नेभिगेशन
विशेष
‘लिजेन्ड इन लाइभ’

अमेरिका कोलोराडोमा गुन्जिए लोक दोहोरीका बादशाह

गायन यात्रा सुरु गरेको २५ औँ वर्षमा अमेरिकामा सम्मानित

कहिलेकाँही समय एउटै हुँदैन । सीमा एउटै हुँदैन । सम्बन्ध एउटै हुँदैन । कसैका लागि पनि समीप उही हुँदैन । तर समय हुन्छ । पर्खाई हुन्छ । कार्यक्रम हुन्छ । तर केवल त्यो घटनाक्रममा सीमित हुँदैन ।

जहाँ कला हुन्छ । गला हुन्छ । हरेक कला र गलामा लाखौँ मान्छेहरुको सम्बन्ध हुन्छ । साइनो हुन्छ । सम्भाव हुन्छ । सम्मान हुन्छ । सदाबहार ‘कनेक्सन’ हुन्छ । आखिर त्यो के चीज हो, जसले एउटा व्यक्तिलाई लाखौँ मान्छेको ढुकढुकीसँग जोडिरहन्छ ।

क्षमता ? प्रतिभा ? शक्ति ? वा समर्पण ? हुन सक्छन् । यीमध्ये केही कुरा । तर सबैभन्दा महत्वपूर्ण कुरा रहेछ, निरन्तरता ।

यही निरन्तरताको एक प्रतिक हुन्, राजु परियार । जसलाई आधुनिक नेपाली लोक तथा दोहोरी क्षेत्रका ‘बादशाह’ भनेर चिनिन्छ । उनै राजु परियार यसपटक अमेरिकाको कोलोराडोमा गुन्जिए ।

१२ जुलाई २०२५ । शनिबारको दिन । कोसेली कोलोराडोको विशेष आयोजनामा २५ औँ लोकगायन तथा सम्मान कार्यक्रम शीर्षकमा नेपालबाट बोलाइएका थिए, राजु परियार । चन्द्र शर्मा । र, अमृता लुंगेली मगर ।

महिनौँदेखि कोसेली कोलोराडोले राजु परियार कोलोराडो आउँदैछन् भन्ने प्रचार गरिरह्यो । जसै दिन नजिकैदै गयो, कोलोराडोमा बसिरहेका नेपालीहरुको ढुकढुकी बढ्दै गयो । कार्यक्रमको दिन नजिकियो । नेपाली व्यवसायीले सञ्चालन गरेको अल्ट्रा लाउन्ज रेष्टुरेन्टमा नेपालीको भीड बढ्यो ।

माहोल तताउन अमृता मगर र चन्द्र शर्माको प्रस्तुती पर्याप्त भएन । राजु परियारको नामले कोलोराडो लोक तथा दोहोरीमय बनिसकेको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले जब राजु परियारको नाम लिए, दर्शकबाट हुटिङ आयो । चिच्याहट बढ्यो ।

कार्यक्रमस्थलको एक कुनाबाट उनी मञ्चतिर अघि बढे । दर्शकले गोजीबाट मोबाइल झिके । क्यामेरा खोले । अनि मञ्चतिर तेर्स्याए । जहाँ राजु परियार थिए । २५ वर्षअगाडि नेपाली लोक तथा दोहोरी गीतमा स्वर हालेको एउटा गायकले आफ्नो गोरवमय हिरक जयन्ती अमेरिकाको कोलोराडोमा मनाउने अवसर प्राप्त भयो । साक्षी सयौँ नेपाली दर्शक ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रस्टी अध्यक्ष साहित्यकार पदम विश्वकर्माले आफ्नै लमजुङे गायकलाई सम्मान प्रदान गरे । नेपालमा आफ्नो गायनको २५ औँ वर्षगाठ गौरवका साथ मनाउने भाग्यमानी गायकमा पर्छन्, राजु परियार । उनीसँगै गायन यात्रा सुरु गरेका धेरैले यो उचाई छुनै सकेनन् । एक समय चर्चित बने । केही समयछि चर्चामै सीमित भए । अहिले कोही कता छन्, कोही कता । जो जता भएपनि उनीहरुमध्ये धेरैले लोकदोहोरीको एउटै ‘राजा’ राजु परियार भन्ने स्वीकार्छन् ।

आफ्नो गायन यात्राको २५ औँ वर्षमा अमेरिकामा सम्मान हुन पाउँदा को खुशी हुँदैन । राजु परियार खुशी भए । केही भावुक सुनिए । केवल आँखाका भावहरुमा ।

