नेभिगेशन
ट्राभल
१०० नेपाली डायस्पोरा

स्वीट्जरल्याण्डमा एप्पल इन्जिनियर 

एउटा इन्जिनियरको ‘सेल्फी पर्फेक्टनिस्ट’ प्रोफाइल

तपाईँले आफ्नो जीवनमा के-के गर्नु भएको छ ? सानैमा भारी बोक्ने, ठूलो भएपछि रुचि अनुसारको पेशा । धेरैजसोको त उमेरअनुसारको काम हुन्छ । तर संसारकै उत्कृष्ट र सुन्दर देश स्वीटजरल्याण्डमा बस्ने एक नेपाली यस्ता छन्, जसले आफ्नो जीवनमा गर्न बाँकी सायदै कुनै काम होला ।

उनी सानैमा माइक्रोबसमा झुण्डिए । त्यो पनि लगनखेल–रत्नपार्क रुटमा । यात्रु भएर होइन, सहचालक भएर । पढाईमा औषत थिए । तर सपना अमेरिका जाने पाले । यद्यपी त्यो पूरा भएन ।

भक्तपुर घर भएका विकल ढुंगेलको जर्मनीको भिसा लाग्यो । दोहोरिएर सोचेनन्, सोझै हानिए युरोपको मुटु मानिने देशमा । जर्मनी पुगेपछि उनले के गरेनन् ? भेटेजति सबै । भारी बोके । विद्यार्थीलाई ट्युसन पढाए । त्यतिले मात्रै पुगेन । विद्यार्थी राजनीति पनि गरे । त्यो पनि तालिम लिएर ।

नेपाली स्वादको मःम खाने । अनि फूर्सद मिल्यो कि घुमिहाल्ने । यो उनको शौख हो । जुन छाड्नै सक्दैनन् । जर्मनीमा खास उनले हेल्थ इकोनोमिक्स विषय पढे । त्यो विषय उनले केही राम्रो हुन्छ भन्ने सोचेर पढेका थिए ।

तर उनी आफ्नै शौख फेरिरहने स्वभावका मान्छे । त्यसमाथि घुमन्ते । नयाँ नयाँ ठाउँ घुम्ने । नयाँ नयाँ प्रविधिहरुबारे जानकारी राख्ने । उनको यही आधुनिक बानीले बिस्तारै आइटीतिर ध्यान गयो । आइटी अगाडि उनले इकोनोमिक डेभलपमेन्ट विषयमा पनि मास्टर्स गरे । 

त्यसपछि उनी राम्रो अवसरको खोजीमा स्कटल्याण्ड पुगे । जहाँ आफ्नो जीवन धान्न उनले एउटा कम्पनीमा काम गरे । नयाँ विषय पढे । जहाँ उनले स्वास्थ्यमा पनि आधुनिक स्वास्थ्य उपकरणहरुको प्रयोगबारे गहिरो अध्ययन गरिरहेका थिए । त्यसमाथि मोबाइल लगायत डिभाइसबाट लिन सकिने हेल्थ अपडेटको प्राविधिक ज्ञान पनि ।

यतिबेलासम्म उनले आफ्नो जीवन जेनतेन धानिरहेका थिए । सन् २०१५ तिर उनले एप्पल कम्पनीमा जागिर खाए । त्यसमा जागिर खानुको कारण चाँही उनको रुचिको विषय थियो । अनि अध्ययन गरेको विषय पनि ठ्याक्कै मिल्यो ।

‘सेन्सर डेटा एनालाइटिक्स एण्ड अप्टाइमाइजेसन’ क्षेत्रमा उनले एप्पलमा जागिर खाए । काम गर्दागर्दै उनी तालिमका लागि आयरल्याण्ड गए । त्यहाँ आफ्नो कार्यक्षेत्रका बारेमा थप ज्ञान लिएर फर्के । उनी कामसँगसँगै समय मिल्यो कि नयाँ नयाँ देश घुमिहाल्थे ।

