भेगासको भव्य सहर
भेगास भिजिट : भाग-दुई
डेनभर एयरपोर्टबाट उडेपछि कोलोराडोको चर्चित हिमाल रक्की माउन्टेन देखिन्छ । हामी जुलाईमा भेगास उडिरहेका छौँ । जहाजले विस्तारै उचाई लिदैछ । हामी अमेरिकाका स–साना घरहरुबाट बादल माथि माथि उडिरहेका छौँ ।
मौसम खुलेको थियो । तर बादल लागेकै थियो । त्यसमाथि कोलोराडोको मौसम । अनुमान गर्न गाह्रो । एकैछिनमा घाम । केही छिनपछि बादल र पानी । यो यहाँको विशेषता हो । पहाडले घेरिएको । हिमालले पोतिएको स्टेटका रुपमा कोलोराडो चर्चित मानिन्छ ।
साउथवेष्टका पाइलटले हामीलाई बादलसँगसँगै उडाए । हामी रक्की माउन्टेनभन्दा केही हजार फिटमाथि उडिरहेका थियौँ । जुलाई मध्य समरको महिना हो । रक्की माउन्टेनको हिउँ थोरै थोरै टुप्पामाथि मात्रै देखिएको थियो ।
बादलसँगसँगै उडेकाले जहाज अलि अलि हल्लिरहेको थियो । जहाज हल्लिएका बेला एयर होस्टेजको ‘अनाउन्समेन्ट’ हुन्थ्यो । जहाजको झ्यालबाट केही कालो र अलि पर सेतो बादल देखिन्थ्यो । हाम्रो जहाजबाट बादल केही गति बढाएर हिडिरहेको थियो । सोहीकारण जहाज हल्लिरहेको थियो ।
जहाजले केही उचाई लिएपछि हलचल रोकियो । हाम्रो दिल र दिमाग शान्त बन्यो । अनिल दाई र भोला सरको गफगाफ चल्न थाल्यो । म हातमा क्यामेरा मोड अन गरेर मोबाइल झ्यालबाट बाहिर तेर्स्याइरहेको छु ।

जहाज आफ्नै गतिमा भेगासतर्फ उडिरहेको छ । म बाहिरको बादल माथिबाट देखिएका दृश्य खिच्दै अनिल दाई र भोला सरको गफ सुनिरहेको छु । ४५ मिनेटपछि जहाजले कोलोराडो स्टेट पार गर्यो । जसै जहाजले आकाशमाथिबाट कोलोराडो राज्य छाडेर नेभाडा राज्य प्रवेश गर्यो, अघिको अग्लो हिमाल, सेतो हिउँ र हरियाली पर्वत हरायो ।
जहाजबाट देखिन्छ त केवल रातो चट्टान । अग्लो तर रातो चट्टानको पहाड । कही कही गहिरो खोच भएका खोला । यद्यपी त्यहाँ पानी हामीले स्पष्ट देखिरहेका थिएनौँ । बस्ती विरलै देखिन्थे । जताततै रातो माटो र चट्टान भएका ठाउँहरु देखिन्थे ।
बिस्तारै जहाज भेगासतर्फ मोडियो । भेगास देखिनुअघि ठूलो पानीको ताल देखियो । भनिन्छ, त्यो ताल कोलोराडो नदी थुनेर बनाइएको छ । जसले विशाल लास भेगास सहरको सबै प्यास मेटाउने काम गर्छ ।
रक्की माउन्टेन हिमालको हिउँ पग्लेर बग्ने कोलोराडो नदीले भेगासको पनि तिर्खा मेटाइरहेको नयाँ कुरा थाहा पाइयो । गुगलमा सर्च गर्दा ९० प्रतिशत लास भेगासको पानीको स्रोत नै त्यही कोलोराडो नदी थुनेर बनाइएको ताल रहेछ । केही पानी जमीनमूनिबाट पनि तानिने रहेछ ।
जहाज माथिबाटै भेगास सहरका भव्य भवनहरु देखिए । केहीबेरमा भेगासको मध्य सहरमा हाम्रो जहाज ल्याण्ड गर्यो । कोलोराडोबाट शीतलता लिएर उडेका हामी भेगासको गर्मीमा हुलियौँ । जहाजभित्रैबाट बाहिरको गर्मी अनुमान लगाउन सकिन्थ्यो ।
चर्को । चर्कोभन्दा चर्को । गर्मी । यस्तो लाग्थ्यो, भुईमा पर्ने र घस्रिने हरेक कुरा ताप र चाप बढेर फुट्न सक्छन् । त्यही तातोमा हाम्रो जहाजले सजिलै पाङ्ग्रा गुडाएर अवतरण गर्यो । मन ढुक्क भयो । जहाजबाट निस्केपछि एयरपोर्ट उत्रियौँ । ओहो ! बल्ल थाहा भयो, भेगास भनेकै क्यासिनो रहेछ ।
