भेगास : अमेरिकाको दुबई दुनियाँ
पछिल्लो समयको संसार दुबई दौडिरहेको छ । किनकी विश्वका सबैजसो पर्यटकको नजर पुरानै ठाउँ होइन, नयाँ सहर एक्सप्लोर गर्न दुबई दौडिरहेका हुन् । यसका पछाडि पैँसा, पावर र ग्लोबल पोलिटिक्स जोडिएको छ । ग्लोबल पोलिटिक्स भनेको कँही न कँही भूराजनीतिक स्वार्थ हो ।
राजनीति जहिले पनि आर्थिक उन्नतिबाट प्रभावित हुन्छ । दुबईले गरिरहेको आर्थिक विकासका कारण विश्व राजनीति कँही न कँही दुबईबाट प्रभावित हुने सम्भावना छ ।
त्यसमा पनि कतार, साउदी र युएईले युरोप र अमेरिकालाई समेत पछाडि पार्ने प्रतिष्पर्धामा आफूलाई अब्बल साबित गर्न खोजिरहेका छन् । यो आर्थिक विकासको सन्दर्भमा सम्भव देखिएका कुरा हुन् । आविष्कार, उत्पादन र शक्ति राष्ट्रको दौडमा चाँही होइन ।
यो लडाईमा अहिले सबैभन्दा अगाडि अमेरिका र चीन छन् । युरोप, रुस र भारत त्यसपछाडिका ‘फेवर फ्याक्टर’ हुन् ।
युनाईटेड अरब इमिरेट्स अर्थात युएईले यसरी आफूलाई विकास गरिरहेको छ कि पूरै दूनियाँ उसको समीपमा रमाउन सकोस् । एउटा मरुभूमिमा युएईले त्यो सम्भव पारिरहेको छ ।
किनकी उसँग पेट्रोलको खानी छ । अनि कहिल्यै नसुक्ने समुन्द्र । मरुभूमि त उसले बनाएको भवनहरुले सजिएको छ । रंगिएको छ ।
हिजोआज अमेरिका भएका मान्छे भेगास जान्छन् । तर युरोप, अमेरिका, एसिया र अफ्रिकी देशका धनाढ्य दुबई देख्न दौडिरहेका छन् । किनकी उसले आफूलाई त्यस्तो मरुभूमिमा पनि कसरी विकासको हराभरा दिलाउन सक्यो । त्यो प्रश्न मात्रै होइन, एक नयाँ प्रयोगशाला हो ।
त्यसैले पनि राजनीतिकर्मी, अर्थपद्धतिका अर्बपति, संसार हल्लाइरहेका कलाकारदेखि खेलाडीसम्म पनि दुबई पुगिरहेका छन् । दुबई हेरिरहेका छन् । र, पुरै आफ्नो विकसित दूनियाँलाई अपडेट गर्न खोजिरहेका छन् । त्यो आकर्षण अरु देशमा भन्दा दुबईमा बढी छ ।
कुनै दिन दुबई टेकेरै देखेपछि अझ विस्तृतमा लेखौँला ।
अमेरिकाको लास भेगासलाई अब दुबईले बिर्साउन सक्छ । किनकी यो सहर अमेरिकामा सबैभन्दा बढी चर्चित सहर हो ।
जहा सबथोक छ । तर दुबईको जस्तो समुन्द्र छैन । अचाक्ली गर्मी छ । तर पुरै मरुभूमि होइन । भेगास पेट्रोलको खानी भएको सहर होइन । त्यहाँ पिउने पानीकै हाहाकार हुन सक्छ । धन्य कोलोराडो नदीले त्यो अभाव पूर्ति गरिरहेको छ ।
नदी बिस्तारै सुक्न सक्छ । नदी सुक्दा भेगासको भव्यता पनि हराउन सक्छ । खैर, यो भविष्यको चिन्ता हो । अहिल्यै जोखिम सम्झिहाल्नु हुँदैन ।
यो भेगास भिजिट टूरको अन्तिम ब्लग हो । यहाँ अनुभव मात्रै होइन, केही अनुभूति र आशाका सञ्चारित भावनाहरु पनि लेख्ने प्रयास गरिएको छ ।
०००
हामी तीन दिनदेखि भेगासमा छौँ । कार्यक्रममा टिमको नेतृत्व श्रीराम लुइँटेल सरले गर्नु भएको छ । अनिल दाई र भोला सर मेरा रुममेट हुन् । म भेगास जानुका पछाडि अनिल दाइको सबैभन्दा ठूलो भूमिका छ ।
