दुबईमा धुम मच्चाइरहेकी ‘डिजे मैच्याङ’
जीवनमा कति संघर्ष हुन्छ ? जसले जति भोग्न सक्छ, त्यति । अनि संघर्ष गर्दागर्दैै पनि लगभग शून्यप्राय भइसकेको जीवन कसरी उठाउन सकिन्छ ? कसले उठाउन सक्छ ?
धेरैले एकपटक शून्यमा पुगिसकेको जीवन हत्तपत्त उठाउन सक्दैनन् । त्यसलाई उनीहरु बाध्यता ठान्छन् । अनि घरपरिवारको जिम्मेवारी पनि । नेपाली प्रचलनमा छोरी मान्छेका लागि भने एकपटक निरश भइसकेको जीवनमा पनि फेरि खुशी फर्किनु असम्भव मानिन्छ ।
त्यसमा पनि एक्लै । विवाहित तर डिभोर्सी । साथमा सन्तान पनि । यस्तोमा कोहीले आफ्नो जीवन फेरि फूलजस्तै रङ्गीचङ्गी बनाउन सक्छ ? खुशीहरु चुडिसकेको जीवन फेरि फक्रिन सक्छ ? यसको जवाफ भेट्न मुश्किल पर्छ ।
तर एक जना साहसी चेलीले सकेकी छिन् । लगभग शून्यप्राय भइसकेको जीवन उनले नेपालमा होइन, देश छाडेर दुबईमा फूलभन्दा पनि राम्री बनाएर आफ्नो जीवनमा सबै रङ भरेकी छन् ।
जसको नाम हो, सुजना तामाङ ‘डिजे मैच्याङ’ । घर दोलखा । उनले अहिले दुबईमा धुम मच्चाइरहेकी छन् । १८ वर्षको उमेरमा विवाह गरेर २० वर्षमा छोरी जन्माइन् । तर श्रीमानसँग सम्बन्ध सुमधुर हुन सकेन ।
सम्बन्ध राम्रो नभएपछि डिभोर्स भयो । उनले धेरै मन पराएर जोडेको सम्बन्ध टुट्यो । जीवन अध्यारो सुरुङमा फसेजस्तो भयो । तर उनले हिम्मत गरिन । यो दुःखमा उनी सबैभन्दा बढी डिप्रेसनको सिकार भइन् ।
तर पनि हार मानिनन् । उनले देश छाड्ने निर्णय गरिन् । बोली नफूटेको आफ्नै मुटुको टुक्राजस्तो छोरीलाई उनले पशुपतिनाथ मन्दिरको मूर्ति छोएर आफ्नी आमाको जिम्मा लगाइन् ।
अनि दुबई हिडिन् । संसारलाई पैँसाको शक्ति देखाइरहेको दुबईले सुजनालाई चिनेन । उसो त विदेश पसेका कसैलाई पनि सुरुमा कसैले चिन्दैन । उनले भाँडा माझिन् । रेष्टुरेन्टमा पोछा लगाइन् । पैँसा कमाउन उनले गर्नुपर्ने सबै काम गरिन् ।

तर आफ्नो मनको कुनामा बसेको राम्रो नाच्ने र नाइट क्लबको डिजे बन्ने सपना मारिनन् । मनकै कुनामा त्यो सपना राखेर उनले झण्डै तीन वर्ष दुबईमा दुःख गरिन् । बिस्तारै दुबईमा आउँदा लागेको ऋण तिरिन् ।
उनको साहस र सपना फेरि पलाउन थाल्यो । विगत बिर्सिन थालिन् । बाच्नु मात्रै होइन, रहरले बाच्ने सपना जो थियो । उनले आफ्नो पीडाले गुज्रिसकेको शरीर जिम गएर बनाइन् ।
अनि बिस्तारै नाइट क्लबमा डिजे बन्न तालिम लिन थालिन् । उनले नेपालमा छँदा नै नाच्ने कला सिकेकी थिइन् । केही निजी स्कूलमा ‘डान्स टिचर' बनेर पढाउँथिन पनि । त्यो सीप दुबईमा पनि काम लाग्यो । त्यही आत्मविश्वासले उनलाई नाइट क्लबमा ‘च्याम्पियन डिजे’ बनायो ।
बिस्तारै काम पाइन् । जुन उनको रहर थियो । सपना थियो । सुरुमा केही दिन लाग्यो, उनलाई नाइट क्लबको रसमा आफूलाई भिजाउन । बिस्तारै बानी पर्दै गयो । जस्तै उनले रात्री क्लबको तामझाममा आफूलाई पोख्त बनाइन्, अनि रसपान गरेर झुम्नेहरुका लागि बनिन, ‘डिस्क जक्की’ डाइरेक्टर । संगीतमा भिजेकी उनी डान्समा खप्पिस थिइन् ।
उनले दुबैको तालमेल मिलाइन्, जसकारण अहिले दुबईका नाइट क्लबमा डिजेका रुपमा उनले धुम मच्चाइरहेकी छन् । दोलखाकी भोटिनी परेर हो, उनले निकनाम पनि राखेकी छन्, ‘डिजे मैच्याङ’ ।
अहिले दुबई लगायत खाडी देशमा सामाजिक सञ्जालमार्फत उनले डिजे मैच्याङका नाममा आफ्नो सपना, संघर्ष र कठिन मेहनतबाट एकपटक झण्डै शून्यमै विलिन हुन लागेको जीवनलाई फेरि फुलाएर सुनौलो समय बिताइरहेकी छन् ।
परदेशमा बसेर आफ्नो रोजाईको काम गर्न पाएमा जस्तोसूकै कठिन संघर्षमा पनि आफूलाई उभ्याउन र लोकप्रिय बनाउन सकिन्छ भन्ने प्रेरणा सुजनाको संघर्षबाट सिक्न सकिन्छ ।
स्रोत : हर्क पोडकास्ट
टर्कीमा सम्मानित उत्कृष्ट नेपाली डाक्टर
तान्जानियाका नेपाली जंगल सफारी गाइड
इंग्ल्याण्डमा नेपाली मूलकी पहिलो फूटबलर
विदेशमा नेपाली भाषा सिकाउने ‘लिपीमाला’