेका हुन् । होइन भने अब ल्याण्डिङको समय हुनै लाग्दा मैले एयर होस्टेजको आग्रहलाई पनि मिठो मुस्कानले टारिरहेको छु । त्यो पनि एक छिन भन्दै ।

हाम्रो जहाज फैजावाद नजिक पुग्दैछ । त्यसपछि तराईको बाटो भएर नेपाल प्रवेश गर्नेछ ।

अमेरिकाबाट कतार हुँदै भारत पुगिसक्दा पनि मैले किन मियामीको मात्रै व्याख्या गरिरहेको छु ? भनेर तपाई अचम्म मानिरहनु भएको होला । यो पढिरहेका कतिपयले भनिरहेका होलान्, गफाडीले कति गफ लेख्न सकेको हो ? यो गफ मात्रै होइन, मज्जाको पनि ‘शप’ हो । यसको व्याख्या अलि पछि गरौँला ।

मियामीबाट मध्यराती उडेको जहाजबाट केवल रात देखिन्थ्यो । त्यसपछि आँखा निदाउँदा सपनाहरु देखियो । जब जहाज कतार नजिक पुग्यो । अनि दोहाको झिलिमिली सहर देखियो ।

मैले शब्द सापटी लिने गरि दृश्य नै देख्न पाइन । जति मैले मियामी पुग्दा देखे । मियामी एयरपोर्टमा चार घण्टाको ट्रान्जिट बस्दा एउटा ब्लग लेखिभ्याएँ । त्यो तपैँले पढ्नुभयो होला । फेसबुककै अघिल्लो पोस्टमा छ ।

ब्लग पुरै पढेर भिनाजुको फोन आयो । म जहाजमै थिएँ । कतार एयरवेजकै वाईफाई कनेक्ट थियो । तर फोन रिसिभ गर्न मिलेन । 

दोहा ल्याण्ड गर्नेबित्तिकै भिनाजुलाई फोन रि–डायल गरेँ । अनि सुरु भयो । कोलोराडोदेखि मियामीसम्मको यात्रा अनुभुूतिको ‘डिस्क्रिप्सन’ । यसमा मौसमी छुटेकी छैनन् है । 

जहाज यतिबेला गोरखपुरबाट काठमाडौँ सोझिदैछ । अनि बादलमाथि उडिरहेको जहाज बादल चिरेर धर्ती खोज्दैछ । जहाजले बादलभित्र पसेर धर्तीको बाटो पछ्याउन कुहिरोलाई हामीभन्दा माथि उडाइरहेको छ ।

जब जहाज बादल र कुहिरोलाई चिर्दै नेपाली आकाशमा प्रवेश गर्न थाल्यो, हाम्रो मन एकाएक चंगा हुन थालेको छ । सिट अगाडिको ट्याबमा जहाज बुटवल र पोखराको बीचबाट नेपाली आकाशमा प्रवेश गरिरहेको देखाएको छ । ‘यो प्यारालल थ्रीडी लोकेशन म्याप’ हो । 

मलाई ठीक यतिबेला अर्जुन दाइको ‘रेड–लेबल’ याद आइरहेको छ । दोहा झर्नेबित्तिकै मैले ‘ड्युटीफ्री जोन’मा एउटा ड्युटी पूरा गर्नैपर्ने थियो । जसको केन्द्रबिन्दुमा अर्जूृन दाइ हुनुहुन्थ्यो ।

अर्जुन दाईको त्यो कलमा मैले दुई वटा रेडलेबल किन्नु थियो । अनि एउटा उपहार पाउनु थियो । अर्जुन दाईले त्यति भनेपछि मैले ६० डलर खर्च गरेँ । अनि एउटा उपहार हातमा लिए । बाँकी दुई वटा प्लाष्टिकको ब्यागमा छन् ।

रेड–लेबलको कुरा गर्दा जहाज बादललाई माथि माथि छाडेर विस्तारै नेपाली आकाशमा प्रवेश गर्न सफल भयो । प्राय काठमाडौँ जाने जहाजले नेपाली आकाश प्रवेश गर्दा बादल र भारत एकैपटक छाड्दा रहेछन् ।

जब जहाज भारतीय आकाशमाथिबाट काठमाडाँैतर्फ सोझिन्छ, तब उचाई घटाउँदै बादललाई पनि उचाईमै छाड्ने रहेछन् । 

ठीक यतिबेला जहाज तल र माथि बादल राखेर उडिरहेको छ । निलो आकाशमा बादलका केही टुक्रा छन् । अनि धर्ती देखिनु अगाडि बादलकै सतहमा हामी उडिरहेका छौँ ।

मैले १९ महिना २ दिन १८ घण्टापछि नेपाली आकाशमा उड्ने मौका पाइरहेको छु । यो मैले होइन, मौसमीले गरेको हिसाब हो । उसले यो कुरा मध्यरात दोहामा भनेर मेरो समयको महत्व बुझाइन् ।

पर्खाई कति महंगो हुन्छ ? त्यो कुरा मलाई भन्दा बढी मौसमीलाई थाहा छ । जहाजले विरगञ्ज पार गरेर चुरिया क्षेत्र प्रवेश गर्नेबित्तिकै काठमाडौँ एयर ट्राफिक कन्ट्रोल रुमसँग ल्याण्डिङको अनुमति मागेको छ ।