भेगासको भव्यताभित्र हराइरहँदा हामी तेस्रो दिन यस्तो ठाउँमा पुग्यौँ, जहाँ पूरै दूनियाँ राखिएको छ । अझ भनौँ, युरोप, एसियादेखि अमेरिकासम्म ।
यी सबै कुरा देखिने ठाउँ चाँही भेगासको ‘वाटर फाउन्टेन पार्क’ हो । अर्जुन दाईले भेगास पुगेपछि वाटर फाउन्टेन पनि पुग्न नबिर्सनू भन्नु भएको थियो ।
दाइले भनेपछि मनमा कौतुहलता बढ्यो नै । यो दोस्रो दिनमै सम्भव भएको हो । तर म यसलाई विस्तृत लेख्ने कोसिसमा तेस्रो दिन भनिरहेको छु ।
हामी एभरेष्ट किचेनमा खाना खाएपछि गाडीमा चढ्यौँ । उवर सेवाको सेतो गाडीमा म सबैभन्दा अगाडि बस्ने मौका पाएँ । ड्राइभिङ सिटमा अफ्रिकी मूलकी युवती थिइन् । मैले उनलाई हिस्सी भन्छु । किनकी उनी मिठो मुस्कान दिएर हास्ने र हामीलाई बेला बेला हसाँउने गर्थिन् ।
म चढेको गाडीमा मेघा लगायत अरु केही साथीहरु थिए । हामी भेगासबारे चाँसो राखिरहेका थियौँ । हिस्सी ड्राइभरले मज्जासँग हामीलाई रोमान्टिक शैलीमा जवाफ दिइरहेकी थिइन् । मलाई उनको त्यो शैली मन पर्यो ।
आखिर पर्यटकीय सहरमा ठिस्स परेकालाई पनि हिस्स पार्न सक्ने खुबी चाहिन्छ । त्यो उनमा थियो । उनले हामीले सोधेका कति कुरामा मिठो जवाफ दिन्थिन् । हल्का जवाफ तथा गहिरो तर्कसहित । भेगासलाई भव्यता दिलाउन उनीजस्ता हिस्सी परेका ड्राइभरको पनि ठूलो भूमिका हुनुपर्छ । त्यो भूमिकामा उनी अब्बल लाग्यो ।
उनले हामीलाई वाटर फाउन्टेन पार्क छाड्नुअगाडि मैले एउटा सेल्फी लिएकै थिएँ । त्यो मोबाइलमा खोज्न अल्छी लागेर यहाँ पोस्ट गर्न सकिन् । तर उनका यादहरु लेख्न मलाई मोबाइलको ग्यालरी खोज्नु परेन । त्यही भएर यी शब्दहरु थपक्क राखिदिए ।
वाटर फाउन्टेन विशेष छ । अर्जुन दाईका शब्दहरुमा मलाई विश्वास लाग्छ । आखिर साच्चिकै विशेष नै रहेछ । हामी गाडीबाट ओेर्लेर पार्क अगाडि पुगेका मात्रै थियौँ । पुरै पानी नाचिरहेको थियो । तालभित्रको पानीमा मोटर जोडेर उसलाई विभिन्न आकारमा माथितिर फोहरा बनाएर रोमाञ्चक दृश्यहरु देखाइने रहेछ ।
त्यसमा थपिएको अर्को रोचकता भनेको गीत तथा संगीतको धुन तथा मोडअनुसार पानीको फोहराले नयाँ नयाँ आकर्षक दृश्य मञ्चन गर्थे । यो श्रृङ्खला दिउँसोदेखि रातीसम्मै चल्दो रहेछ ।
उसो त भेगास कहिल्यै नसुत्ने सहर हो । अझ भनौँ रातै नपर्ने सहर हो । त्यो कुरा एमजीएम ग्राण्डभित्र हामीले प्रमाणित रुपमा देखिसकेका थियौँ । जुन बन्द आकाशमूनि सम्भव पारिएको थियो ।
तर ग्राण्डभित्र मात्रै होइन, भेगास बाहिर पनि उस्तै रोमाञ्चकता छ । रमाइलो छ । अनि रस छ । जसको रहर भनौँ वा तलतल कहिल्यै मेटिदैन ।
ताल वरिपरीको पर्खालका ठाउँ ठाउँमा ठूला ठूला साउण्ड सिस्टम राखिएका छन् । तर ती यति शान्त र सुस्त छन् । जसको छेउमा गएपछि मात्रै त्यो संगीत गुन्जिएको सुन्न सकिन्छ । बाँकी त पानीको फोहराले बनाएका दृश्य हेर्नै हाम्रा आँखाले फूर्सद पाउँदैनन् ।