अरु त अरु एयरपोर्टमै क्यासिनो ! यो अचम्म होइन त ? हो, मेरा लागि जरुर हो । घुमघाम, मोजमस्ती र क्यासिनो खेल्ने सरहका रुपमा भेगास चर्चित छ । साथी सुधीरले भनेको कुरा मैले आँखै अगाडि देखे, एयरपोर्टबाट क्यासिनोको लस्कर ।
एक हातमा वियरका साना बोतल समातेर मान्छेहरु क्यासिनोमै व्यस्त देखिन्थे । हामी बिस्तारै एयरपोर्टबाट सोझै बाहिर निस्कियौँ । जब हामीले एयरपोर्टबाट ढोका पार गर्यो, सुरु भयो भेगासको गर्मी ।
ओहो ! गर्मी पनि । के साह्रो हो ! ४० डिग्री आसपासको गर्मी झेलिएकै थियो । भेगासको गर्मी सिधा ५० डिग्री भन्दा माथिको लाग्ने । हुप्प ! हामीलाई आफ्नै शरीरको टिसर्ट पनि धेरै बाक्लो लागेको त्यही बेला हो ।
बाहिर निसकेपछि उवर अर्डर गर्यौ । लोकेशन ‘एनजीएम ग्राण्ड’ थियो । निशानको नयाँ गाडी थियो । हामीले गाडी देख्नेबित्तिकै ढोका खोलेर भित्र पस्यौँ । कारको एसीले हाम्रो छालालाई केही राहत दियो ।
एयरपोर्टबाट निस्केपछि देखियो, भेगासको भव्यता । साच्चै मरुभूमि नै हो । बाहिर नरिवलका रुख देखिन्थे । केही नयाँ विरुवा पनि रोपिएकै थिए । तर त्यहाँ मरुभूमिमै हुर्किने नरिवलबाहेक अरु के नै हुन्थे र !

केही सडक बनेको थियो । केही बन्दै थियो । तर सडकभन्दा छिटो ठूला ठूला अग्ला भवन बनेका थिए । त्यही भवनमा थियो, भेगासको भव्यता । बाहिर उभिनै नसक्ने गर्मी छ । तर भित्र भेगास छ । भव्यता छ । अमेरिकाका धेरै सहरमध्ये धेरैले घुम्ने प्रमुख सहरमध्ये एक हो, भेगास । तथ्य जाँच गर्दा भेटियो, प्रत्येक वर्ष ४० मिलियनभन्दा धेरैले भेगास भ्रमण गर्छन् ।
यो त नेपालजस्तो सानो र सुन्दर देशबाट गएको एक मामुली मान्छेका लागि जिब्रो टेक्ने तथ्यांक हो । एउटा मरुभूमिमा बनाइएका सबै कृत्रिम संरचनाले बनेको भव्य सहर घुम्न मात्रै वर्षेनी ४० मिलियन मान्छेको ओइरो ।
हामी नेपालमा दुई मिलियन पर्यटक भित्र्याउन दाँतबाट पसिना निकाल्नु परेकै छ । त्यो पनि पूरा प्राकृतिक ठाउँ । विश्वको सबैभन्दा अग्लो माउन्टे एभरेष्ट हुँदा पनि । तर भेगास बेग्लै छ ।
एनजीएम ग्राण्ड प्रवेश गर्नुअघि मोबाइल चेक गर्दै थिए, एउटा ‘अनरिड मेसेज’ क्लिक गरे, हेरेपछि पो हाँसो लाग्यो । मेसेज श्रीराम लुइँटेल सरको थियो । हामी डेनभर एयरपोर्ट हुँदा उहाँको मेसेज आएको थियो ।
‘बोर्डिङ पास भयो ?’ जम्माजम्मी यति थियो, मेसेज ।
‘मैले भेगास ‘ल्याण्ड’ गरेपछि रिप्लाई गरे, ‘एस, वी आर सेफ ल्याण्डेड इन भेगास ।’
रिप्लाई गरेर सिधा फोन गरे, उहाँको जवाफ आयो, ‘सिधा एयरपोर्टबाट एनजीएम ग्राण्ड आउनुस् ।’
हामी १० मिनेटमा एनजीएम ग्राण्ड पुग्यौँ । यो त अर्कै दुनियाँ रहेछ । अर्कै संसार । भेगासको मुटु भनेकै एनजीएम ग्राण्ड रहेछ । भेगासको ठूलो अर्थतन्त्रमध्ये एक एनजीएम ग्राण्ड फ्याक्टर पनि लाग्यो । एउटै नामभित्र अनेक काम । अनेक कार्यक्रम । अनेक संसार ।
क्रमशः... बाँकी अर्को पोस्टमा
अमेरिकाको भेगास भिजिट - [पहिलो भाग]
कोलोराडोदेखि कतार हुँदै काठमाडौँसम्म
मेस्सी र मियामी
भेगास : अमेरिकाको दुबई दुनियाँ
‘एमजीएम ग्राण्ड’ र ‘एभरेष्ट रेष्टुरेन्ट’