‘मैले २५ वर्ष गीत गाउँदा पहिलोपटक सम्मानित भएको ठाउँ हो, अमेरिकाको कोलोराडो । मेरो जीवनभर यो ठाउँको माया मुटुभरी रहिरहनेछ’, सम्मानित भएपछि खुशीले उनकै मुखबाट प्रष्फूटित भएका शब्द हुन्, यी । त्यसपछि उनले ‘लमजुङ मेरो घर’ गीतबाट भाका हाल्न थाले ।

संयोग कस्तो भने, जसको हातबाट उनले सम्मान थापे, उनकै शब्द रचना रहेको गीतबाट गायन सुरु गरे । सम्मान दिने पदम विश्वकर्मा । अनि सम्मान थाप्ने, राजु परियार । दुवै जना लमजुङकै ।

यस्तो संयोग पनि विरलै जुर्छ । जब उनले गीत गाउन सुरु गरे । त्यसपछि मञ्चमा देखिएको दृश्य अनौठो रह्यो ।

उमेरले पचार कटेका । साठी कटेका । कोही त सत्तरी आसपास पनि थिए होलान् । जो एकपछि अर्को गरि मञ्चमा उक्लिए । राजु परियार गाइरहँदा मनभित्रैदेखि साँचेर राखेको माया र सम्मान उनको शीरमा सजाइएको नेपाली ढाका टोपीमा सिएरिदिए ।

एक जना होइन, दुई जना होइन । दर्जनौँ । लगभग सयौँ जना । अलिकति पैँसा । अनि खाँदा । खाँदा लगाउँदै पैँसा ढाका टोपीमा कोच्दै नेपाली बुवा र आमाहरुले राजु परियारप्रति सम्मान दर्शाए ।

आयोजकले रातो अक्षरले लेखेका सम्मानरुपी शब्द र बाक्लो फ्रेमले सजाएको सम्मानपत्र भन्दा मलाई ती आमाहरुले राजु परियारप्रति दर्शाएको माया र सम्मान लाखौँ, करोडौँ भन्दा पनि महंगो लाग्यो । एउटा कलाकारको गीत, संगीत र समर्पण कति गहिरो छ भन्ने त्यो दृश्यले पुष्टि गरेको थियो ।

त्यसैले राजु परियारलाई त्यसै लोक तथा दोहोरी गीतका बादशाह अर्थात ‘स्वरसम्राट’ भनिएको होइन । यसका लागि उनले आफ्नो पुरै जीवन लोक तथा दोहोरीमा समर्पित गरेका छन् । जीवनका ठूला ठूला उतारचढाव भोगेका छन् ।

सुरुदेखि लोक तथा दोहोरी गायकका रुपमा शिखर चुमेका उनी धेरैपटक लडेर उठेका सर्जक हुन् । अहिले पो केही आधुनिकता छ । त्यो बेला, त्यो समय, त्यो संघर्ष । लमजुङदेखि काठमाडौँका गल्लीहरुमा उनले थुप्रै विभेद भोगेका छन् । थुप्रै पीडा पाएका छन् । अनि धेरै चोट सहेका छन् । त्यही चोट बेला बेला चस्किने भएर होला, उनी प्राय कार्यक्रममा ‘रुमाल धोको छु’ गीत गाउन छुटाउँदैनन् ।

किनकी लाखौँ नेपालीहरु अहिले पनि जातीय विभेदको मार खेपिरहेका बेला उनले यो गीतबाट आफ्नो स्वर विद्रोह गरेका थिए । एकिन नभएपनि उनले अहिलेसम्म १६ हजार गीतमा स्वर दिएको तथ्य इन्टरनेटमा छ ।

एउटा गायकले । १६ हजार गीत गाउन आफैँमा एउटा रेकर्ड हो । उनले गाएका धेरै गीत चर्चित छन् । विदेशी भूमिमा आफ्नो युगका मन पर्ने ‘लिजेन्ड’ गायकको ‘लाइभ’ प्रस्तुती हेर्न पाउनु पनि महत्वपूर्ण अवसर हो । उनले गाएको मञ्चमै पुगेर एक फोटो वा सेल्फी खिचेर फेसबुकमा पोस्टिनु नै अहोभाग्य सझिने उनका प्रसंशकको लाम लामै थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विष्णु विवेक
विष्णु विवेक
थप विशेष