ताल वरिपरी पूरै संसार उभिएको देख्न सकिन्छ । जहाँ न्युयोर्क र दुबईका जस्तो ठूला ठूला गगनचुम्बी भवन छन् । ती भवनमा कतै होटल सजिएका छन् । कतै क्यासिनो । अनि कतै शपिङ कम्पलेक्स आदी आदी ।
छेउमै ठूलो टावर छ । जसको नाम आइफल टावर हो । आइफल टावर फ्रान्सको पेरिस सहरमा छ । तर त्यही नमूना भेगासमा पनि बनाइएको छ । त्यति ठूलो छैन । सानै भएपनि पेरिसकै जस्तो आकर्षक आइफल टावर हो ।
आइफल टावरकै छेउमा गोलो ग्लोबजस्तो आकर्षक बस्तु छ । जसलाई मैले भूगोल मूर्ति भन्न रुचाएँ । हरियो तथा निलो रङमा कही कतै फाट्टफुट्ट नक्सा पनि देखिन्छन् । त्यसको सही नाम मैले थाहा पाइन । त्यसैले मैले भूगोल मूर्ति भनिदिएँ । बेनाम भन्दा नाम सही ।
अग्ला अग्ला भवन छन् । हेर्दा टाउकाको टोपी खस्ने डर । ती धेरैमा लेखिएको हुन्छ, न्युयोर्क । खासगरि एमजीएम ग्राण्डबाट हेर्दा न्युयोर्क लेखिएका धेरै ठूला रंगीन स्क्रीन स्क्रोल भइरहेका हुन्छन् । भेगासलाई न्युयोर्क सहरजत्तिकै भव्य देखाउन त्यो शब्दको सापटी लिइएको हो ।
त्यसमाथि स्टेच्यु अफ लिबर्टीकै मूर्ति भेगासमा पनि छ । त्यसले पनि भेगासमा न्युयोर्क महसुस गर्न सकिन्छ । भारतको ताजमहलजस्ता होटल भेगासमा छन् । भव्य भन्दा पनि भव्य । चीनको ग्रेट वालजत्तिकै एडभेन्चर स्पोट्स छ ।
जुन भवन माथि माथि नै कुदाइन्छ । हामीले तल फूटपाथबाटै हेर्दा आकर्षक थियो । त्यो माथि चढेर यात्रा गर्ने अवसर जुरेन । वाटर फाउन्टेन वरिपरि टावर छन् । एउटा आइफल टावर हो, अर्को घण्टाघरजस्तो छ ।
ठूलो टावरमाथिको टुप्पोमा घडी राखिएको हुन्छ । त्यसले भूगोलको समयलाई इंगित गर्छ । अनि भव्य होटलले भेगासको शानलाई बसाईमा पनि नयाँ आयाम थपिरहेको छ । र, पर्यटकलाई हरतबरले खुशी बनाइरहेको छ ।
०००
वाटर फाउन्टेन पार्क नजिकै एउटा बगैँचा छ । जसलाई बोटानिकल गार्डेन भनिएको पाइन्छ । तर म त्यो बगैँचालाई ‘गोल्डेन गार्डेन’ भन्न रुचाउँछु । पुरै प्राकृतिक त्यो बगैँचाले बोटविरुवाको विविधता र पारिस्थितक पद्धतिलाई राम्ररी हाम्रो मष्तिष्कलाई स्पर्श गर्छ ।
तर यति सुन्दर र हरियाली छ कि मैले सुन्दरलाई सुनौलो शब्दमा रुपान्तरण गर्नैपर्छ जस्तो लाग्यो । श्रीराम सर, अनिल दाई र भोला सर लगायत हामी धेरै जना घण्टौ उभिएर त्यो बगैँचामा गफ गर्न भ्यायौँ ।
झण्डै दुईदेखि तीन घण्टा त्यो बगैँचामा हराएपछि फेरि हामी बाहिर वाटरफाउन्टेन निस्कियौँ । हामीले धेरै कोणबाट हाम्रा फोटोसेसन सकाएका थियौँ । पार्कमा आएपछि श्रीराम सरले फोटो खिचाउन लाग्नुभयो । हामीले फेरि एकपटक मध्यरातीकोे पानी बगैँचा हेर्यौ ।
त्यतिबेला बेलूकीको जस्तो भीड थिएन । जहाँ गीत गाउँदै नाच्नेहरु देखिन्थे । अलि पर आ–आफ्नो कला अर्थात ‘स्टन्ट’ गर्ने पनि देखिन्थे । कोही नाच्ने देखिन्थे । कोही नचाउने । अनि कोही आँखालाई नै नचाएर पँैसा माग्ने पनि भेटिन्थे ।
भेगासको त्यो ‘भेराइटी’ अचम्मैको छ ।