81.-Bikal-Dhungel-Profile-1777964748.jpg
यस्तैमा उनी स्वीटजरल्याण्ड पुगे । साच्चै सपनाको देश । सुन्दै राम्रो मानेको देश नै पुगेपछि झन् स्वर्गीय आनन्द । त्यसपछि उनले जर्मनी, स्कटल्याण्ड र आयरल्याण्डको माया मारे । स्थायी रुपमै स्वीटजरल्याण्ड बस्न थाले ।

जागिर एप्पल कम्पनीमै छ । उनी खासगरि उपकरणको प्रयोगबाट स्वास्थ्य परीक्षण गर्न सकिने आधुनिक प्रविधिमा काम गर्छन् । एप्पलमा पछिल्लो समय एप्पल वाचबाट मानिसको मुटु जाँचेर आवश्यक मोबाइलमा अपडेट दिन सकिने सेन्सर डेटामा उनले काम गरिरहेका छन् ।

उनी मानिसको मुटुको चाल, रक्तचाप लगायतका परीक्षण गर्न सकिने सेन्सर एप्पल कम्पनीका मोबाइल तथा घडीमा जडान गर्ने इन्जिनियरिङ विभागमा काम गर्छन् । एप्पल अहिले पनि मोबाइल प्रविधि क्षेत्रमा नम्बर एक कम्पनी हो । अमेरिका मुख्यालय रहेको यो कम्पनीमा ढुंगेल स्वीटजरल्याण्डमै बसेर काम गर्छन् । आधुनिक विज्ञान तथा प्रविधि क्षेत्रको विशेषता नै यही हो ।

संसारकै मूल्यवान र महंगो कम्पनीमा हेल्थ एण्ड डेटा सेन्सर इन्जिनियरिङ क्षेत्रमा काम गर्नु आफैँमा चुनौति मात्रै होइन, संसारका लाखौँमध्ये केही सय जनाले मात्रै गर्न सकिने काममा विकल कार्यरत छन् । यसले उनको मेहनत, अध्ययन क्षमता, आधुनिक प्रविधिको प्रयोग र त्यसको परीक्षण तथा नतिजाका बारेमा ल्याइरहेको उपलब्धीबारे अनेक आयाम जनाउँछ ।

अहिलेसम्म ८० भन्दा धेरै देश घुमिसकेका उनी सेल्फी पर्फेक्टनिष्ट पनि हुन् । उनी जहाँ पुग्छन्, त्यहाँका सुन्दर फोटो खिचेर सामाजिक सञ्जालमा पनि पोस्ट गर्छन् । त्यसमाथि पनि उनी नयाँ ठाउँ पुगेपछि आफ्नै सेल्फी खिचेर पनि सामाजिक सञ्जालमा पोस्ट गर्न ढिलाई गर्दैनन् ।

यसले उनी आफू मात्रै घुम्दैनन्, अरुलाई नयाँ नयाँ ठाउँ घुम्न, देश दूनियाँबारे बुझ्न र सँधै मानसिक, शारीरिक तथा आर्थिक रुपमा सुरक्षित तथा स्वस्थ्य रहन पनि प्रेरित गर्छन् । 

नेपाली डायस्पोरामा उनको प्रोफाइल पछ्याउँदा लाग्छ, आधा संसार त उनकै फेसबुकमा पोस्ट गरिएका फोटो हेर्दै घुम्न सकिन्छ । बाँकी संसार घुम्न त आफैँ निस्कनुपर्छ । त्यसका लागि विकल मेन्टर मात्रै होइन, नेपाली डायस्पोराका लागि प्रेरणाका पात्र पनि हुन् । त्यसमा पनि आधुनिक पुस्ताका लागि अपरिहार्य जो छ । 

स्रोत : सेतोपाटी


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
नेपाली डायस्पोरा
नेपाली डायस्पोरा
थप ट्राभल
मेस्सी र मियामी 

मेस्सी र मियामी 

भेगासको भव्य सहर

भेगासको भव्य सहर