क्याप्टेनको यो उद्घोष हाम्रो कानसम्मै गुन्जिदा अबको केही बेरमा हामी काठमाडौँमा अवतरण गर्दैछु भन्ने मन उत्साहित मात्रै होइन, उत्तेजित भएको छ । हामीले तराई देखेका छैनौँ । सायद बिहानको कुहिरोले होला, अब एकैपटक काठमाडाँैको परिदृश्य हेर्नेछौँ ।

मौसमीको पर्खाईको कुरा गर्दा भिनाजु र अर्जुन दाईको चाँसो र चिन्ता मैले सम्झिरहेको छु । बिहे कहिले ? कसरी ? कहाँ ? कुन मोडलमा गर्ने ? भनेर भिनाजु र अर्जुन दाईको बारम्बार कल मलाई दोहासम्मै आइरहेको थियो ।

मैले यो सबै मौसमीको नियन्त्रणमा राखिसकेको छु । आखिर त्यसैका लागि त म झण्डै दुई वर्षपछि काठमाडौँ टेक्दैछु । यो यात्राको रोमाञ्चकता थपिएको बिहेको कुराले पनि हो ।

दोहामा सुधीरले कोलोराडोको जाडोको अवस्था बताएको थियो । मैले ल्याण्डिङ हुन पाँच मिनेट बाँकी छँदा पनि काठमाडौँको अनुहार हेर्न पाएको छैन । यही हो, मंसिर महिनामा जाडोको कथामा थपिएको व्यथा । 

मैले कुहिरोले ढाएिको काठमाडौँ उपत्यकाका पहाड मधुरोसँग देख्न थाँले । आँधा हिउँ अनि आधा कुहिरोले ढाकिएका सेताम्मे दृश्यहरु रोमाञ्चक छन् । 

आहा ! सेतो हिमाल टलक्क टल्किए । हरिया डाँडामाथि कतार एयरवेजको हाम्रो जहाज उडिरहेको छ । अब तपाई नै भन्नुस, यी रमाइला दृश्यमा मेरो मन कति रमाएको होला ?

जहाजको छेउमै हरिया डाँडा छन् । डाँडाकै बीचबाट पाइलटले जहाज काठमाडाँै उपत्यका प्रवेश गराउँदैछन् । हाम्रो जहाजको पखेटा र त्यो डाँडामा भएका घरका छाना बराबर उचाईमा छन् ।

हैट ! काठमाडौँ उपत्यका । कति सुन्दर । कति विशेष । कति रोचक । कति उत्कृष्ट । अलि पर सेता हिमाल छन् । हाम्रो जहाजकै छेउमा हरिया पहाडका टाकुरा छन् । अनि कुहिरोले छोपिएको उपत्यका । यो बिहान साच्चिकै विशेष छ । साच्चिकै विशेष ।

मैले मियामीको त्यो भव्य सहर र समुन्दभन्दा पर पूरै संसारको शिर सगरमाथा भएको मेरो देश सर्वोत्कृष्ट देखिरहेको छु । यति भन्दै गर्दा काठमाडौँका कंक्रिटका घरहरु देखिन थाले ।

म शब्दहरु लेख्दैछु । जहाजले बिस्तारै रन–वे छोयो । ल्याण्डिङ गियरका चक्काहरु रन–वेमा गुड्न थाले । ओहो ! हेर्दाहेर्दै लेख्दालेख्दै काठमाडौँ टेकियो ।

धन्यवाद अमेरिका । धन्यवाद कतार एयरवेज । अनि धन्यवाद पशुपतिनाथ । 

धन्यवाद अर्जुन दाई । सबिता दिदी । विमला दिदी । दिलिप भिनाजु । राजकुमार भिनाजु म तपैँसँगै अमेरिका गएको त्यो पल अहिले पनि सम्झिरहेको छु । 

फाइनल्ली जहाज रन–छाडेर पार्किङ भयो । अब म ब्याग निकालेर जहाजबाट ओर्लिनुपर्छ । 

ट्रान्जिट मात्रै होइन, जहाजकै यो यात्रा पनि रोचक मानेर पढेपछि कमेन्ट बक्समा दुई चार शब्द छाड्न नबिर्सनुहोला ।

त्यसपछि तपाइले यो ट्राभल ब्लग पूरै पढ्नुभयो भनेर म धन्यवाद टक्राउनेछु ।

धन्यवाद क्याप्टेन । धन्यवाद क्रू–मेम्बर । फेरि यात्रामा भेटौँला । फेरि लेखौँला । 

धन्यवाद ।

 

यो पनि पढ्नुहोस्:
                                                                  मेस्सी र मियामी  [पहिलो ब्लग]

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विष्णु विवेक
विष्णु विवेक
थप ट्राभल एण्ड टूर
मेस्सी र मियामी 

मेस्सी र मियामी 

भेगासको भव्य सहर

भेगासको भव्य सहर

अमेरिकाको भेगास भिजिट

अमेरिकाको भेगास भिजिट