यहाँ छुटाउनै नहुने अर्को कुरा पनि बाँकी छ । त्यो हो, लास भेगास जति भव्य छ, त्यति नै खुला र मनमौजी पनि छ ।
भेगासको भव्यतामा सुन्दरताको व्यापार सबैभन्दा आकर्षक छ । त्यहाँ पैँसा देखाएर पैँसा लडाउने र जिताउनेहरु छन् । जसलाई क्यासिनो नामले सम्बोधन गरिन्छ । जुन यस्तो खेल हो, खेल्नैका लागि पैँसा चाहिन्छ, अनि जित्ने पनि पैँसा नै हो ।
तर जित्नेहरुको लहरमा हार्नेहरुको हरामीपन भेगासमा यत्रतत्रै देखिन्छ ।
अनि संसारभरीकै खानाको स्वाद भेगासमा छ । अझ भनौँ, सबै देशका थरी थरी आइटम भेगासका विभिन्न होटल तथा रेष्टुरेन्टमा पाइन्छ । त्यसैले भेगासमा विशेष त्यस्तो केही छैन, जहाँ त्यही कुरा खानलाई हामी भेगास नै टेक्नुपर्दैन ।
अनि सबैभन्दा लुकेको तर देखिने तथ्य हो, भेगासको खुला रात्रीजीवन । जहाँ सुन्दरतादेखि शरीरसम्म खुला छाडिन्छ । अनि त्यही सुन्दरताभित्र अमेरिकाका सबैजसो मानिसहरु मोहित हुन्छन् ।
तपाई भेगास पुगेपछि थाइल्याण्ड र नेदरल्याण्ड्सको रात्रीजीवन पनि महसुस गर्न सक्नुहुन्छ । रोमान्टिक रातहरुको राजलाई भेगास भन्ने गरिन्छ ।
साथी सुधीरकै शब्दमा पैँसा कमाएपछि उडाउन जाने ठाउँ चाँही भेगास हो । जहाँ मरुभूमिलाई पनि पैँसा फल्ने सहरका रुपमा विकास गरिएको छ । र, पुरै अमेरिकाको दूूनियाँ आफूतिर तानिरहेको छ ।
गाँजादेखि मदिरासम्म । सुन्दरतादेखि शरीरको मोलमोलाईसम्म भेगासमा खुलेआम चल्छ । त्यसैले भेगास रंगीन छ । संगीन छ । कतिपयका लागि भेगास भव्य भएर पनि सभ्य छ । न्युयोर्कपछि सबैभन्दा खुला र रोमान्टिक पर्यटक तान्ने सहर भेगास हो ।
भेगासको भव्यता र भेराइटीमा हराएपछि हामी ९ जूलाईमा कोलोराडो फर्किने सुर कस्यौँ । श्रीराम सर अझै केही दिन बस्ने धुनमा हुनुहुन्थ्यो । अनिल दाई, भोला सर र हामीले झोला प्याक गरेर होटल चेकआउट गरिदियौँ ।
बेलूकी ६ बजेको फ्लाइट थियो । अनिल दाइले झण्डै दुई घण्टा अगाडि सार्न सफल हुनुभयो । तर एयरपोर्टमा चेकइन क्वेरीले गर्दा हामी झण्डै पाँच बजेपछि मात्रै भेगासबाट कोलोराडो उड्न सफल भयौँ ।
फर्किदा अनिल दाई भन्दै हुनुहुन्थ्यो, ‘यदि केही गरि भेगासमा एयर ट्राफिक तनाव भयो भने लकडाउन जस्तै हो ।’
गाडीमा निस्किन गाह्रै हुन्छ । किनकी आफूले गाडि लिएर गएको हुँदैन । जहाज नियमित रुपमा उड्न सकेन भने भेगास बसाई लम्बिदा गोजीको पैँसा मात्रै होइन, बैंककै ब्यालेन्स पनि माइनसमा जाने डर हुन्छ ।
त्यसैले भेगास जाँदा हामी जस्ता बाहिरी दूनियाँबाट अवतरण गरेकाहरुले मन र तन त ‘कन्ट्रोल’ गर्नुपर्छ नै अलि अलि भएको गोजीको धनमाथि पनि नियन्त्रण राखिरहनु पर्छ ।
‘एमजीएम ग्राण्ड’ र ‘एभरेष्ट रेष्टुरेन्ट’ [भाग-तीन]
भेगासको भव्य सहर : [भाग-दुई]
अमेरिकाको भेगास भिजिट : [भाग एक]
कोलोराडोदेखि कतार हुँदै काठमाडौँसम्म
मेस्सी र मियामी
‘एमजीएम ग्राण्ड’ र ‘एभरेष्ट रेष्टुरेन्ट’
भेगासको भव्य सहर
